बिजुली उत्पादनमा निजीक्षेत्रको फड्को

४ महिना अगाडि

काठमाडौं-  निजीक्षेत्रले जलविद्युत् उत्पादन गर्न थालेको झन्डै तीन दशकमा कुल जडित क्षमताको ७६ प्रतिशतभन्दा धेरै बिजुली उत्पादन गर्दै आइरहेको छ । निजी क्षेत्रले छोटो समयमै २१ सय मेगावाटभन्दा धेरै बिजुली उत्पादन गर्नुका पछाडि मुख्य दुई कारण रहेका छन् ।

२०४९ सालमा ल्याइएको विद्युत् ऐन, २०४९–२०५७ सालमा निजीक्षेत्रसँगको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) को जगमा नेपालमा जलविद्युत् आयोजनाले फड्को मार्ने गरी विकास सम्भव भएको हो । यो भन्दा अगाडि निजीक्षेत्रले जलविद्युत् आयोजना निर्माण गर्ने वातावरण भइसकेको थिएन् ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार हालसम्म राष्ट्रिय प्रसारण लाइनमा २८३६.९३ मेगावाट क्षमताको बिजुली जोडिएको छ । सोमध्ये निजी सहायक क्षेत्रको (प्राधिकरणको कम्पनी) सहितको कुल उत्पादनको हिस्सा भने ७६.६८ प्रतिशत रहेको छ ।


प्राधिकरण मातहतका आयोजनाको हिस्सा भने २३.२९ प्रतिशत रहेको छ । कुल जडित क्षमता २८ सय ३६.९३ मेगावाटमध्ये निजी क्षेत्रबाट उत्पादित बिजुलीको हिस्सा १६९७.४९ मेगावाट रहेको छ । प्राधिकरणको सहायकमातहतका आयोजनाबाट ६६१ मेगावाट उत्पादन हुँदै आइरहेको छ ।


नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले विद्युत्को कुल जडित क्षमतामध्ये निजी क्षेत्रको हिस्सा मात्र करिब ६० प्रतिशतको हाराहारीमा रहेको बताए ।


उनले भने, कुल जडित क्षमतामध्ये निजीक्षेत्रको हिस्सा ५९.८३ प्रतिशत छ । प्राधिकरणको मातहतका सहायक कम्पनीको हिस्सा १६.८५ प्रतिशत छ । प्राधिकरण मातहतका आयोजनाको हिस्सा भने २३.२९ प्रतिशत रहेको छ । 

यो समाचार आजको नागरिक दैनिक बाट साभार गरिएको हो । 

४ महिना अगाडि

प्रतिक्रिया