काठमाडौँ - आर्थिक शिथिलताका कारण बैंक तथा वित्तीय संस्थाहरूले अपेक्षित कर्जा लगानी गर्न नसकिरहेका बेला सहकारीमा समेत खर्बौँ रुपैयाँ तरलता (लगानी योग्य रकम) थुप्रिन थालेको छ । वित्तीय अराजकता, ऋणीहरूले लगेको ऋणको साँवा, ब्याज भुक्तानी गर्न छाडेपछि झस्किएका बचत तथा ऋण सहकारी संस्थाहरू आफैँले पछिल्लो समय लगानीमा कडाइ गर्दा तरलता थुप्रिन पुगेको हो ।
राष्ट्र बैंक अन्तर्गत सञ्चालित बैंक तथा वित्तीय कम्पनीहरूमा मात्र होइन, पछिल्लो समय सहकारी विभाग, स्थानीय पालिका अन्तर्गत दर्ता भएका सहकारी संघ संस्थाहरूमा समेत खर्बौँ रुपैयाँ बराबरको तरलता ‘होल्ड’ भएको बुझिएको छ । सहकारी विभागका अनुसार हाल देशभरि ३१ हजार ३७३ वटा सहकारी संस्था छन्, जसमध्ये आधाभन्दाले बढी बचत तथा ऋणको कारोबार गर्दछन् । केन्द्रीय बैंकले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९\८० का अनुसार सहकारीमा कुल सेयर सदस्य संख्या ७३ लाख ८१ हजार २१८ छ । जसमध्ये करिब साढे ३१ हजारको संख्यामा रहेका सहकारीको कुल सेयर पुँजी ९४ अर्ब १५ करोड रुपैयाँ छ । समीक्षा अवधिमा सहकारी क्षेत्रमा करिब ५ खर्ब रुपैयाँ बचत भएको छ भने ४ खर्ब २६ अर्ब ३५ करोड रुपैयाँ हाराहारी कर्जा ९ऋण० प्रवाह भएको छ । पछिल्लो समय सहकारी क्षेत्रमा कम्तीमा पनि ६ खर्ब रुपैयाँ हाराहारी तरलता होल्ड भएको हुन सक्ने केन्द्रीय बैंककै अनुमान छ ।
केही दिनअघि नेपाल बैंकर्स संघको कार्यक्रममा उपस्थित हुँदै गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सहकारी र अनौपचारिक क्षेत्रमा केन्द्रित हुँदा समस्या आएको बताएका थिए । ‘हामीले माने पनि नमाने पनि अहिले अर्थतन्त्रको ठुलो हिस्सा सहकारी केन्द्रित र अनौपचारिक क्षेत्रमा छ । यसले बैंक तथा वित्तीय क्षेत्र जस्तो औपचारिक क्षेत्रमा चुनौती बढाएको छ,’ गभर्नर अधिकारीले भने, ‘यसलाई चिर्न सहकारी क्षेत्रको सुक्ष्म अध्ययन र समस्या समाधानको खाँचो छ ।’गभर्नर अधिकारीले मुखै खोलेर नभने पनि सहकारी क्षेत्रमा खर्बौँ रुपैयाँ तरलता होल्ड भएको आशय व्यक्त गरेका थिए । पछिल्लो समय सहकारी क्षेत्रमा समेत एकाएक समस्या आउन थालेपछि लगानी घटेको छ । उपभोग्य बजारको शिथिलताका साथै कर्जाको माग घटेपछि लगानी हुन छाडेको रामेछापस्थित नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव सोमेश थापा बताउँछन् ।‘हामीसँग पर्याप्त नगद मौज्दात छ । संस्थाको कुल सम्पत्ति ६६ करोड ४८ लाख १९ हजार रुपैयाँ बराबर छ । २०८० असार मसान्तसम्म सदस्यहरुबाट ५० करोड ५१ लाख ६६ हजार निक्षेप संकलन गर्दै ४० करोड ५२ लाख ४४ हजार रुपैयाँ हाराहारी कर्जा सापटी दिएका छौँ,’ उनले भने, ‘कर्जा र निक्षेपको तुलना गर्दा संस्थासँग सोझै २० प्रतिशत तरलता छ ।’ थप ४७ करोड ६८ लाख ३२ हजार रुपैयाँ सेयर पुँजी रहेको भन्दै उनले बचतकर्ताहरु माग्न आएको खण्डमा जुनकुनै बेला बचत रकम फिर्ता दिन सक्ने अवस्था रहेको बताए ।संस्थाले कुल सम्पत्तिको ७० देखि ८० प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था भए पनि हाल जम्मा ६०.९७ प्रतिशतमात्र लगानी गरेको उनले बताए । सदस्यहरुबाट कर्जा माग नै नभएको र अर्कोतर्फ जोखिम देखेर संस्थाले पनि केही कर्जा लगानीमा कडाइ गरेका कारण यस्तो अवस्था आएको उनले बताए ।संस्थासँग लगानी गर्न सकिने रकम ठुलो परिमाणमा रहे पनि कर्जाको माग नै नहुँदा लगानी गर्न नसकिएको र संस्थाको आम्दानी समेत घट्न पुगेको थापाले बताए ।
यस्तै, लगानी जोखिम लिएर दोलखा, जिरीको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेड र चरिकोटको मिलीजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पनि कर्जा लगानी घटाएका छन् । २०८० असार मसान्तसम्म १ अर्ब ३३ करोड ३६ लाख कुल सम्पत्ति रहेको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारीले ९६ करोड ९९ लाख ६९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । संस्थासँग सेयर पुँजी १० करोड ६७ लाख ५७ हजार ६०० रुपैयाँ छ ।यस्तै, ७ करोड ९२ लाख ५२ हजार ६०० रुपैयाँ सेयर पुँजी रहेको मिलीजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको समेत वित्तीय स्थिति निकै सबल छ । २०८० असार मसान्तसम्म ९१ करोड ३ लाख २४ हजार रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले सोही अवधिमा सदस्यहरुमा ९५ करोड ९० लाख ७८ हजार रुपैयाँ बराबरको कर्जा लगानी गरेको जनाएको छ ।जगेडा कोषमा १२ करोड ६१ लाख ५५ हजार रुपैयाँ जम्मा गरेको संस्थाले विभिन्न बैंक तथा वित्तीय कम्पनी र सहकारी संघहरुमा १५ करोड ८५ लाख ६९ हजार रुपैयाँ नगद मौज्दात राखेको जनाइएको छ ।यस्तै, १६ करोड ६७ लाख २४ हजार सेयर पुँजी रहेको दोलखाकै जनचेतन बचत तथा ऋण सहकारी संस्थाले १ अर्ब ८२ करोड २७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । २०८० असार मसान्तसम्म संस्थाको जगेडा कोषमा १७ करोड ५८ लाख ६८ हजार रुपैयाँ मौज्दात राखेको संस्थाले बचतकर्ता सदस्यहरुबाट १ अर्ब ६३ करोड ९ लाख रुपैयाँभन्दा बढी निक्षेप लिएको छ । संस्थासँग पर्याप्त तरलता रहेकाले बचतकर्ताहरुले फिर्ता माग्दा सहजै दिन सकिने संस्थाका अध्यक्ष हेमन्त कुमार चौलागाईंले बताए । २०७२ सालको महाभूकम्पपछि संस्थाले सदस्यहरुलाई घर आवास बनाउन अधिक कर्जा प्रवाह गरेकाले यो क्षेत्रको लगानी उठ्न नसकेको उनले बताएका छन् ।
प्रतिक्रिया