को बन्ला एमयुको उपकुलपति ?

बुधबार, २१ चैत्र २०८०, १३ : ४३

काठमाडौँ — मध्यपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपतिमा दरखास्त दिएकामध्ये १० जनाको आवेदन स्वीकृत भएको छ भने एक जनाको अस्विकृत भएको छ । मापदण्डभित्र नपरेकोले डा.चन्द्रप्रसाद रिजालको आवेदन अस्विकृत भएको थाहा हुन आएको छ । उनी मध्यपश्चिम विश्वविद्यालयका करार प्राध्यापक हुन । 
उपकुलपति छनोट तथा सिफारिस समितिले प्रकाशन गरेको सूचना अनुसार प्रा डा कविप्रसाद पोख्रेल, प्रा डा केशरसिंह राना, प्रा डा देवबहादुर खड्का, प्रा डा ध्रुवकुमार गौतमको आवेदन स्वीकृत भएको छ । त्यसैगरी प्रा डा नन्दबहादुर सिंह, प्रा डा विनयकुमार मिश्र, प्रा डा भोलानाथ शर्मा घिमिरे, प्रा डा मुकुन्दप्रकाश क्षेत्री, प्रा डा यमबहादुर कार्की र प्रा डा शोभाखर कँडेलको आवेदन पनि स्वीकृत भएको छ । 
स्वीकृत उम्मेदवारहरुलाई यही चैत २७ भित्र विश्वविद्यालयसम्बन्धी आफ्ना सोचपत्र (भिजनपेपर) र विश्वविद्यालयको चार वर्षे कार्ययोजना (प्रोफेसनल वर्क प्लान) पेस गर्न समितिले आग्रह गरेको छ । तत्कालीन उपकुलपति प्रा डा नन्दबहादुर सिंहको कार्यकाल गत फागुन १७ गते सकिएको थियो ।
आवेदन दिएकामध्ये निमित्त उपकुलपति राना र प्रा. डा. यमबहादुर कार्की माओवादी निकट हुन भने गौतम, सिंह , मिश्र ,घिमिरे र पोख्रेल एमाले निकट हुन । त्यस्तै खड्का र कँडेल कांग्रेस निकट हुन । अर्घाखाँची स्थायी ठेगाना भएका प्राडा क्षेत्री एकीकृत समाजवादी निकट हुन । उपकुलपति छनौट समितिले यी मध्येबाट तीन जनाको नाम कुलपति तथा प्रधानमन्त्रीलाई नियुक्तीको लागि सिफारिश गर्ने छ । कुलपतिले ती मध्ये एक जनालाई विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने व्यवस्था रहेको छ । आवेदकहरु यतिबेला आ– आफ्ना शक्तिकेन्द्रहरुमा आशिर्वाद थाप्न धौडधुप गरिरहेका छन् ।  

बुधबार, २१ चैत्र २०८०, १३ : ४३

प्रतिक्रिया