सर्वोत्तम सिमेन्टको शेयर निष्काशन तथा बिक्री खुला

बुधबार, ०६ मंसिर २०८०, ०८ : २२

काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडले आज (मङ्सिर ६ गते) देखि योग्य संस्थागत लगानीकर्ताहरूका लागि शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले पहिलो पटक बुक बिल्डिङ प्रक्रिया मार्फत शेयर निष्काशन गर्दैछ।

कम्पनीले आफ्नो जारी पुँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर बुक बिल्डिङ प्रक्रियामार्फत निष्काशन गर्न अनुमति पाएको थियो। सोमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता शेयरका लागि सुरुमा बिक्री मूल्य सीमा ५०१ रुपैयाँदेखि ७५१ रुपैयाँ रहेको रहेकोलाई परिमार्जन गरी बिक्री मूल्य सीमा ४०१ रुपैयाँ देखि ६०१ रुपैयाँ कायम गरिएको छ। 

कम्पनीले नेप्सेले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरू सहभागी गराई परिमार्जित बिक्री मूल्यको सीमा भित्र रही बोलकबोल मार्फत शेयर बिक्री गर्न लागेको हो। कम्पनीको शेयरमा मङ्सिर १० गतेसम्म बोलकबोल पेश गर्न सकिनेछ। कम्पनीको धितो पत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।

बोलपत्र पेश गर्ने अन्तिम मितिको भोलीपल्ट धितो पत्र बजारले योग्य संस्थागत लगानीकर्ताहरूलाई निष्काशित धितो पत्र पूर्ण रूपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको कट अफ मूल्य निर्धारण भएको जानकारी गराउनेछ। 

कट अफ मूल्य निर्धारण गरेपछि सो वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरूलाई माग बमोजिमको धितो पत्र कटअफ मूल्यमा बाँडफाँट गरिनेछ। कबोल गरिएको मूल्य कट अफ मूल्यभन्दा कम भएमा त्यस्तो योग्य संस्थागत लगानीकर्तालाई धितो पत्र नगरिने कम्पनी जनाएको छ।
 

बुधबार, ०६ मंसिर २०८०, ०८ : २२

प्रतिक्रिया