काठमाडौं। अरुको नागरिकतामा फोटो टाँसेर ठगी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर कन्सल्टेन्सी सञ्चालन गरी वैदेशिक रोजगारीमा पठाउने बहानामा रकम असुल्दै आएका थिए।
पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका घर भई ललितपुर बस्दै आएका पक्राउ पर्नेमा सरोज यादव, सर्लाहीका रामेश्वर सिंह र धनुषाका रामसेवक सिंह रहेका छन्। उनीहरुले ५५ जनालाई वैदेशिक रोजगारीका लागि युरोप पठाइदिने भन्दै प्रतिव्यक्ति सात लाखका दरले रकम असुल्दै आएका पाइएको छ।
मासिक रु एक लाख ५५ हजार तलब पाइने भन्दै तीनैजनाले पीडितबाट रु ६३ लाख ठगी गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीको जानकारी छ । रकम लिएपछि सम्पर्कविहीन भएको भनी परेको जाहेरीका आधारमा खोजतलास गर्ने क्रममा तीनैजनालाई यही माघ २३ गते साँझ ललितपुरबाट पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।
प्रतिक्रिया