तिहार सकियो, छठको रौनक सुरु

विहीबार, ३० कार्तिक २०८०, १२ : ४०

काठमाडौं –  यस वर्षको तिहार पर्व सकिएको छ । हिजो भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । भाइटिकासँगै झिलिमिली पर्व तिहार सकिएको छ । तिहार सकिएसँगै छठ पर्वको रौनक शुरु भएको छ । विशेषतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिईन्छ । यो पर्व नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृति भएका कारण यसका निम्ति आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न नागरिक व्यस्त छन् ।

छठ विशेष गरी तराइमा धुमधामका साथ मनाइन्छ । पछिल्ला केही वर्षदेखि भने छट काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न भागमा मनाउन थालिएको छ । छठ पर्वमा प्रसादका रुपमा केरा, फलफूल, पान, सुपारी, भण्टा, मुला किन्न अहिले जनकपुरधामसहित सम्पूर्ण तराई–मधेशका प्रमुख बजारमा निकै चहलपहल बढेको छ । लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठ पर्व विधिवत् रूपमा आरम्भ हुन्छ । तराईका जिल्लामा छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको भिडभाड छ । अहिले छठपर्व मनाउनेहरू पोखरीका डिल र नदीका तट सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् । छठ पर्व नजिकिएकाले माटोका भाँडाको माग बढेको छ । केही भारतीय नागरिकसमेत नेपाली बजारमा छठका लागि माटोका भाँडो बिक्री गर्न आउन थालेका छन् । सांस्कृतिक पर्वमा प्रायजसो भाँडा माटाकै प्रयोग गरिने प्रचलनले यस्ता पर्व नजिकिएसँगै माटाका भाँडा बनाउने प्रजापति समुदायको व्यस्तता निकै बढेको छ ।

विहीबार, ३० कार्तिक २०८०, १२ : ४०

प्रतिक्रिया