अस्थायी संरचना निर्माण गरी भूकम्प प्रभावित क्षेत्रमा पठनपाठनको तयारी

सोमबार, ०४ मंसिर २०८०, ०९ : ५५

काठमाडौँ । कात्तिक १७ गते गएको भूकम्पबाट भत्किएका जाजरकोटका विद्यालयमा अस्थायी संरचना निर्माण गरेर विद्यालय खोल्ने तयारीमा स्थानीयवासी लागेका छन्। भूकम्पले क्षति बनाएको विद्यालयमा चाडपर्व सकिएसँगै सामुदायिक र निजी विद्यालयमा पठनपाठन सुरु हुन लागेको हो।

रुकुम (पश्चिम) र जाजरकोटको पठनपाठनमा भने भूकम्पले असर पुर्‍याए पनि अस्थायी संरचना निर्माण कार्य जारी रहेकाले पढाइ सुरु गर्न लागिएको हो । जिल्लाका केही स्थानीय तहका विद्यालयमा मङ्गलवार देखी नै पठनपाठन सुरु हुने भएको छ भने केही स्थानीय तहका विद्यालयमा टहरा बनाएर पठनपाठन थाल्ने तयारी भइरहेको छ।

कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार  जाजरकोटको नलगाड  नगरपालिकामा पनि मङ्गलवार देखी नै पठनपाठन सुरु हुने भएको छ। नलगाड नगरपालिका शिक्षा शाखाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलवीर विकका अनुसार भूकम्पबाट ५४ विद्यालयमा क्षति पुगेको छ।

जसमा १२८ वटा कक्षा कोठा पूर्ण रूपमा क्षति पुगेको छ। नलगाड नगरपालिका शिक्षा शाखाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विकले आंशिक रूपमा क्षति भएका विद्यालयमा भोलिदेखि नै पठनपाठन थालिने जानकारी दिए।

विद्यालय खोल्नका लागि पहल सुरु गरिए पनि विद्यार्थी भने त्रासमा रहेका छन्। भूकम्पबाट मनोबल कमजोर भएका विद्यार्थी घरदेखि विद्यालयसम्म भत्किएकाले विद्यालयमा गएर पढ्न मानसिकरुपमा  तयार भएको पाइँदैन। भूकम्पको त्रासले गर्दा बालबालिका राति सुतेको समयमा कराउने, भूकम्प आयो भन्नेसम्मका गतिविधि देखाउन थालेको नलगाड नगरपालिका–१ कल्पतकी भावना विकले बताएकी छिन्।
 

सोमबार, ०४ मंसिर २०८०, ०९ : ५५

प्रतिक्रिया