आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको १५औँ संस्करण आज देखि

३ महिना अगाडि

काठमाडौँ-  आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको १५औँ संस्करण शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ । सन् १९८८ मा आईसीसी यू–१९ विश्वकपको पहिलो संस्करण अस्ट्रेलियामा आयोजना भएको थियो । त्यतिबेला यो प्रतियोगिताको नाम ‘युथ क्रिकेट वल्र्ड कप’ राखिएको थियो ।

प्रतियोगिताको पहिलो दिन शुक्रबार अमेरिका र आयरल्यान्ड तथा दक्षिण अफ्रिका र वेस्ट इन्डिजबिच खेल हुनेछ । यू–१९ विश्वकपको १५औँ संस्करणमा नेपालसहित १६ वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । 

नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान पनि परेका छन् । यू–१९ विश्वकपमा नेपालले आफ्नो पहिलो खेल जनवरी २१ तारिखमा न्युजिल्यान्डसँग खेल्नेछ । जनवरी २४ तारिखमा नेपालले पाकिस्तानसँग आफ्नो दोस्रो खेल खेल्नेछ । नेपालले तेस्रो खेल जनवरी २७ तारिखमा अफगानिस्तानसँग खेल्नेछ । प्रतियोगिताको समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बाबे र नामिबिया रहेका छन् । समूह ‘बी’ मा आयोजक दक्षिण अफ्रिका, इङ्गल्यान्ड, वेस्ट इन्डिज र स्कटल्यान्ड रहेका छन् । समूह ‘ए’ मा भने भारत, बङ्गलादेश, अमेरिका र आयरल्यान्ड परेका छन् ।

समूहगत चरणको खेलको समाप्तिपछि प्रत्येक समूहको माथिल्लो स्थानमा रहने तीन–तीन टोली प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछन् । ‘सुपर सिक्स’ चरणमा पुगेका टोलीलाई पनि दुई समूहमा विभाजन गरिने छ । समूह ‘ए’ र समूह ‘डी’ बाट आएका तीन–तीन टोली एउटा समूहमा रहने छन् ।

यसैगरी समूह ‘बी’ र समूह ‘सी’ बाट आएका तीन–तीन टोली भने ‘सुपर सिक्स’ चरणको अर्को समूहमा रहने छन् । ‘सुपर सिक्स’ चरणमा प्रत्येक टोलीले दुई–दुई खेल खेल्नेछन् । समूह ‘ए’ को विजेताका रूपमा ‘सुपर सिक्स’ चरणमा पुगेको टोलीले समूह ‘डी’ को विजेतासँग भने खेल्ने छैन ।

समूह ‘ए’ को विजेताले समूह ‘डी’ को उपविजेता र तेस्रो हुने टोलीसँग मात्र खेल्नेछ । समूह ‘डी’ को विजेताले पनि ‘सुपर सिक्स’ चरणमा समूह ‘ए’ को उपविजेता र तेस्रो हुने टोलीसँग मात्र प्रतिस्पर्धा गर्नेछ ।  

‘सुपर सिक्स’ चरणको खेलपछि दुवै समूहको माथिल्लो स्थानमा रहने दुई–दुई टोली यू–१९ विश्वकपको १५औँ संस्करणको सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको सेमिफाइनलमा ‘सुपर सिक्स’ चरणको एउटा समूहमा पहिलो भएको टोलीले अर्को समूहमा दोस्रो भएको टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । 

त्यसपछि सेमिफाइनल खेलमा विजयी हुने दुवै टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल फेब्रुअरी ११ तारिखमा खेलिने छ । भारत यू–१९ विश्वकपको साविक विजेता राष्ट्र हो । 

नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ विश्वकपका लागि देव खनालको कप्तानीमा टोलीको घोषणा गरेको छ । घोषित नेपाली टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालबिक्रम केसी, सुवास भण्डारी र दीपक बोहरा रहेका छन् । उत्तम रंगु थापामगर, बिपिन रावल, तिलकराज भण्डारी, दीपक बोहरा र आकाश चन्द पनि टोलीमा रहेका छन् । 

यू–१९ विश्वकप ५० ओभरको प्रतियोगिता हो । यू–१९ विश्वकप सुरु हुनुअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सहभागी १६ वटै राष्ट्रका लागि दुई–दुईवटा अभ्यास खेल खेलाउने व्यवस्था मिलाएको थियो । नेपालले आफ्नो पहिलो अभ्यास खेलमा स्कटल्यान्डलाई ‘डकवर्थ एन्ड लेविस’ नियमका आधारमा सात विकेटले हराएको थियो । 

नेपाल र वेस्ट इन्डिजबिचको दोस्रो अभ्यास खेल भने वर्षाका कारण अनिर्णीत रूपमा सकिएको थियो । औपचारिक अभ्यास खेलअघि खेलिएको दुईवटा अनौपचारिक अभ्यास खेलमा पनि नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरेको थियो । 

भारतले हालसम्म पाँचपटक यू–१९ विश्वकपको उपाधि जितेको छ । भारतले सन् २०००, सन् २००८, सन् २०१२, सन् २०१८ र सन् २०२२ मा यू–१९ विश्वकप जितेको थियो । अस्ट्रेलियाले पनि तीनपटक यो प्रतियोगिताको उपाधि जितेको छ । अस्ट्रेलियाले सन् १९८८, सन् २००२ र सन् २०१० मा यू–१९ विश्वकपको उपाधि चुमेको थियो । 

पाकिस्तानले हालसम्म दुईपटक यू–१९ विश्वकपको उपाधि उचालेको छ । पाकिस्तानले सन् २००४ र सन् २००६ मा उपाधि जितेको थियो । यसका अतिरिक्त बंगलादेशले सन् २०२०, दक्षिण अफ्रिकाले सन् २०१४, वेस्ट इन्डिजले सन् २०१६ र इङ्गल्यान्डले सन् १९९८ मा यू–१९ विश्वकपको उपाधि उचालेका थिए । 

यू–१९ विश्वकपको तेस्रो संस्करणमा नेपाली टोलीले पहिलो पटक सहभागिता जनाएको थियो । सन् २००० मा प्रतियोगिताको तेस्रो संस्करण श्रीलङ्कामा आयोजना भएको थियो । त्यतिबेला नेपालले विनोद दासको कप्तानीमा यो विश्वकप खेलेको थियो । 

पहिलो पटक यू–१९ विश्वकप खेल्ने नेपाली टोलीमा युनिल शाह, उत्तम सारु, बीरेन्द्र शाह, दीपेन्द्र चौधरी, सन्दीप श्रेष्ठ, राजु बस्न्यात, पारस लुनिया, महबुब आलम, आमिर अख्तर, मनोज वैश्यल, कलामुद्दिन अन्सारी, किरण अग्रवालगायतका खेलाडी सहभागी थिए । 

यसैगरी सन् २००२ को यू–१९ विश्वकप न्युजिल्यान्डमा आयोजना भएको थियो । विश्वकपको यो संस्करणमा नेपालले दोस्रोपटक सहभागिता जनाएको थियो । यो विश्वकपमा पनि नेपाल विनोद दासकै कप्तानीमा सहभागी भएको थियो । नेपाली टोलीमा कनिष्क चौगाइँ, यशवन्त सुवेदी, वरदान चालिसे, शक्ति गौचन, प्रेम चौधरी, मंजित श्रेष्ठ, मनोज कटुवाल, संजम रेग्मी, लाक्पा लामालगायतका खेलाडीले आफ्नो प्रतिभा देखाएका थिए ।

यही विश्वकपमा नेपालले पहिलो पटक टेस्ट राष्ट्र पाकिस्तानलाई हराएको थियो । नेपालले समूहगत चरणको खेलमा पाकिस्तानलाई ३० रनले पराजित गरेको थियो । यो विश्वकपमा नेपाली टोली प्लेट च्याम्पियनसिपको उपविजेता पनि बनेको थियो । प्लेट च्याम्पियनसिपको फाइनलमा नेपाललाई जिम्बाबेले एक सय ३७ रनले हराएको थियो । त्यसअघि नेपालले प्लेट च्याम्पियनसिपको सेमिफाइनलमा बङ्गलादेशलाई २३ रनले हराएको थियो । 

यसैगरी सन् २००४ को यू–१९ विश्वकप बंगलादेशमा आयोजना भएको थियो । यो विश्वकपमा पनि नेपालले सहभागिता जनाएको थियो । यो विश्वकपमा नेपालले समूहगत चरणमा बलियो टेस्ट राष्ट्र दक्षिण अफ्रिकालाई एक विकेटले हराएको थियो । 

यसैगरी सन् २००६ को यू–१९ विश्वकप श्रीलङ्कामा आयोजना भएको थियो । यो विश्वकप नेपालका लागि ऐतिहासिक थियो । यही विश्वकपमा पहिलो पटक नेपालले प्लेट च्याम्पियनसिपको उपाधि चुमेको थियो । यू–१९ विश्वकपमा नेपालले हासिल गरेको यो हालसम्मकै सबैभन्दा ठूलो उपलब्धि हो । प्लेट च्याम्पियनसिपको फाइनलमा नेपालले बलियो टेस्ट राष्ट्र न्युजिल्यान्डलाई एक विकेटले हराएको थियो । त्यसअघि सेमिफाइनलमा नेपालले दक्षिण अफ्रिकालाई दुई रनले हराएको थियो । 

त्यो विश्वकपमा नेपाली टोलीको नेतृत्व कनिष्क चौगाइँले गरेका थिए । टोलीमा महेश क्षेत्री, शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, पारस खड्का, यशवन्त सुवेदी, प्रेम चौधरी, वसन्त रेग्मी, सशी केशरी, रतन रौनियार, राज श्रेष्ठ, अमृत भट्टराईलगायतका खेलाडी थिए । न्युजिल्यान्डको टोलीमा भने मार्टिन गप्टिल, मार्क एलिसन, टिम साउथी, कोलिन मुनरो, हामिस बेनेटलगायतका खेलाडी थिए ।

यसैगरी सन् २००८ को यू–१९ विश्वकप मलेसियामा आयोजना भएको थियो । त्यो विश्वकपमा नेपाल प्लेट च्याम्पियनसिपको उपविजेता बनेको थियो । प्लेट च्याम्पियनसिपको फाइनलमा नेपाललाई वेस्ट इन्डिजले सात विकेटले हराएको थियो । त्यो विश्वकपमा नेपाली टोली पारस खड्काको कप्तानीमा सहभागी भएको थियो । क्यारेबियन टोलीमा भने काइरन पोवेल, एड्रिन बाराथ, ड्यारेन ब्राभो, स्टेभन ज्याकोब्सलगायतका प्रभावशाली खेलाडी थिए । 

यसैगरी सन् २०१२ को यू–१९ विश्वकप अस्ट्रेलियामा आयोजना भएको थियो । विश्वकपको त्यो संस्करणमा नेपालबाट सुवास खकुरेल, प्रदीप ऐरी, नरेश बुढाऐर, पृथु बास्कोटा, सागर पुन, राजेश पुलामी, हासिम अन्सारी, राहुल विश्वकर्मा, कृष्ण कार्की, भुवन कार्की, अविनाष कर्ण लगायतका खेलाडीले सहभागिता जनाएका थिए । तर, त्यो विश्वकपमा नेपालले कुनै गतिलो छाप छाड्न सकेको थिएन ।
यसैगरी सन् २०१६ को यू–१९ विश्वकप बंगलादेशमा आयोजना भएको थियो । यो विश्वकपमा नेपालले समूहगत चरणमा तीनमध्ये दुई खेलमा जित हासिल गरेको थियो । त्यो विश्वकपको समूह ‘डी’ मा परेको नेपालले आफ्नो पहिलो खेलमा बलियो न्युजिल्यान्डलाई ३२ रनले हराएको थियो । अर्को खेलमा नेपालले आयरल्यान्डलाई आठ विकेटले पराजित गरेको थियो । 

त्यो समूहबाट भारत पहिलो र नेपाल दोस्रो हुँदै अघिल्लो चरणमा पुगेका थिए । न्युजिल्यान्ड र आयरल्यान्ड भने समूहगत चरणबाटै बाहिरिएका थिए । त्यो विश्वकपमा नेपालले राजु रिजालको कप्तानीमा सहभागिता जनाएको थियो । 

आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेललगायतका खेलाडीले पनि त्यो विश्वकप खेलेका थिए ।  सन् २०१६ को संस्करणपछि भने नेपालले पहिलो पटक यू–१९ विश्वकप खेल्न लागेको हो । यू–१९ विश्वकपमा नेपालको यो आठौँ सहभागिता हो ।



३ महिना अगाडि

प्रतिक्रिया