काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युगान्डामा नेपाल र नेपाली सम्मानित भएको महसुस गरेको बताएका छन् । युगान्डाको कम्पालामा सम्पन्न भएको असंलग्न आन्दोलनको १९ औँ शिखर सम्मेलनमा सहभागी भई आइतबार बिहान स्वदेश फर्किएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
उनले भने, ‘म युगान्डाको कम्पाला पुग्दा त्यहाँको विमानस्थलमा युगान्डाका मन्त्री एस्थर डी अनयाकुन, नेपालका परराष्ट्रसचिव श्री सेवा लम्साल र अन्य उच्च पदाधिकारीहरूले स्वागत गर्नुभएको थियो। विमानस्थलमा सांस्कृतिक झाँकीसहितको स्वागत पाउँदा युगान्डामा नेपाल र नेपाली सम्मानित भएको महसुस गरेँ।’
प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय रूपमा जटिल परिस्थितिहरूका बाबजुद हामीले सबै अवस्थामा मौलिक दृष्टिकोणका साथ स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरेको बताए । उनले भने, ‘मेरो सम्बोधनमा, करिब सात दशक अगाडि दुई महाशक्तिबिचको असहज शीतयुद्धको माहौलमा एसिया र अफ्रिका महादेशका नेताहरूले अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनका आधारभूत मूल्यहरू बाङडुङ सम्मेलनमार्फत प्रतिपादन गरेको स्मरण गर्दै यो असंलग्न आन्दोलनले कैयौँ मुलुकहरूको राजनीतिक स्वतन्त्रताको अभिवृद्धि, औपनिवेशिकताको अन्त्य र सार्वभौमसत्ताको संरक्षण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको कुरालाई जोड दिएँ। त्यसै गरी, असंलग्न आन्दोलन आपसी सहयोगलाई प्रगाढ बनाउने थलो हो। यसबाट आपसी सहयोग तथा समझदारी अभिवृद्धि गरी विश्वव्यापी समृद्धि हासिल गर्ने प्रयास गर्नुपर्नेमा जोड दिएँ।’
उनले नेपालले सार्वभौम समानता, आपसी सद्भाव, आपसी लाभ र द्वन्द्वको शान्तिपूर्ण समाधानको आधारमा सन्तुलित र स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने बताउँदै असंलग्न आन्दोलनका सिद्धान्तहरू र यसका मूल्य तथा मान्यता हाम्रा लागि महत्त्वपूर्ण हुनुका साथै परराष्ट्र नीतिको एक आधारभूत सिद्धान्त रहेको जिकिर गरे । ‘यसको परिपालनाले शान्ति, मेलमिलाप र समृद्ध विश्व प्राप्त गर्न मार्गनिर्देश गरिरहेको स्पष्ट पारेँ। यस आन्दोलनले हामीहरूबिच आपसी सद्भाव, सहयोग तथा सहकार्य अभिवृद्धि गर्नुका लागि अन्तर्राष्ट्रियस्तरमा मान तथा प्रतिष्ठा बढाउन योगदान गरी रहेको जनाएँ,’ उनले भने ।
सन् २०१९ मा बाकुमा भएको १८औँ सम्मेलनयता कोभिड(१९ को कारण विश्वले मृत्यु, अभाव तथा वञ्चितिकरण, विस्थापन लगायतका चुनौतीहरूको सामना गर्नुपरेको तथा हाल बढिरहेको भू(राजनीतिक ध्रुवीकरण तथा लडाइँ र जलवायु परिवर्तनको कारण साना तथा विकासशील राष्ट्रहरू थप मारमा परिरहेको विषयमा चिन्ता व्यक्त गरेको प्रधानमन्त्रीको भनाई थियो ।
प्रतिक्रिया