रियल लेभान्टेसँग पनि पराजित

५ बर्ष अगाडि

काठमाडौं –स्पेनिस ला लिगा फुटबलमा अंक तालिकाको तल्लो हाफमा रहेको लेभान्टेले रियल मड्रिडलाई २–१ को हार चखाएको छ । 

रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा शनिबार भएको लिगको नवौं खेलमा रियल १३ मिनेटमै पाहुना टोली लेभान्टेसँग २–० ले पछि परेको थियो । 

छैटौं मिनेटमा लेभान्टेका लुइस मोरालेसले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने १३औं मिनेटमा लेभान्टेका रोजर मार्टीले पेनाल्टीबाट गोल गरेका थिए । 

पहिलो हाफमा २–० ले पछि परेको रियलले दोस्रो हाफमा खेलमा फर्किन प्रयास गरेको थियो । 

दोस्रो हाफको सुरुवातमा ग्यारेथ बेल मैदान प्रवेश गरेका थिए । ६० हौं मिनेटमा करिम बेन्जेमा र डानी सेबालोस पनि वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका थिए । 

बेन्जेमाले ७२औं मिनेटमा मार्सेलोलाई दिएको पासमा ब्राजिलियन डिफेन्डरले आकर्षक गोल गरेर रियललाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

तर, बाँकी समयमा रियलले गोल थप्न नसक्दा उसले आफ्नै घरमा २–१ को हार भोग्न बाध्य भयो ।

यससँगै रियलले पछिल्ला ५ खेलमा एक खेल पनि जित्न सकेको छैन । त्यसक्रममा उसले ५ खेलमा ४ खेल हारेको छ भने मात्रै १ खेल बराबरी गरेको छ ।

यो हारपछि रियल ९ खेलबाट १४ अंकमै खुम्चिएको छ । ऊ लिगको चौथो स्थानमा छ । विजयी लेभान्टे ९ खेलबाट १३ अंकसहित सातौं स्थानमा चढेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया