किन मनाईन्छ ‘अप्रिलफुल’ ? भेटियो रोचक तथ्य

सोमबार, १८ चैत्र २०७५, १४ : ४९

आँज अप्रिल १ को दिन विश्वभरी ‘अप्रिलफुल दिवस’ मनाइन्छ । यो दिवसलाई पश्चिमी राष्ट्रहरुमा मनाइने गैरधार्मिक पर्वहरुमध्ये सबैभन्दा लोकप्रिय पर्व मानिन्छ । 

यो दिन बालबालिकाहरु अभिभावकलाई ‘प्र्याङ्क’ गरिरहेका हुन्छन् । सहकर्मीहरुले एकअर्कालाई उडाउने गर्छन् भने धेरैजसो पश्चिमी सञ्चार माध्यमहरुले पाठकलाई झुक्याउने खालका समाचार दिइरहेका हुन्छन् । 

तर यो पर्व कसरी मनाउन थालियो ? यो दिन यस्तो ठट्टा किन गरिन्छ ? र कसरी यो विश्वव्यापी परिघटनामा बदलियो बन्यो ? 

‘अप्रिलफुल दिवस’ कसरी सुरुवात भयो भन्नेबारेको इतिहासमा ठूलो अन्योल छ । एकाथरी इतिहासकारहरु यसको वास्तविक प्रारम्भ विन्दु इतिहासको गर्भमा विलीन भएको मान्छन् । तर अरु इतिकारहरुले भने यसको सम्भावित सुरुवातलाई व्याख्या गर्न विभिन्न सिद्धान्त ल्याएका छन् । 

जनवरीको साटो अप्रिलमा नयाँ वर्ष मनाउनेहरु ‘अप्रिल फिस’ !

धेरै इतिहासकारहरु अप्रिलफुल पर्वलाई हाल विश्वभर लागू ग्रिगोरियन पात्रोजत्तिकै पुरानो मान्छन् । यस पर्वको सबैभन्दा पुरानो उल्लेखमध्ये एक ब्रिटिस म्यागजिन एपोलोले प्रकाशित गरेको एक पत्रमा समेत हामीले जस्तै प्रश्न गरेको छ । “यो अप्रिलफुल मनाउने परम्परा कहिले सुरु भयो ?” 

त्यसलाई सन् १५६३ मा फ्रान्सको काउन्सिल अफ ट्रन्टले लागू गरेको थियो । त्यसअघि पुरानो पात्रो अनुसार नयाँ वर्ष मार्चको अन्तिम सातादेखि अप्रिल पहिलो दिनसम्म मानिन्थ्यो । 

नयाँ पात्रोले नयाँ वर्षलाई जनवरीमा सारेको थियो । त्यो बेला सञ्चारको सुस्त विस्तार र चलिआएको परम्पराप्रति अडिग रहेकाले अर्को वर्ष धेरैले अप्रिलमै नयाँ वर्ष मनाए । 

नयाँ पात्रो लागू गर्ने कार्यभार पाएको सत्ता पक्ष र तिनको आडमा नयाँ पात्रो पक्षधरहरुले अप्रिलको छेउछाउमा नयाँ वर्ष मान्नेहरुलाई हासो–व्यङ्ग्यको पात्र बनाउन थाले । 

उनीहरुले अप्रिलमा नयाँ वर्ष मान्नेहरुलाई ‘पोइसन अभ्रिल (फ्रेन्स भाषामा अप्रिलको माछा)’ भनेर नाम दिए । अझ कतिपय अवस्थामा उनीहरुको ढाडमा कागजको माछा टालेर उनीहरुलाई बेइजत गरिन्थ्यो । फ्रेन्स उखान टुक्कामा माछा सजिलै अर्काको कुरा पत्याउने व्यक्तिहरुलाई जनाउन प्रयोग गरिन्छ । 

हजारौँ वर्ष पुरानो रोमन पर्वको नयाँ रूप ?
तर सबै इतिहासकारहरु अप्रिलफुल पात्रो रूपान्तरण लागू गर्न खोज्ने उदण्डहरुले चलाएको मान्न तयार छैनन् । उनीहरु यो पर्वको प्रारम्भ २००० वर्षअघि एक रोमन पर्वबाट भएको तर्क दिन्छन् । 
प्राचीन रोममा मार्चको अन्तिमतिर अर्थात मार्च २५ मा हिलारिया भन्ने पर्व मानिन्थ्यो । ती दिनमा लागू जुलियन पात्रोअनुसार वर्षको पहिलो पटक मार्च २५ मा रातभन्दा दिन लामो हुन्थ्यो । (आजका पात्रोमा त्यो दिन मार्च २० मा पर्छ ।)

त्यो दिन रोमन साम्राज्यभरी नागरिकहरु राजा–भारदारहरुलाई व्यङ्ग्य गर्ने खालका रङ्ग न ढङ्गका कपडा लगाएर हिँड्थे । त्यो दिन नेपालमा गाईजात्राको दिनजस्तै अत्यन्त शक्तिशाली रोमन अधिकारीहरुलाई पनि व्यङ्ग्य गर्न छुट हुन्थ्यो । यही पर्व पछि एप्रिलफुल दिनको रूपमा मान्न थालिएको उनीहरुको भनाइ छ । 

१९५७ मा बीबीसीले स्विस किसानले रुखमै चाउमिन फलाएको देखायो

आधुनिक समयमा भने पश्चिमी मिडियाहरुले अप्रिलफुललाई चर्चित बनाउने काम गरे । अत्यन्त विश्वसनीय मिडिया हाउसले पनि यो दिन आम सर्वसाधरणलाई छक्याउने खालका उट्पट्याङ समाचार प्रस्तुत गर्ने गर्छन् । 

यसमध्ये सबैभन्दा चर्चित सन् १९५७ को अप्रिल १ को दिन बीबीसीको एक एक रिपोर्टलाई मानिन्छ । 

बीबीसीले त्यो दिन देखाएको एक रिपोर्टमा स्विस किसानले ऐतिहासिक परिणाममा स्पेगेटी फलाइरहेको भन्दै रुखमा सीधै चाउमिन फलेको देखाएको थियो । 

धेरै दर्शकहरुले यसलाई साँचो ठानेका थिए । तर यो दर्शकलाई मूर्ख बनाउनकै लागि मिहिनेतका साथ फिल्माङ्कन गरिएको रिपोर्ट थियो ! –रातोपाटी को सहयोगमा

सोमबार, १८ चैत्र २०७५, १४ : ४९

प्रतिक्रिया