काठमाडौं –आरक्षण विरुद्धको आन्दोलनले सफलता पाएसँगै बंगलादेशमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । युनुुुससँगै अन्तरिम सरकारका सदस्यहरूले शपथ लिएका छन् । युनुससहित नवगठित सरकारका १७ जनाले बिहीबार राति बंगलादेशको राजधानी ढाकास्थित राष्ट्रपति कार्यालय बंगभवनमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
अन्तरिम सरकार समावेशी प्रकारको बनाइएको छ । सरकारमा आरक्षण कोटाविरोधी आन्दोलनका अगुवा विद्यार्थी नेता पनि समावेश गरिएका छन् । आन्दोलन चर्काएर शेख हसिना नेतृत्वको सरकार सत्ताच्युत गर्ने अगुवा विद्यार्थी नेता २६ वर्षीय नहिद इस्लाम र आसिफ महमुद ुपनि मन्त्री बनेका छन् ।
अन्य सदस्यमा बंगलादेशको वातावरण कानुन संघकी प्रमुख कार्यकारी सायदा रिजवाना हसन, महिला अधिकारकर्मी फारिदा अख्तर, मानवअधिकारवादी संगठन ‘अधिकार’का संस्थापक अदिलुर रहमान खान, ‘हफाजत ए इस्लाम’का सल्लाहकार एएफएम खालिद हुसेन, ग्रामीण बैंककी संस्थापक नुरजहाँ बेगम रहेका छन् ।
त्यस्तै स्वतन्त्रता सेनानी शर्मिन मुर्सिद, बिर प्रतिक फारुक–ए–आजम, बंगलादेश बैंकका पूर्व गर्भनर सलेहुद्दिन अहमद, ढाका विश्वविद्यालयका कानुनका प्राध्यापक आसिफ नजरुल, पूर्व महान्यायाधिवक्ता हसन आरिफ, सेवानृवित्त जर्नेल एम सकहवत हुसेन, चटगाउँ हिल ट्र्याक डेभलेपमेन्ट बोर्डका अध्यक्ष सुप्रदीप चक्मा, प्राध्यापक विधान रञ्जन रोय र पूर्वविदेश सचिव तौहिद हुसेन छन् ।
अन्तरिम सरकार प्रमुखका रूपमा रहेका ८४ वर्षीय नोबेल विजेता युनुसको काँधमा बंगलादेशमा शान्ति स्थापित गर्ने र नयाँ चुनाव गराउने जिम्मेवारी आइपरेको छ ।
युनुसलाई उनी फ्रान्सको राजधानी पेरिस हुँदै अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरिएको थियो। शपथका लागि उनी हिजो बिहीबार मात्रै बंगलादेश आइपुगेका थिए।
आन्दोलनबाट सत्ताच्युत भएकी हसिना अहिले भारतको शरणमा छिन् ।
प्रतिक्रिया