अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनीमा नेपाल चौथो

३ महिना अगाडि

काठमाडौँ - ताइवानमा सम्पन्न ‘ताइवान इन्टरनेशनल साइन्स फेयर’ मा इन्जिनियरिङ तर्फको विधामा नेपाल चौथो भएको छ । माघ १४ देखि १९ गतेसम्म भएको उक्त अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी मेलामा नेपालले समेत सहभागिता जनाएको थियो ।

प्रतियोगितामा हेटौँडाका कक्षा १२ मा अध्ययनरत विद्यार्थी शाश्वत वाईबाको ‘कृषि–प्रविधिमा आधारित एग्रो–गार्ड’ नामक रिसर्च प्रोजेक्टले चौथो स्थान हासिल गर्न सफल भएको हो । गणित, रसायनशास्त्र, इन्जिनियरिङ लगायतका फरक–फरक १३ वटा विधा समेटिएको उक्त मेलामा विश्वभरका २७ भन्दा बढी देशको सहभागिता थिए ।

मेलामा जापान, अमेरिका, सिङ्गापुर, न्युजील्यान्ड, स्वीजरल्यान्ड लगायतको सहभागिता थियो । २० वर्ष भन्दा कम उमेरका उच्च शिक्षामा अध्ययनरत राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका विध्यार्थीहरुको वैज्ञानिक अनुसन्धान, नव प्रवर्तनात्मक अवधारणा र क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गर्न अवसर प्रदान गर्ने लक्ष्यसहित मेलाको आयोजना हुने गर्छ 

ताइवानको सूचना तथा प्रविधि मन्त्रालय मातहतको नेशनल ताइवान साइन्स एजुकेसन सेन्टरले उक्त विज्ञान प्रविधि मेलाको आयोजना  गर्दै आइरहेको छ । विविध विधामा आधारित वैज्ञानिक अनुसन्धान परियोजनाहरूलाई प्रदर्शन गराइने यस प्रदर्शनी मेलामा यस वर्ष ६३० जना विद्यार्थी अनुसन्धानकर्ताद्वारा ३५९ वटा विज्ञान, सूचना–प्रविधि, नवप्रवर्तन सम्बन्धी अनुसन्धानका प्रोजेक्टहरू प्रदर्शनीमा राखिएको थियो । जहाँ ५४ वटा अन्तर्राष्ट्रिय र ३०४ वटा राष्ट्रिय प्रोजेक्टहरू समावेश गरिएका थिए ।

३ महिना अगाडि

प्रतिक्रिया