सरकारले प्रतिशोध साँधेको भन्दै रविको पक्षमा उत्रियो माओवादी

मंगलबार, २५ मंसिर २०८१, १२ : ३०

काठमाडौं- सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा नेकपा(माओवादी केन्द्र) उभिएको छ । 

रविलाई गैरन्यायिक ढंगले गत बुधबार चितवनबाट मध्यरातमा पोखरा लगिएको भन्दै माओवादीले त्यसप्रति आपत्ति जनाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामिछानेलाई चितवनबाट रातारात पोखरा लगिएको घटनालाई निरंकुश, अलोकतान्त्रिक र  प्रतिशोधपूर्ण व्यवहार भन्दै सामाजिक सञ्जालमार्फत निन्दा गरेका छन् ।

उनले लेखेका छन्, ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु। त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु।’

यस्तै अर्का पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि रविको पक्राउलाई भेदभावपूर्ण व्यवहारको संज्ञा दिएका छन् । उनले कांग्रेस, एमालेका नेताहरुलाई जोगाएर रविलाई राजनीतिक प्रतिशोधपूर्ण तवरले पक्राउ गरिएको टिप्पणी गरेका छन् । 

यो पनि पढ्नुस्

प्रहरी प्रमुख कुँवरमाथि नैतिक प्रश्न : पहिले रवि निर्दोष रहेको दाबी, अहिले उजुरीका चाङ

उनले आफू देशबाहिर रहेको जनाउँदै सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘रवि लामिछाने लाई चितवनबाट पोखरा लैजाने सन्दर्भमा अपमानजनक प्रतिशोधपूर्ण दुर्व्यवहार भएको भन्ने खबर सुन्नु पर्दा ज्यादै दुःख लागेको छ ।यो सत्य हो भने म यसको कडा विरोध एवं भर्त्सना गर्दछु र यसप्रकारको गैरकानुनी ,मानवअधिकार विरोधी ,अपमानजनक तथा प्रतिशोशपूर्ण दुर्व्यवहार तत्काल रोक्न सरकारसँग जोडदार माग गर्दछु । ’

कात्तिक २ गते पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई त्यतैबाट देशका विभिन्न स्थानका सहकारीको रकम अपचलनको अनुसन्धान गर्न लगिने क्रम जारी छ ।

यही क्रममा गत बुधबार चितवनबाट लामिछानेलाई रातारात प्रहरीले आरामै गर्न नदिई पोखरा पुर्याएको थियो । लामिछानेको मानवअधिकार हनन भएको बताउँदै न्यायिक निकायले यसबारेमा छानबिन समेत गर्न लागेका छन् ।

यो पनि पढ्नुस्

माओवादी-रास्वपाको अघोषित सहकार्य, दुबै पार्टीमा असन्तुष्टि

सत्तामा रहेका सबै दलले लामिछाने पक्राउप्रति कुनै प्रतिक्रिया जनाएका छैनन् । तर प्रतिपक्षी माओवादी केन्द्रले भने हिरासत रहेका रवि प्रति पटक पटक सहानुभूति प्रकट गर्दै आइरहेको छ । 

गत स्थानीय तह उपनिर्वाचनको अघिल्लो दिन पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रवि लगायत अन्य नयाँ र स्वतन्त्र जननिर्वाचित प्रतिनिधि लक्षित अभिव्यक्ति दिएका थिए । 

प्रचण्डले नयाँ दल र स्वतन्त्र जनप्रतिनिधिहरुलाई लोकतन्त्रको बगैंचामा फूलेका सुन्दर फूलको उपमा दिएका थिए । प्रचण्डले लोकतन्त्रको बगैंचामा फूलेका नयाँ फूलाई फक्रन दिनुपर्ने बताएका थिए ।

मंगलबार, २५ मंसिर २०८१, १२ : ३०

प्रतिक्रिया