स्वास्थ्य सामग्री सहयोग

२ महिना अगाडि

काठमाडौँ - भोजपुर नगरपालिकाभित्र रहेका दुई स्वास्थ्य संस्थालाई स्वास्थ्यका विभिन्न सामग्री सहयोग गरिएको छ । स्वास्थ्य संस्थामा स्वास्थ्यका सामग्रीको अभाव हुन नदिन नेपाली कांग्रेस भोजपुरका पार्टी सचिव चक्रबहादुर कार्कीको पहलमा ल्याइएका ती सामग्री जिल्लाका स्वास्थ्य संस्थामा हस्तान्तरण गर्न थालिएको हो ।  

 नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई विभिन्न दातृ निकायबाट प्राप्त स्वास्थ्य सामग्री तथा उपकरण भोजपुर ल्याई हस्तान्तरण सुरु गरिएको पहलकर्ता कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्लो पटक पनि रु ४० लाख बराबरका विभिन्न स्वास्थ्य सामग्री ल्याएर नगरपालिकाभित्रका स्वास्थ्य संस्थालाई वितरण गरिएको छ, अहिले पनि बाँकी स्वास्थ्य संस्थामा वितरण हुन्छ ।” 

कार्कीले वडा नं ५ बोखिममा रहेको स्वास्थ्यचौकी र वडा नं ९ हात्तीगौडाको आधारभूत स्वास्थ्यचौकीलाई ती सामग्री हस्तान्तरण गरिसक्नुभएको छ । दुई स्वास्थ्य संस्थालाई सिटामोल पाँच हजार थान, पल्स अक्सोमिटर पाँच थान, ५० सेट गाउन, मास्क एक हजार थान, फेरस सलफेट पाँच हजार एक सय थानलगायत सामग्री सहयोग गरिएको हो ।

व्यक्तिको पहलमा आएको स्वास्थ्य सामग्रीले नागरिकको स्वास्थ्य सेवामा राहत मिल्ने वडा नं ५ बोखिमका वडाध्यक्ष फविन्द्र प्रधानले बताउनुभयो । वडाध्यक्ष प्रधानले भन्नुभयो, “व्यक्तिको पहलमा काठमाडौँदेखि आएको स्वास्थ्य सामग्रीले गाउँका नागरिकलाई सेवामा पहुँच बढाउँछ ।” अगाडि वितरण गरेर फेरि दोस्रो पटक पनि सम्बन्धित निकायमा पुगेर सामग्री ल्याउने कार्य सराहनीय छ । रासस
 

२ महिना अगाडि

प्रतिक्रिया