चिसो बढेसँगै ढोरपाटनका विद्यालयहरु बन्द

बुधबार, १० माघ २०८०, ०७ : ३३

काठमाडौं । अत्यधिक चिसो बढेपछि बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय बन्द भएका छन् । ढोरपाटन नगरपालिका–९ ढोरपाटनका छ विद्यालय बन्द भएका छन् । 

ढोरपाटनमा सामान्यतया घुम्ती बसाई हुने गर्दछ । विद्यालय घुम्ती पढाइका लागि बेँसी झारिएको छ । गत पुस १५ गतेबाट बन्द गरिएका विद्यालय आगामी फागुन १ गतेबाट मात्रै सञ्चालन हुने ढोरपाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र सापकोटाले जनाएका छन् । 

 “ढोरपाटन उपत्यका क्षेत्रका छ वटा विद्यालय बन्द छन्, अब फागुन लागेपछि मात्रै खुल्छन्, एउटा जनवादी आधारभूत विद्यालय भने बोबाङ झरेको छ, पहिलेदेखि नै घुम्ती विद्यालय हो, यो बर्खामा ढोरपाटन, हिउँदमा बोबाङबाट पढाइ हुन्छ, यहाँका स्थानीय पनि हिउँद–बर्खा छुट्टाछुट्टै ठाउँमा बस्ने हुँदा विद्यालय पनि सोहीअनुसार सञ्चालन भएको छ ।” शिक्षा शाखा प्रमुख सापकोटाले भने । 

सिद्धबराह प्राथमिक विद्यालय छेन्तुङमा प्रायजसो साना बालबालिका अध्ययन गर्दछन् त्यसकारण पनि चिसो याममा ढोरपाटनमा पठनपाठन गर्न नसकिने हुँदा विद्यालय बन्द गर्नुपरेको एक स्थानीयले जनाएको छन् । चिसोबाट बचाउन विद्यालय बन्द गर्नुको विकल्प नभएको सिद्धबराह प्राथमिक विद्यालयका शिक्षकले जनाएका छन्। 
 

बुधबार, १० माघ २०८०, ०७ : ३३

प्रतिक्रिया