काठमाडौं -अमेरिकाको ४७ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएपछि विश्वव्यापी रुपमै विभिन्न अनुमानहरु गर्न थालिएको छ । उनको पहिलो कार्यकाल पनि विभिन्न विवादहरुका बीच सम्पन्न भएको थियो । उनीमाथि विभिन्न अदालतहरुमा अहिले पनि मुद्धाहरु विचाराधिन छन् । उनी कट्टर राष्ट्रवादीको रुपमा चिनिन्छन् । विश्व अर्थतन्त्रमा पनि उनको जितले ठूलो उतारचढाव ल्याउने विश्लेषण हसन थालेको छ । उनको जितसँगै अमेरिकी डलरको भाउ बलियो भएर सुनको मूल्य अन्तराष्टिय बजारमा ह्वात्तै घटेको छ । विश्लेषकहरु ट्रम्प २०२० मा आफ्नो पहिलो कार्यकाल सकिएकै बिन्दुबाट अघि बढ्ने ठान्छन्।
उनले आफ्नो पहिलो कार्यकालको चुनाव अघि मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माण गर्ने घोषणा गरेका थिए । जुन बजेट अभावका कारण उनले पुरा गर्न सकेनन् । चुनावी अभियानका समयमा गरिएको पर्खाल निर्माण अघि बढाउने प्रतिबद्धतालाई उनले यसपाली कायम राख्ने ठानिएको छ।
राष्ट्रपति ट्रम्पको अर्को चर्चित घोषणा गैरकानुनी आप्रवासीलाई सामूहिक देश निकाला गर्ने हो । यही कार्यकालमा उनले अमेरिकामा बस्न कानुनी रूपमा अनुमति नपाएका व्यक्तिहरूलाई सामूहिक देशनिकाला गर्नका लागि कंग्रेसको समर्थन खोज्ने सम्भावना छ।
विज्ञहरूले ठूलो स्तरमा आप्रवासीहरूलाई देश निकाला गर्नु खर्चिलो हुने र त्यसको कार्यान्वयन गर्न कठिन हुने बताइरहेका छन्।
उनीहरूले कागजातविहीन आप्रवासीले प्रमुख भूमिका खेल्ने अर्थतन्त्रका निश्चित क्षेत्रमा पनि त्यसले असर पार्ने धारणा राखिरहेका छन्।
राष्ट्रपति पदको उम्मेदवारको मनोनयन स्वीकार गर्दा ट्रम्पले ‘भयावह मुद्रास्फीतिको सङ्कट तत्कालै समाधान गर्ने, ब्याजदरहरू घटाउने र ऊर्जाको मूल्य कम गर्ने’ वाचा गरेका थिए।
सन् २०१७ मा आफूले कार्यान्वयनमा ल्याएको तर अर्को वर्ष समाप्त हुन लागेको खर्च कटौतीलाई उनी विस्तार गर्न चाहन्छन्। त्यो दशकौँ यताको सबैभन्दा ठूलो कर पुनर्संरचना रहेको थियो जसले करका ‘कोड’ लाई सरलीकरण गर्ने अनि वृद्धि एवं लगानीलाई विस्तार गर्ने लक्ष्य राखेको थियो।
सबैभन्दा ठूलो छुट व्यवसायी र धनीहरूले पाएका थिए र त्यो उल्टाउन डेमोक्र्याटहरूमाथि दबाब परिरहेको थियो।
ट्रम्पले कर्पोरेट दरलाई अझ घटाएर १५ प्रतिशतमा कायम राख्ने र टिप्स र अवकाशप्राप्त व्यक्तिहरूलाई दिने सामाजिक सुरक्षा भुक्तानीको कर हटाउने अपेक्षा गरिएको छ।
ट्रम्पको पहिलो कार्यकालमा चीन अमेरिका व्यापार युद्ध सुरु भएको थियो । अहिले चलिरहेको रुस–युक्रेन युद्धलाई पनि उनको जितले प्रभाव पार्ने आँकलन गरिएको छ । उनी यो युद्धको पक्षमा थिएनन् । बरु उनले राष्ट्रपति बाइडेनले युक्रेनलाई युद्धमा लाग्न उ्रक्साएको सार्वजनिक रुपमै आरोप लगाउँदै आएका छन् ।
अहिले उनी थप तेल उत्खनन गर्न चाहन्छन् किनभने त्यसको उच्च मूल्यका कारण मुद्रास्फीति भएको उनको बुझाइ छ। त्यसो गर्दा ऊर्जाको मूल्य घट्ने भनिएको भएपनि विश्लेषकहरूले आशङ्का व्यक्त गर्ने गरेका छन्।
उनले लिएका नीतिहरुका कारण अमेरिकी उपभोक्ताहरुले उच्च मूल्य तिर्न बाध्य बनाउने चेतावनी दिइएको छ । किनकी ट्रम्पले विदेशबाट आउने अधिकांश सामाग्रीमा १० देखी २० प्रतिशत कर लगाउने योजना रहेको बताएका छन्। चीनबाट आयात गरिने सामानहरूमा ६० प्रतिशत कर लगाउने योजना छ।
आफ्नो पहिलो कार्यकालमा ट्रम्पले बेइजिङसँग व्यापार युद्धु सुरु गरेका थिए। त्यसबेला उनले चीनले अनुपयुक्त व्यापार अभ्यास गरेको र बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लगाएका थिए।तर त्यो बेला क्यापिटल हिलमा नयाँ व्यक्तिका रूपमा ट्रम्प कंग्रेसको कार्यशैलीप्रति जानकार नरहेका जस्ता देखिएको र कंग्रेसमा रहेको बहुमत अनि ह्वाइट हाउसमा रहेको रिपब्लिकन लाभको प्रयोग प्रमुख नीतिगत जीतका लागि गर्न नसकेको विश्लेषकहरूले बताउने गरेका छन्।
उनको जितले विश्व राजनीतिको शक्ति सन्तुलनमा पनि फरक खालको स्थिति पैदा हुने देखिएको छ । उनले विगतमा उत्तर कोरियाका नेता किम जोङ्ग उनसँग भेटवार्ता गरेका थिए । जसले अमेरिका आफ्नो परम्परागत विदेश नीतिलाई परिमार्जन गर्न चाहिरहेको छ भन्ने सन्देश दिएको थियो । अमेरिका फस्ट भन्ने उनको नाराले अमेरिकी समाजलाई निकै आकर्षित गरिरहेको छ । उनको कार्यकालमा अमेरिका बाह्य मामिलाभन्दा आन्तरिक अवस्थाको सुधारमा केन्द्रित हुन्छ भन्ने विश्लेषकहरुको अनुमान छ ।
प्रतिक्रिया