काठमाडौँ - काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले हैसियतअनुसार काम गर्न नसक्दा महानगरको स्तर खस्किएको बताएका छन्।
शनिबार नेपाल खेलकुद महासङ्घ काठमाडौँले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। शाक्यले आफू काठमाडौँ महानगरको मेयर हुँदा महानगरले राम्रा कामहरू गरेको उल्लेख गरे। उनले आफू मेयर रहँदासम्म काठमाडौँ महानगरपालिकाको हैसियत सरकारले ९ औँ स्थानमा राखेको भए पनि अहिले हैसियतअनुसार काम नहुँदा १७ औँ स्थानमा पुगेको जिकिर गरे।
‘त्यस बेलामा काठमाडौँ महानगरपालिकाको हैसियत भनेको नेपाल सरकारले ९ औँ स्थानमा राखेको थियो,’ शाक्यले भने, ‘अहिले झारेर १७ औँ स्थानमा पुर्याएको छ। हामीले हाम्रो हैसियतअनुसार काम गर्न नसक्दा, नेतृत्वले आफ्नो भूमिका निर्वाह गर्न नसक्दा सरकारले अवमूल्यन गरेर काठमाडौँ महानगरपालिका भन्दा देशभरका सम्पूर्ण मेयर, उपमेयरलाई तल राख्ने काम गरेको छ। हामी सबैले आफ्नो हैसियत बुझेर काम गर्नुपर्छ।’
पूर्व मेयर शाक्यले स्थानीयको इच्छा विपरीत काम गरिरहेको समेत आरोप लगाए। उनले न्युरोडमा नगर प्रहरीको बलमा जनप्रतिनिधिलाई पेल्ने काम भएको दाबी गरे।
प्रतिक्रिया