२० महिनापछि तीनपिप्ले सडकमा बल्ल नयाँ ठेक्का

१ महिना अगाडि

काठमाडौँ — ठेक्का तोडेको २० महिना बित्नै लाग्दा काठमाडौंदेखि नुवाकोट जोड्ने तीनपिप्ले–रानीपौवा सडक खण्डको ठेक्का भएको छ । दुई वर्षभित्र निर्माण सक्ने गरी ठेक्का सम्झौताको अन्तिम तयारी भएको छ । सडक डिभिजन नुवाकोटले अघिल्लो शुक्रबार बोलपत्र स्वीकृत गर्ने आशयको सूचना जारी गरेको थियो । सूचनाअनुसार यसको ठेक्का मोतीदान कन्स्ट्रक्सन सेवाले ८३ करोड ३१ लाख रुपैयाँमा पाउने भएको हो । 

 


आशयको सूचना बिहीबारसम्म भए पनि त्यो समय सकिइसकेको छ । यसबारे आइतबार सडक विभागबाट निर्णय हुने सडक डिभिजन नुवाकोटका प्रमुख सुबोधकुमार देवकोटाले बताए । ‘ठेक्का सम्झौताका लागि आशयको सूचना निकालिसकेका छौं,’ उनले भने, ‘एक साताको समय दिएर आशयको सूचना निकालेका थियौं । उक्त अवधिभित्र ठेक्का सम्झौता गर्न लागिएको निर्माण व्यवसायीविरुद्ध कहीँकतैबाट केही उजुरी परेन, अब विभागले ठेक्का सम्झौता गर्नेबारे निर्णय गर्छ ।’ त्यसपछि ठेक्का सम्झौताका लागि निर्माण व्यवसायीलाई बोलाइने उनको भनाइ छ । ‘सडक दुई लेनमा स्तरोन्नति गर्न लागिएको हो,’ उनले भने, ‘पहिला १२।५ किमिसम्ममा स्तरोन्नति गर्ने भनिएपनि डेढ किमि थपिएको हो ।’ यस खण्डमा समयमै सडक स्तरोन्नतिको काम नहुँदा स्थानीयले सास्ती खेप्दै आएका छन् । सडकको अवस्थाले गर्दा व्यापार व्यवसायसमेत चौपट बन्दै आएको स्थानीय व्यवसायीको भनाइ छ ।

 

 

‘पहिला यो सडकमा ठेक्का भयो, काम भएन, जसले गर्दा यो सडक भएर ओहोरदोहोर गर्नेहरू मारमा परेका छन्,’ उनले भने, ‘सडकको बिजोग छ । अब तोकिएकै समयभित्र काम सक्ने गरी ठेक्का सम्झौता हुँदै छ ।’ सडकका कारण सधैं समस्या भएपछि छिटो ठेक्का व्यवस्थापन गरेर काम गराउन कार्यालय लागिपरेको उनले सुनाए । ठेक्का सम्झौता भएकै दिनबाट काम सुरु हुने कार्यालयको दाबी छ । बालाजु–रानीपौवा–पीपलटार सडकको कुल दूरी भने ५५.५ किमि हो । उक्त दूरीमध्ये केही खण्डमा काम भइसकेको छ । उक्त सडकको सुरु ठेक्काअनुसार काम नभएपछि ठेक्का तोडेर दोस्रो ठेक्का गरिएको हो । सुरुमा बालाजु–रानीपौवा खण्डको ठेक्का भएको थियो । तर सात पटक म्याद थप्दा गर्दा पनि काम सकिएन । काममा कुनै प्रगति नभएपछि बालाजु–रानीपौवा खण्डको ठेक्का लिने इन्फ्रा पावर लिमिटेड (एआईपीएल) र शैलुङ कन्स्ट्रक्सन जेभीसँग ०७९ असार ५ मा सम्झौता तोडिएको थियो । ठेक्का तोडेसँगै तिनलाई सडक विभागअन्तर्गत सडक सुधार तथा विकास आयोजना निर्देशनालयले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कालोसूचीमा राखी कारबाही गर्न सिफारिस गरेको थियो । जसअनुसार उक्त कम्पनीलाई ०७९ भदौ ८ देखि ०८२ भदौ ७ सम्म कालोसूचीमा राखिएको छ । बालाजुदेखि तीनपिप्ले सम्मको सडकमा भने समस्या नरहेको सडक सुधार तथा विकास योजना कार्यालयले जनाएको छ । रानीपौवा–पीपलटार खण्डको पनि यही आर्थिक वर्षमा ठेक्का गर्ने गरी तयारी भइरहेको छ । उक्त खण्डलाई ‘इन्टरमेडियट लेन’ मा स्तरोन्नति गरिने सडक सुधार तथा विकास योजना कार्यालयका योजना प्रमुख मेघराज मरासिनीले बताए ।

 

 

‘यसको विस्तृत परियोजना रिपोर्ट (डीपीआर)को काम सकेर परामर्शदाताले केही दिनभित्र प्रस्तुतीकरण गर्दै छन्, त्यसमा के थपघट गर्नुपर्छ, हामीले प्रतिक्रिया दिनेछौं,’ उनले भने, ‘के आवश्यक पर्छ, डीपीआरमा थपघट गरेर उक्त काम एक साताभित्र सकिनेछ ।’ यो खण्डमा भने भारतीय एक्जिम बैंकको ऋण सहयोगमा काम गरिँदै छ । डीपीआरअनुसार एक्जिम बैंकसँग निर्माणमा लाग्ने रकम माग गरेर सहमतिका लागि पठाइने उनको भनाइ छ । ‘एक्जिम बैंकबाट सहमति आउनासाथ ठेक्काको प्रक्रियाको अघि बढाउँछौं,’ उनले भने । यो सडकको दूरी ३२.५ किमि छ । तीनपिप्ले–रानीपौवा सडकमा डेढ किमि दूरी परेपछि यो खण्डमा उक्त दूरी घटाइएको हो । रानीपौवा–पीपलटार सुरुमा भारतकै दिनेशचन्द्र आर अग्रवाल र नागार्जुन–कोसी एन्ड न्यौपाने जेभीले ठेक्का लिएका थिए । उक्त निर्माण कम्पनीसँग ०७७ असार ९ मा ठेक्का सम्झौता तोडिएको थियो । ०७९ साउन ९ देखि ०८२ साउन १ सम्मका लागि उक्त कम्पनीहरूलाई कालोसूचीमा राखिएको छ । करिब १० वर्षदेखि सडक स्तरोन्नति गर्ने भन्दै सडक भत्काएर अलपत्र पार्दा स्थानीय समस्यामा परेका छन् ।

१ महिना अगाडि

प्रतिक्रिया