केकमा गाँजा मिसाएर बेच्ने पक्राउ

३ महिना अगाडि

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले केकमा अवैध लागुऔषध गाँजा मिसाएर अनलाइनमार्फत कारोबार गर्ने एकजनालाई पक्राउ गरेको छ।  काठमाडौं महानगरपालिका–२९ घट्टेकुलोबाट २६ वर्षीय विशन मानन्धरलाई शुक्रबार पक्राउ गरिएको हो। ब्युरोले आइतबार मानन्धरसहित उनीसँग बरामद भएको गाँजा, केक, केक निर्माण सामग्रीसहित सार्वजनिक गरेको छ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘ब्याम्ब–ओङग नेपाल’ नामक आइडी बनाएर मानन्धरले गाँजा मिसाएको केकको कारोबार गरिरहेको ब्युरोले जनाएको छ। राजधानीमा ‘डार्क नेट’को प्रयोग गरेर ‘डार्क वेभ’ शैलीमा बर्थडे केकमा लागुऔषध मिसाएर कारोबार भइरहेको विशेष सूचना प्राप्त भएपछि ब्युरोले अपरेसन थालेको ब्युरो प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) गोविन्द थपलियाले जानकारी दिए। उनले भने, ‘अपरेसनका क्रममा मुख्य कारोबारीसम्म पुग्न निकै समस्या भयो। साइबर ब्युरोको समेत सहयोग लिएपछि बल्ल ब्याम्ब–ओङ्ग आइडीका फलोअर्ससम्म हामी पुग्यो। त्यसपछि मात्रै मानन्धरसम्म पुग्न सफल भयौं।’ 

प्रहरी टोलीले मुख्य कारोबारी मानन्धर रहेको पत्ता लगाएपछि घट्टेकुलोस्थित घरमा पुगेको थियो। जहाँ पुग्दा खान तलासीको क्रममा  गाँजाको धुलो १२१ ग्राम,  तयारी अवस्थाको केकको झोल १७८ ग्राम, गाँजा  ३ किलो ७५४ ग्राम, केक तौलिन प्रयोग भएको डिजिटल तराजु एकथान, केक तयार पार्न प्रयोग हुने इलेक्ट्रिक ओभन एक थानसहित विभिन्न सामग्री बराबद गरेको प्रहरीले जनाएको छ।

प्रहरी अनुसन्धानले मानन्धर एकबर्ष देखि गाँजा मिसावट गरिएका केकका विभिन्न प्रकारहरू बनाइ अनलाइन डेलीभरी गर्ने काममा लागेको फेला पारेको छ। इन्स्टाग्रामबाटै उनले केकको अर्डर लिने गरेको प्रहरीले जनाएको छ।

गाँजा मिसाइएको केकका ग्राहक विशेषगरी होस्टेलमा बस्ने विद्यार्थी, किशोरकिशोरी रहेको प्रहरीले जनाएको छ । 

३ महिना अगाडि

प्रतिक्रिया