बेलायतस्थित खोटाङ सेवा समाजद्धारा  स्वास्थ्य शिविर सञ्चालन

४ हप्ता अगाडि

काठमाडौँ- बेलायतस्थित खोटाङ सेवा समाजले स्वास्थ्य सेवामा पहुँच नभएका जिल्लावासीलाई लक्ष्यित गरेर बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ । समाजले ‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान अभियान’ नाराका साथ जिल्लाका विभिन्न ११ ठाउँमा बृहत् स्वास्थ्य शिविर आयोजना गरेको हो । 

शुक्रबारदेखि विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले हरेक ठाउँमा दुई दिन निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन थालेका समाजले जनाएको छ । शिविर यही चैत २३ गतेसम्म सञ्चालन हुनेछ । निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । 

बृहत् स्वास्थ्य शिविरको पहिलो चरणमा जिल्लाका विभिन्न चार स्थानमा एकैसाथ सेवा प्रवाह गरिएको समाजका अध्यक्ष डा प्रमोद राईले बताए । आज साकेला गाउँपालिकाको साकेला आधारभूत अस्पताल, खोटेहाङ गाउँपालिकाको खोटाङ बजार स्वास्थ्यचौकी, जन्तेढुङ्गा गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी र रावाबेँसी गाउँपालिकाको हरमटारमा शिविर सञ्चालन भएको छ । बृहत् स्वास्थ्य शिविरमा गाइनोक्लोजिस्ट, पेडियाट्रिक, जनरल फिजिसियन, दन्त रोग, हाडजोर्नी, ग्यास्ट्रोलोजीलगायत रोगको उपचार र परीक्षण गरिनेछ । साथै निःशुल्क औषधि पनि वितरण गरिने छ ।
 
आज र भोलि ऐसेलुखर्क गाउँपालिकाका चार ठाउँमा तथा चैत २० र २१ गते हलेसी तुवाचुङ नगरपालिका, बराहपोखरी गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा शिविर सञ्चालन गरिनेछ । चैत २२ र २३ गते दिक्तेल रुपाकोट मझुवागढीको बुइपा र केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा शिविरको आयोजना हुनेछ । सेवा समाजका पदाधिकारी तथा सदस्यबाट सङ्कलित रु तीन करोड दश लाख बराबरको रकम स्वास्थ्य शिविरमा खर्च हुने अध्यक्ष राईले बताए । शिविरमा ४५ जना विशेषज्ञ चिकित्सकसहित एक सय ३० जनाभन्दा बढी स्वास्थ्यकर्मीले सेवा प्रवाह गर्नेछन् । 
 

४ हप्ता अगाडि

प्रतिक्रिया