काठमाडौं- सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा पुगेका रास्वपाका सभापति रवि लामिछानेका एक पछि अर्को काण्ड बाहिरिने क्रम जारी छ । पत्नी निकिता पौडेलको नाममा रविले आयस्रोत नखुलेका रकम जम्मा गरिदिएको विवरण यस अघि पनि सार्वजनिक भएको थियो ।
रविले कालिकोटको रास्कोटमा अस्पताल बनाउने अभियान थालेर आर्थिक सहयोगका लागि सार्वजनिक रुपमा आह्वान गरी संकलित रकम पनि निकिताको खातामा जम्मा गरिएको पाइएको छ । आफ्नो नाममा फाउन्डेशन खोलेर सो बापत जम्मा भएको रकम पनि रविले आफ्नै श्रीमती निकिताको बैंक खातामा जम्मा गरेको विवरण सार्वजनिक भएको हो ।
त्यसबाहेक अस्पताल निर्माणका लागि उनले विभिन्न तहका सरकारसँग अनुदान पनि लिएको देखिएको छ । यस अघि गत आम निर्वाचनको समयमा अमेरिकाबाट स्रोत बिनाका करोडौं रकम रवि र निकिता दम्पतिको खातामा भित्रिएको विषय पनि बाहिरिएको थियो ।
प्राप्त विवरण अनुसार चुनावको बेला अस्वभाविक तवरले निकिताको विभिन्न बैंकका खातामा करोडौं रकम भित्रिएको थियो । ती आयस्रोत नखुलेर आएका रकमको विषयमा अनुसन्धान जारी रहेको प्रहरी स्रोतले बताएको छ ।
कात्तिक २ गते सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ । अमेरिकाको स्थायी बसोबास छाडेर नेपाल आएका लामिछानेले त्यहाँकी श्रीमतीलाई छाडेर निकितासँग बिहे गरेका हुन् ।
चलचित्र विकास बोर्डकी पूर्वअध्यक्ष समेत रहेकी पत्नि निकिताको खातामा स्रोत बिना जम्मा भएका रकम र रविको अस्वभाविक आर्थिक आम्दानी देखिएकै आधारमा उनीमाथि सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सत्य साई सहकारीको रकम अपचलनबारे काठमाडौं महानगरले तयार पारेको अध्ययन प्रतिवेदनमा यिनै निकिताको संलग्नता रहेको खुलाइएको छ । यी दुईको बिहेको खर्च समेत यही सहकारीबाटै रकम लिएर गरेको विषय पनि सार्वजनिक भएको थियो ।
उक्त सहकारीको तत्कालीन अध्यक्ष रहेका भरत जंगमले निकिता उपाध्यक्ष हुँदा उनले आफ्नो बिहेका लागि ५० लाख लगेको र सो रकम फिर्ता गरिसकेको बताउँदै आएका छन् । यद्यपि सहकारीको उपाध्यक्ष रहँदा ४ करोड बढी रकम अपचनमा निकिताको संलग्नता रहेको महानगरको प्रतिवेदनमा जनाइएको छ ।
प्रतिक्रिया