नेपालमा कोराेना संक्रमण देखिएपछि २ हजार ३७६ विदेशीले नेपाल छाडे, जहाज चार्टर गर्दै धमाधम उद्धार

४ बर्ष अगाडि

चैत्र १० गतेदेखि अन्तराष्ट्रिय उडान बन्द गरिएको नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शनिबार  ४ वटा अन्तराष्ट्रिय उडान भए । 

त्यसअघि शुक्रबार पनि नेपाल एयरलाईन्सका तीन उडान भए, जुन बेलायत, जर्मनी र क्यानडाका लागि उडे । 

विश्वभर महामारीकाे रूप लिएकाे  कोरोना भाइरस संक्रमितहरु नेपालमा पनि फेला पर्न थालेपछि विदेशी मूलुकले यहाँ रहेका आफ्ना नागरिक धमाधम लैजान लागेका छन् । 

नेपाल नागरिक उड्ययन प्राधिकरणका अुनसार शनिबारमात्रै युरोपेली युनियन अन्तर्गतका मुलुकले ७७६ जना नागरिक स्वदेश लगे । 

फ्रन्सले कतार एयरवेजको जहाज चार्टर्ड गरेर ३ सय ३ जना, जर्मनीले ३०५ जना नागरिक र २ नावालक सहित ३०७ जना नागरिक स्वदेश फिर्ता भए ।  

शनिबार नै मलेसिया र सिंगापुरका गरी कुल ६६ यात्रु बोकेर मालिन्दो एयरको जहाज क्वालालाम्पुर उडेको छ भने चेक एयरले १०२ नागरिक लिएर युरोप उडेको छ । 

उनीहरुसँगै सँगै लकडाउनपछि नेपालबाट विभिन्न मूलुकले २ हजार ३७६ जना नागरिक स्वदेश फिर्ता लगेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत सागर आचार्यले बताए । 

यसरी स्वदेश फर्किएकामा जर्मनीका ९०७, फ्रान्सका ६०८, अमेरिकाका ३०२, अष्ट्रेलियाका २५६, डच नागरिक १२२, रेक रिपब्लिकनका १०२ र मलेसियाका ६६ जना रहेका छन् ।  जर्मनीले ३ ट्रिप, फ्रान्सले ३ ट्रिप, अमेरिकाले १ ट्रिप  र मलेसियाले २ ट्रिप गरेर अफ्ना नागरिक लगेका छन् । 

उनीहरूमध्ये  देशका विभिन्न पर्यटकीय गन्तब्यमा रोकिएका एक हजार ७२१ जनालाई नेपाल पर्यटन बाेर्डले उद्धार गरी स्वदेश फर्कन सहजिकरण गरेको थियाे । 

नेपालका विभिन्न पर्यटकीय गन्तब्यमा रोकिएका विदेशी पर्यटकलाई हवाई जहाजबाट उद्धार गरी काठमाडौँ ल्याइएको थियो । कतिपय विदेशीलाई सडकमार्ग भएर पनि ल्याइयो । पोखरा, चितवन, लुक्ला, मुस्ताङको जोमसोमलगायत गन्तब्यबाट पर्यटकलाई उद्धार गरिएको थियो । नेपालको आन्तरिक उडानमा रहेका वायु सेवा कम्पनीका जहाज मार्फत विदेशीको उद्धार गरिएको थियो । 

अन्तरराष्ट्रियतर्फ पनि निगमको वाइड बडी जहाजले अष्ट्रेलियाली र न्यूजील्याण्डका नागरिकलाई चार्टर्ड उडानमार्फत गन्तब्यमा लगेको थियो भने सबैभन्दा बढी कतार एयरवेजले विदेशी नागरिक बोकेको छ । उक्त कम्पनीको जहाजले युरोपेली मुलुक फ्रान्स, जर्मनीलगायत मुलुकका मात्र नभई तीन सयभन्दा बढी अमेरिकी नागरिकलाई पनि उनीहरुको देश पु-याएको छ । पछिल्लो पटक हिजो चार देशले चार्टर्ड उडान गरी आफ्ना नागरिक लगे । 

लकडाउनको आज १३ औँ दिनको अवधिमा दिनहुँजसो अन्तरराष्ट्रिय चार्टड उडान भइरहेका छन्  आज पनि अमेरिकाले अफ्ना ३०५ जना नागरिकलाई कतार एयरवेजको जहाज चार्टर्ड गरी स्वदेश लैजादैछ । नेपालमा रोकिएकामध्ये कतिपय विदेशीको प्रवेशाज्ञा अवधि सकिएको छ । त्यस्ता विदेशीसँग लकडाउनका कारण उनीहरुलाई घर फर्किन केही दिन ढिला भए कुनैपनि शुल्क नलिने सरकारले निर्णय गरेको थियो ।

पर्यटकका प्रवेशाज्ञा सकिएमा एक दिन भए पनि १५ दिन भएपनि न्यूनतम ४५ डलर तिर्नुपर्ने प्राबधान छ । नेपालमा पर्यटकको हकमा बढीमा तीन महिनासम्मको भिषा अवधि हुन्छ । विदेशी नागरिकलाई ९० दिन, ६० दिन र ३० दिनको प्रवेशाज्ञा अवधि दिइन्छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया