सामान्यको  प्रथम चौमासिक खर्च ३२ प्रतिशत

४ बर्ष अगाडि

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालू आर्थिक वर्षको प्रथम चौमासिकमा ३२.१९ प्रतिशत खर्च गरेको पाइएको छ । मन्त्रालयले आज चौमासिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या सामधान समितिको बैठकमा मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले चालुतर्फ ४०.३१ र पूँजीगततर्फ ३०.०६ प्रतिशत खर्च भएको जानकारी दिए ।

मन्त्रालयले चौमासिकमा कूल  सात अर्ब १७ करोड १२ लाखमध्ये दुई अर्ब ३० करोड ८४ लाख खर्च भएको छ । चालूतर्फ एक अर्ब ४९ करोड पाँच लाखमध्ये  ६० करोड आठ लाखमात्र खर्च भएको छ । यस्तै पूँजीगततर्फ  पाँच अर्ब ६८ करोड ६ लाखमध्ये  एक अर्ब ७० करोड ७५ लाख खर्च भएको छ ।

चौमासिक समीक्षा बैठकमा मन्त्री हृदयेश त्रिपाठी तोकिएको समयमा नै काम सक्न निर्देशन दिए । उनले सरकारको नीति,योजनामा रहेर जुन शीर्षकलाई छुट्याइएको बजेट सोही शीर्षकमा खर्च गर्न आग्रहसमेत गरे ।

कार्यक्रममा मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले मन्त्रालय लिएको लक्ष्य र उद्देश्य पूरा नगर्ने कर्मचारीलाई काम छाड्न आग्रह समेत गरे । जे लक्ष्य र उद्देश्य लिएर मन्त्रालय अगाडि बढेका काम पूरा गर्नु,उनले भन्ने,यदि काम गर्न सक्नुहुन्न भने छाड्दिनुहोस् ।उनले कतिपय मन्त्रालयबीच समन्वय नहुँदासमेत काम गर्नमा समस्या भएको बताए ।

राष्ट्रिय योजना आयोजका सदस्य मीनबहादुर शाहीले मन्त्रालयले लक्ष्यभन्दा कम नै खर्च गरेको बताए । मन्त्रालयको चौमासिक प्रगति विवरण ७० प्रतिशतभन्दा बढी हुनुपर्दछ,उनले भने । मन्त्रालयले प्रथम चौमासिकमा ६० वटा झोलुङ्गे पुल निर्माण गरेको छ ।

यसैगरी १०० वटा झोलुङ्गे पुलको विस्तुत प्रतिवेदन र १४४ वटाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नका लागि प्रस्ताव आह्वान गरिएको जनाइएको छ । मन्त्रालयले १५ वटा झोलुङ्गे पुल निर्माण बनाउनका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनसमेत स्वीकृत गरेको छ ।

यस्तै ६ वटा सडकपुल,१७५ किलोमिटर सडक स्तरोन्नति,१३३ किलोमिटर कालोपत्र, १० वटा खानेपानी आयोजना,१२ वटा सिँचाइ तथा बहुपयोगी योजनासमेत निर्माण गरेको छ । मन्त्रालयले सङ्गठन संरचना तथा दरबन्दी पुनरावलोक कार्यविधि २०७६ स्वीकृत गरेको छ । यसैगरी कर्मचारी समायोजनपश्चात् अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृह मन्त्रालयको सङ्गठन संरचना पुनरावलोकसमेत गरेको छ ।     
  
 

४ बर्ष अगाडि

प्रतिक्रिया