काठमाडौं – सरकारले अर्थतन्त्रमा सकारात्मक सुधार आएको दाबी गरे पनि साँचो अर्थमा अर्थतन्त्र चलायमान हुन सकिरहेको छैन । मन्द गतिमा चलिरहेको अर्थतन्त्रलाई कसरी चलायमान बनाउने भन्ने अहिलेको ज्वलन्त सवाल हो । यसको लागि अर्थतन्त्रमा झण्डै ८१ प्रतिशत योगदान गरेको निजी क्षेत्रलाई निर्बाध काम गर्न दिइनुपर्छ । देशमा लगानीमैत्री वातावरण सिर्जना गरिनुपर्दछ ।
विश्व बैंक आईएफसी र महासंघको अध्ययनले अर्थतन्त्रमा ८१ प्रतिशत योगदान निजी क्षेत्रको देखाएको छ । ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले दिएको छ । उच्च तहको नेतृत्व वर्गले यसलाई मनन गरे पनि धेरैले निजी क्षेत्रको महत्त्व बुझेर सहजीकरण गर्न चाहिरहेका छैनन् । यसमा सुधार हुनु पहिलो सर्त हो ।
अर्थतन्त्रलाई गतिशील बनाउन मुलुकमा सुशासनको प्रत्याभूति अर्को महत्वपूर्ण सर्त हो । सरकारले यसमा पहल गरिरहेको पनि देखिन्छ । तर नतिजा आउन सकेको छैन । कुनै व्यवसाय दर्ता गर्न पाँचदेखि सात ठाउँमा धाउनुपर्छ । सरकारी काममा प्रक्रियागत झण्झटहरु पट्यारलाग्दा छन् ।
सरकारलाई पैसा कर बुझाउँछु भन्दा पनि अनावश्यक झन्झट बेहोर्नुपर्छ । सर्वसाधारणले पाउने सेवा सहज छैन । यसलाई अभियानकै रूपमा सुधार गर्नुपर्छ । पत्रकारहरूले पनि निजी क्षेत्रले काम गर्न पाउने वातावरणका बारे आफ्नो धारणा बनाउनुपर्छ । निजी लगानी आवश्यक छ कि छैन भन्ने विषयमा अन्तिम टुंगो लगाउनैपर्छ । नाफा कमाउन अपराध हो कि होइन भन्नेमा पनि अन्तिम टुंगो लगाउनैपर्छ ।
अब सबैल सोच्नपर्ने बेला भैसक्यो, हामी कहिलेसम्म गरिबीमै बाँच्ने ? यस विषयमा ुबै सरोकारवालाहरु संवेदनशील बन्नैपर्छ । हाम्रा पूर्वाधारहरू कहिलेसम्म यही अवस्थामा रहने हुन् ? सरकारले पुँजीगत खर्च गर्न सक्दैन, यो अवस्थामा निजी क्षेत्रले पूर्वाधार लगायतमा लगानी गर्न पाउने कि नपाउने ? पाउने हो भने त्यसको सुरक्षा कसले गरिदिन्छ ? नीति–नियमले साथ दिनुपर्छ कि पर्दैन ? आर्थिक मुद्यामा सबै दल एकै हुनुपर्छ र यो आवश्यक पनि छ ।
के निजी लगानीविना तीव्रविकास सम्भव छ ? सञ्चारकर्मी र आम सर्वसाधारणले पनि यो विषयमा प्रस्ट हुनुपर्छ । निजी क्षेत्रका गतिविधिलाई प्रवद्र्धन गरिदिनुपर्छ । निजी क्षेत्र मुलुकको आवश्यकता हो भने त्यसको विस्तारमा सरकारले खुलेर सहयोग गर्नुपर्छ ।
अख्तियार लगायत निकायको भूमिका निजी क्षेत्रमा रहने कि नरहने भन्ने विषय प्रस्ट हुनुपर्छ । नियमन मात्रै गर्ने, डर त्रास मात्रै देखाउने हो भने लगानीकर्ताले सोच्ने नै छन् । उद्यमी व्यवसायीमा पनि स्वच्छ र स्वस्थ व्यवसायलाई प्रवद्र्धन गरौँ भन्ने भावना जागृत हुन जरुरी छ । उपभोक्ताप्रति जिम्मेवार व्यवसायलाई सबैले बढावा दिनुपर्छ । यसतर्फ यदि केही कमी कमजोरी छन् भने सुधार गर्नुपर्छ ।
प्रतिक्रिया