काठमाडौं – नेपाल सबैभन्दा चाडपर्व मनाउने मुलुकमा पर्दछ । हिन्दू बाहुल्य जनसंख्याको कारण पनि नेपाली समाजमा मनाएने हरेक पपर्वहरुमा फूलको प्रयोग हुने गर्दछ । आयातित संस्कृति र व्यावसायीकरण्का कारण फूलको विकल्पमा प्लाष्टिक जन्य कृत्रिम फूलहरुको प्रयोग पनि बढ्न थालेको थियो । सजिलोको नाममा व्यापारीहरुले फूलको प्रयोगलाई महत्व नदिंदा स्थानीय किसानहरुले उत्पादन गरेको फूलले बजार पाउन सकिरहेको थिएन ।
समयक्रममा अहिले उक्त धारणा र व्यवहारमा केही परिवर्तनहरु देखापर्न थालेका छन् । आजभोली स्थानीय तहहरुले प्लाष्टिकको मालामा रोक लगाउँदै फूलको मालालाई प्रोत्साहन गर्ने कार्यक्रम घोषणा गरिरहेका छन् । काठमाडौं, भरतपुरजस्ता जस्ता ठूलो संख्यामा उपभोक्ता रहेका महानगरपालिकालगायत देशका अधिकांश स्थानीय तहले फूलको मालालाई प्रोत्साहन गर्न मूल्य निर्धारणदेखि बिक्री केन्द्र तोक्ने काम गरेका छन् । फूलको सौन्दर्य बयान गरी साध्य हुँदैन, फूलको बजार ब्यवस्थापनमा त्यत्तिकै सुन्दर काम गरेका छन् यसपटक स्थानीय तहहरुले । मानव स्वास्थ्य र किसानको आयआर्जन दुबै कोणबाट स्थानीय तहहरुले थालेको यो पहलकदमी निकै महत्वपूर्ण छ । यसलाई संघीयताको सुन्दर पक्ष भन्दा पनि अन्यथा हुँदैन ।
फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार यस वर्ष सयपत्री फूलको माग १४ दशमलव २९ प्रतिशत बृद्धि भएको छ । अघिल्लो वर्ष तिहारमा करिब ३५ लाख व्यावसायिक सयपत्री फूलको खपत भएकोमा यो वर्ष यो संख्या ४० लाख पुग्ने अनुमान गरिएको छ । सयपत्री फूल नपुग भएमा त्यसलाई मखमली र गोदावरी लगायतको फूलबाट पूर्ति गर्ने तयारी गरिएको छ । अहिले भारतबाट खुल्लम खुला आयात गर्न नपाइने प्रावधान भए पनि अवैध आयात रोकिएको छैन । यसलाई रोक्न सबै सरोकारवाला लाग्नुपर्छ र मूख्यतः यसमा पनि स्थानीय तहले नै अनुगमन प्रभावकारी बनाउनुपर्छ किनकि बजार ब्यवस्थापनको मुख्य जिम्मा स्थानीय सरकारकै हो ।
हामीले मनाउने चाडपर्वको धार्मिक सांस्कृतिक मात्र नभएर आर्थिक महत्व पनि रहेको हुन्छ भन्ने कुरालाई ध्यान दिन जरुरी छ । सम्बद्ध सरोकारवाला पक्षले अझै हामीले मनाउने पर्वहरुका अर्थतन्त्रलाई ध्यान दिन सकिरहेका छैनौं । जनै पूर्णिमामा हिन्दुहरुले मात्र लगाउन जनै पनि चीनबाट आयात हुने अवस्थाले नेपालीहरु कति परनिर्भर भएका रहेछन् भन्ने देखाउँछ । दैनिक उपभोग्य वस्तु र आधारभूत आवश्यकताका सामग्री मात्र होइन, धार्मिक सांस्कृतिक पर्वका सामग्रीमा पनि नेपालीहरुको परनिर्भरता बढ्नु दुर्भाग्य नै मान्नु पर्दछ । नेपाल कृषिप्रधान देश हुनु र यहाँका अधिकांश चाडपर्वहरु कृषि र प्रकृतिसँगै जोडिने गरेकाले हामीले आफ्नै उत्पादनबाट चाडपर्व मनाउन सकियो भने अर्थतन्त्र र संस्कृति दुबै हिसाबले हामी थप मौलिक र आत्मनिर्भर हुँदै जाने छौं । त्यसैले फूलको मालाको प्रयोगलाई प्रोत्साहन गर्न समयको माग भैसकेको छ । यस अभियानले आत्मनिर्भरताको पक्षलाई अझ बलियो बनाउनेछ ।
प्रतिक्रिया