बागमती प्रदेशमा ६ मत खस्न बाँकी, लुम्बिनी र कर्णालीमा प्रदेशमा कति ?

विहीबार, ११ माघ २०८०, १४ : ३४

काठमाडौँ- बागमती प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनमा ६ मत खस्न बाँकी रहेको छ । निर्वाचनमा अहिलेसम्म ११० प्रदेश सांसदहरुमध्ये १०८ जनाले मतदान गरेका छन् । त्यस्तै स्थानीय तह तर्फ २४७ मध्ये २३३ जनाले मतदान गरेका छन् । 

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका उपाध्यक्ष उमा लामा, नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ, काभ्रे चौरी देउराली गाउँपालिका उपाध्यक्ष शेरबहादुर तामाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मतदान गर्न बाँकी छ । उपाध्यक्ष लामा मतदानका लागि आउँदैछिन भने अन्य जनप्रतिनिधिहरु मतदानका लागि नआउने बुझिएको छ ।

त्यस्तै लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यको निर्वाचनमा दिउँसो १ बजे अगाडिसम्म ९८ प्रतिशत मतदान भएको छ । अब दश भोट मात्रै खस्न बाँकी रहेको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार प्रदेशसभा तर्फका दुई जना र स्थानीय तह तर्फका आठ जनाले मतदान गर्न बाँकी छ ।

घोराही उपमहानगरपालिका – १५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा रहेको मतदान केन्द्रमा बिहान ९ बजेपछि मतदान सुरु भएको थियो । लुम्बिनी प्रदेशका १२ जिल्लामा कुल एकसय नौं स्थानीय तहका दुई सय १८ जना प्रमुख तथा उपप्रमुख र ८७ जना प्रदेशसभा सदस्यसमेत गरी कुल तीनसय पाँच जना मतदाता रहेका छन् ।

 राष्ट्रियसभा निर्वाचन अन्तर्गत कर्णालीमा मतदान  सकिएको छ । बिहान ९ बजेबाट सुरु भएको मतदान सकिएको हो ।   सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलले शतप्रतिशत मतदान सकिएको जानकारी दिए ।

उनका अनुसार ७९ वटा पालिकाका १५६ जना जनप्रतिनिधि र प्रदेशसभा तर्फका ४० जना नै मतदानमा सहभागी बनेका छन्। यहाँ दलित, महिला र अन्य पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ । जस अन्तर्गत गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम)अन्य, नेकपा माओवादीका विष्णु विक ‘विकल्प’ (कालिकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख) ले उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विकले उम्मेदवारी दर्ता गराएका हुन् ।  अबको केहि समयपछि मतगणना सुरु हुने बताइएको छ।
 

विहीबार, ११ माघ २०८०, १४ : ३४

प्रतिक्रिया