काठमाडाैं- पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले गर्दा नेपालमा मौसममा क्रमिक परिवर्तन सुरु भएको छ। सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा भएको बदली विस्तारै देशका अन्य भागहरूमा फैलिँदै गएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यो प्रणालीले देशभर आंशिकदेखि पूर्ण बदलीको अवस्था सिर्जना गरेको छ।
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार सोमबार साँझ सुदूरपश्चिममा देखिएको बदली कर्णाली प्रदेशसम्म फैलिसकेको छ भने आज रातिसम्म गण्डकी र लुम्बिनी प्रदेशमा पनि प्रभाव देखिनेछ। माथिल्लो भागतर्फ सर्दै गर्दा प्रणाली केही कमजोर भए पनि हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहनेछ।
आज दिनभर आंशिकदेखि पूर्ण बदली रहने र बुधबारबाट बदली क्रमशः कम हुने अपेक्षा गरिएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकोले यात्रु तथा स्थानिय बासिन्दालाई सतर्क रहन सुझाव दिइएको छ। अन्य थोरै क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको छ भने अधिकांश तराई क्षेत्रका भूभागमा चिसो हावा चल्ने सम्भावना छ।
महाशाखाले जारी गरेको विवरणअनुसार, पश्चिमी वायुले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशका मौसमलाई प्रत्यक्ष प्रभाव पारेको छ। हाल सुदूरपश्चिममा साधारण बदली, कोशी, बागमती र मधेस प्रदेशमा आंशिक बदली रहेको छ भने अन्य क्षेत्रको मौसम प्रायः सफा देखिएको छ। तर, आगामी २४ घण्टामा बागमती र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा हुनसक्ने अनुमान गरिएको छ।
पश्चिमी प्रणालीको आगमनसँगै देशभर चिसोको मात्रा पुनः बढ्न थालेको छ। मङ्सिर अन्तिम सातामा चिसो अत्यधिक बढेपछि केहि दिन सामान्य स्थिर रहेकाे तापक्रम सोमबारदेखि फेरि घट्न थालेको महाशाखाले जनाएको छ।
हाल काठमाडौँको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस रहेको छ, जुन पुस ४ गतेको ४.८ डिग्रीको तुलनामा कम हो। जुम्लाको तापक्रम माइनस ७.८ डिग्री सेल्सियसमा झरेको छ, जुन यसअघि माइनस ७.२ डिग्री थियो। अन्य क्षेत्रहरूको न्यूनतम तापक्रममा पनि गिरावट जारी छ।
चिसोले जनजीवन प्रभावित गर्न सक्ने सम्भावना रहेकोले विशेषतः वृद्ध, बालबालिका र शारीरिक रूपमा कमजोर व्यक्तिहरूलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्ने यात्रुहरूलाई हिमपात र चिसो हावा ध्यानमा राखी आवश्यक तयारीसहित यात्रा गर्न आग्रह गरिएको छ।
समग्रमा, पश्चिमी प्रणालीले देशभरको मौसमी गतिविधिलाई प्रभावित पार्दै चिसो बढाउनेछ भने थोरै स्थानहरूमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ।
प्रतिक्रिया