साताको समीक्षा: नेप्सेमा ३४ अङ्कको गिरावट, कारोबार कस्तो रह्यो ?

शनिबार, ०५ फागुन २०८०, ०७ : ५४

काठमाडौं । शेयरबजारमा यस साता पाँच दिन नै सेयर कारोबार भएको छ।त्यस्तै साताभरमा नेप्से परिसूचक साढे १ प्रतिशतभन्दा बढी घटेको छ। गत साता २०९६.०३ विन्दुमा बन्द भएको नेप्से, यस साता १.६४ प्रतिशत अर्थात ३४.२९ अंक घटेर २०६२.०३ विन्दुमा झरेको छ।

पाँच दिनमा सवा २० अर्बको बराबरको कारोबार हुँदा नेप्से परिसूचकमा भने ३४ अङ्कको गिरावट आएको छ । साताको पहिलो दिन आइतबार बजार खुल्दा २०९६.३२ विन्दुमा रहेको नेप्से परिसूचक बिहीबार २०६२.०३ विन्दुमा बन्द भएको थियो। 

बजारमा ३४.२९ अङ्कको गिरावट आए पनि कारोबार भने उत्साहजनक नै रहेको छ । पाँच दिनमा कुल २० अर्ब २३ करोड ८४ लाख ६० हजार दुई सय ३० रुपैयाँ बराबरको कारोबार भएको छ । जस अनुसार औसतमा हेर्दा दैनिक करिब चार अर्ब चार करोड ७७ लाख बराबरको कारोबार भएको हो । यो साता आइतबार, मङ्गलबार र बिहीबार बजार घट्दा सोमबार र बुधबार भने बजारमा वृद्धि भएको थियो ।

त्यसैगरी उपसूचकतर्फ हेर्दा यो साता बैंकिङ उपसूचक २८.८६ अङ्कले घटेको छ। यसैगरी विकास बैंक उपसूचक ३४.१८ अङ्कले घटेको छ । हाइड्रोपावर उपसूचक भने यो साता २७.१८ अङ्कले वृद्धि भएको छ । फाइनान्स उपसूचक पनि ३६.८९ अङ्कले बढेको छ । 

 आइतबार बजारको कुल पुँजीकरण ३२ खर्ब ९५ अर्ब २४ करोड रहेकोमा बिहीबार बजार बन्द हुँदा कुल बजार पुँजीकरण ३२ खर्ब ४१ अर्ब ३४ करोड पुगेको छ । फ्लोरसिट विश्लेषणका आधारमा यस साता समाज लघुवित्त वित्तीय संस्था, किसान लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् 

शनिबार, ०५ फागुन २०८०, ०७ : ५४

प्रतिक्रिया