काभ्रेमा ८ ओटा सरकारी कार्यालयको प्रमुखमा महिला

विहीबार, १० फागुन २०८०, १६ : २९

काठमाडौँ- ‘कुनै पनि देश साँच्चिकै फस्टाउन सक्दैन यदि उसले आफ्ना देशका महिलाको क्षमतालाई दबाएर आधा नागरिकहरूको योगदानबाट वञ्चित गर्‍यो भने’– सन् २०१४ मा तत्कालीन प्रथम महिला मिसेल ओबामाका शब्द हुन् यी।

हो, देशको राजनीतिक प्रणाली असल भए देशका सम्पूर्ण नागरिकले समतामूलक समाज अनुभूत गर्न पाउँछन्। शासन सत्ताले एकल लिंगीय, एकल जातीय र एकल भाषालाई मात्र महत्त्व दिएर सदैव नेतृत्व गर्न प्रोत्साहन गर्ने र अन्य वर्ग र समुदायलाई नेतृत्व गर्नबाट रोक लगाउने परिपाटी अझै उस्तै छ। र, पनि पछिल्लो समय महिला नेतृत्वमा भने केही आस देखिएको छ।

महिला नेतृत्वका सवालमा नेपालको पुर्वराष्ट्रपति र पुर्व सभामुख दुवै महिला रहेका थिए । नेतृत्वमा रहेका महिलाहरुले विषम परिस्थितिमा विवेक प्रयोग गरी देश हाँकेर पुरुष नेतृत्वलाई समेत चुनौती दिइ उदाहरण बन्ने गरेका छन् । नेपालको  संविधानमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरिएकाले पनि राजनीतिक क्षेत्र, गैर तथा सरकारी संघ र संस्थामा अहिले महिलाको उपस्थिति उत्साहजनक छ । 

अब्बल र सक्षम बन्दै महिला
काभ्रेमा जिल्ला प्रहरी कार्यालयको नेतृत्व प्रहरी उपरीक्षक बसुन्धरा खड्काले सम्हालेकी छिन् । 

प्रमुख जिल्ला अधिकारी (सिडिओ) पनि महिला नै छिन्। सहसचिव रुद्रादेवी शर्मा काभ्रेको सिडिओका रुपमा कार्यरत छिन् । प्रहरी नेतृत्व पनि महिला नै भएपछि जिल्ला प्रशासन र प्रहरी दुवैमा महिलाको नेतृत्व भएको छ ।

संयोग कस्तो छ भने काभ्रेका अन्य ६ वटा सरकारी कार्यालयहरूमा पनि महिलाको कमाण्ड छ । शिक्षा विकास तथा समन्वय इकाई, काभ्रेपलाञ्चोकको प्रमुखमा देवका ढकाल तथा स्वास्थ्य कार्यालयको प्रमुखमा अनिता खनाल कार्यरत छिन् ।

पशु सेवा कार्यालयमा डा. सिर्जा वाग्ले, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा डा. वशंवदा कौडिन्न्यायनी, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा मनिषा चापागाई तथा स्वास्थ्य बिमा बोर्डको जिल्ला कार्यालयमा मुना निरौलाले नेतृत्व गर्दै आएका छन्।

विहीबार, १० फागुन २०८०, १६ : २९

प्रतिक्रिया