खाद्य कम्पनीबाट २ हजारको खाद्यान्न घरमै आउँछ, के के पाइन्छ किन्न ?

४ बर्ष अगाडि

लकडाउनको बेला जनतालाई घरमै खाद्यान्न उपलब्ध गराउन शुरु गरेको सरकारी स्वामित्वको नेपाल खाद्य व्यवस्था तथा कम्पनीबाट तत्कालका लागि ३ प्रकारका खाद्यान्न किन्न पाइने भएको छ । 

आजदेखि अनलाइन कारोबार शुरु गरेको कम्पनीले तत्काल चामल, फापर र गेडागुडी बिक्री गर्ने कम्पनीका नायव महाप्रबन्धक श्रीमणिराज खनालले बताए । 

यी ३ प्रकारका खाद्यान्नको लागि अनलाइन अर्डर गरेमा कम्पनीले उपभोक्ताको घरमै पु¥याइदिने व्यवस्था गरेको । तर अर्डर गरेको सामान कम्तिमा पनि २ हजार मूल्य बराबरको हुनुपर्ने छ । ‘यी मध्ये एउटै वस्तु कम्तिमा २ हजार बराबरको अर्डर गर्न पनि सक्नुहुन्छ वा तीनवटा वस्तु मिलाएर न्यूनतम २ हजार बराबरको पनि किन्न सक्ने व्यवस्था छ’, उनले भने । 

कम्पनीले लकडाउन अवधिको लागि उपभोक्तालाई सहुलियत दिन ढुवानी खर्च (डेलिभरी चार्ज) भने नलिने भएको छ । त्यस्तै कम्पनीले खाद्यान्नको मूल्यमा पनि १० प्रतिशत छुट दिएको छ ।

कम्पनीले दीर्घकालिन रुपमै अनलाइन ब्यापार गर्ने योजना बनाएको थियो । तर अहिले कोरोना संक्रमणका कारण देशमा लकडाउनको अवस्था रहेको र उपभोक्ता बजारमा सामान किन्न जान समस्या भएकोले उपभोक्तालाई सहजताको लागि आजैदेखि जे जति सामान छ त्यही बिक्री गर्न शुरु गरिएको संस्थानले जनाएको छ । 

तर केहीदिनमा नै तेल, पिसेको दाल र इण्डक्सन चुलोको बिक्रि पनि गरिने नायव महाप्रवन्धक खनालको भनाई छ । ‘खाने तेल र दालको पनि बिक्रीका लागि तयारी हुँदै छ’, उनले भने, ‘इण्डक्सन चुलो भने खरिदको लागि प्रकृया शुरु भइसक्यो, निकट भविष्यमै ल्याउँछौँ ।’ 

सरकारी कम्पनीहरूले अनलाइन अर्डर लिएर उपभोक्ताको घरसम्म खाद्य सामग्री पु-याउन लागेको यो पहिलोपटक हो । कम्पनीले यसघि घुम्ती सेवामार्फत टोल टोलमा खाद्यान्न बिक्री गर्दै आएको छ । अहिले २ वटा गाडीमार्फत घुम्ती पसल सञ्चालन गरेको कम्पनीले अरु २ वटा गाडी समेत सञ्चालन गर्ने तयारी गरेको छ । 

यो सेवा शुरुमा रिङ्गरोड भित्र मात्र दिइने कम्पनीले जनाएको छ । तर होम डेलिभरी गर्ने जनशक्ति पर्याप्त भएपछि भने उपत्यका भर नै सेवा दिइने कम्पनीले जनाएको छ । त्यसका लागि बाह्य श्रोतबाट जनशक्ति परिचालन गरीने र फुडमाण्डूलगायत अनलाइन सर्भिसमा पोख्त कम्पनीसँग सहकार्य गर्ने योजना कम्पनीको छ । 

कुन सामानको मूल्य कति :
कम्पनीले बिक्री गर्ने वस्तुहरुमा चामल, कर्णालीको सिमी र कर्णलीकै फापर छ । त्यसमध्ये सिमी आधा किलो, दुई किलो र तीन किलो प्याकेट छन् ।

यसको मूल्य प्रतिकिलो १ सय २० रुपैयाँ छ । कर्णालीको फापर प्रतिकिलो ५० रुपैयाँ रहेको र चापल गुणस्तर अनुसार फरक फरक मूल्यमा छ । 

कम्पनीले देशभर ४० ठाउँमा रहेका बिक्री केन्द्रबाट समेत खाद्यान्न बिक्री गरिरहेको छ । उपत्यका बाहिर ३५ ठाउँमा र काठमाडौंमा ५ ठाउँबाट सामान बिक्री गरिरहेको उनले बताए ।  

तर अनलाइन अर्डर गर्दा अग्रिम भुक्तानी भने गर्नु पर्ने अनिवार्यता छैन । उपभोक्ताले अर्डर गर्दा नै पैसा तिर्न पनि सक्छन भने सामान पाइसकेपछि भुक्तानी गर्न पसन सक्ने सुविधा छ । 

सामाकाे अर्डर कसरी गर्ने ?
सामान किन्न चाहनेले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वेवसाइट मार्फत अनलईन अर्डर गर्न सकिने छ । त्यसका लागि कम्पनीको वेभसाइट  नेपाल फुड डट जीओभी डट एनपी मा क्लिक गर्नुपर्ने हुन्छ । त्यहाँ रहेको अनलाइन सपिंग भन्ने अप्सनमा क्लिक गरेर सामान अर्डर गर्न सकिने कम्पनीले जनाएको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया