तिहारको मौकामा व्यापारीद्वारा मनोमानी, खाद्य पसलमा मदिरा बिक्री

४ बर्ष अगाडि

उपभोक्ताको भीडमा मौकाको फाइदा उठाउँदै व्यापारीले अखाद्य वस्तु मनोमानी रूपमा बिक्री गरेको पाइएको छ । भक्तपुर नगरपालिकाले बिहीबार वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा गरेको बजार अनुगमनमा व्यापारीले मनोमानी रूपमा अखाद्य र म्याद गुज्रेका सामानसमेत बिक्री गरेको पाइएको छ । 
    
खाद्य विभाग, खाद्य तथा गुण नियन्त्रण कार्यालयको अनुज्ञापत्र बिना प्याकेजिङ सामानमा लेबल राख्ने, लेबल बिना सामग्री बिक्री वितरण गर्ने, किराना पसल र मिनिमार्टमा मादक पदार्थ मदिरालगायतको सामग्री बिनास्वीकृति बिक्री गरेको पाइएको निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।

दर्ता र स्वीकृति नलिई साख मल्टी स्टोर्स र एस।आर।स्टोरले मदिरा बिक्री गरेको, किराना पसल दर्ता गरी मिनिमार्ट सञ्चालन गरेको, प्याकेजिङ सामानमा खाद्यको अनुज्ञापत्र बिना बिक्री गरेको, सफारी हेल्थ सनफ्लोर तेलमा उल्पादन मिति प्रस्ट नभएको र ढक तराजुसमेत नापतौल विभागमा नवीकरण नगरेको पाइएको छ । 

त्यसैगरी दर्ता नगरी सञ्चालन भएको गौरी शंकर मःमः पसललाई तीन दिनभित्र दर्ता गर्न निर्देशन दिँदै ग्यास चुलो जफत गरेको, फ्रिजमा मःमःको किमा, मःमः, अमिलो एकै ठाउँमा राखेको पाइएको छ । ड्रिमल्यान्ड किचेनमा कामदारहरुले एप्रोन, माक्स, पञ्जा र हेयरनेट प्रयोग नगरेको, फोहर रहेको पाइएको छ भने मधुवन स्विट्स पसल तीन दिनभित्र दर्ता गर्न, प्याकेजिङ सामानमा खाद्यको अनुज्ञापत्र लिएर मात्र लेबल राख्न निर्देशन दिएको छ । 

यता रामदेवी कम्प्लेक्समा अधिकांश पसल दर्ता नभएको पाइएकाले धेरै पसललाई दर्ता गर्न निर्देशन दिइएको उनले जानकारी दिए। 

४ बर्ष अगाडि

प्रतिक्रिया