स्वदेशी पुँजीमै ठुला परियोजनामा लगानी गर्ने क्षमता बढेको छ : ढकाल

मंगलबार, ०९ पुस २०८१, १७ : १३

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रतिफल दिने स्थानीय आयोजना तथा उद्यम विकासमा अव लगानीको अभाव झेल्नुपर्ने अवस्था नरहने बताएका छन्  ।

आज तनहुँको भानु नगर  महोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले स्वदेशी पुँजी परिचालनलाई महत्त्व दिंदै १० अर्ब पुँजीको लगानी  कम्पनी समेत स्थापना भएको जानकारी गराउँदै लगानी परियोजना प्रस्ताव गर्न आग्रह गरे ।

नेपालको पर्यटन, ऊर्जा,सूचना प्रविधि र कृषि उत्पादनका क्षेत्रमा अवसर नै अवसर भएकाले लगानीका लागि वित्तीय प्रबन्ध  जुटाउन तथा साझेदारी गर्न नयाँ कम्पनी बनेकाले यसबाट फाइदा लिन पनि स्थानीय उद्योगीहरूलाई आग्रह गरेका थिए । महासंघको आग्रहमा नेपाल सरकारले लगानीमा अवरोध हुने ठानिएका कानुन सुधार गरिरहेकाले पनि लगानीका लागि उपयुक्त अवसर सृजना भइरहेको अध्यक्ष ढकालले बताए ।

पर्यटक आगमन बढिरहेको, रेमिटेन्स मार्फत वैदेशिक मुद्रा पर्याप्त रहेको तथा बैंकिङ क्षेत्रमा पर्याप्त तरलता र ब्याजदर पनि सन्तुलित भइरहेकाले लगानीका लागि उपयुक्त समय आएको पनि अध्यक्ष ढकालको भनाइ थियो ।

भानुभक्त आचार्यको जन्मस्थललाई उत्कृष्ट पर्यटकीय गन्तव्य स्थल बनाउन  र स्थानीय उत्पादनको प्रवर्द्धनमा भइरहेका प्रयासमा साथ दिइरहेको बताउँदै अध्यक्ष ढकालले भानु नगरलाई शुभकामना समेत व्यक्त गरे ।

 

 

 

 

 

मंगलबार, ०९ पुस २०८१, १७ : १३

प्रतिक्रिया