काठमाडौं- हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव सक्रिय रहेको छ। यसको कारणले गर्दा देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीसँगै मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
आज दिउँसो कोशी, गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ। पहाडी भूभागमा मौसम आंशिक बदली हुँदै सामान्यतया सफा रहने संकेत गरिएको छ। विशेष गरी गण्डकी प्रदेशका केही हिमाली क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहने र एक-दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ।
देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना कायम छ भने बिहानको समयमा तराई र उपत्यकाका केही भूभागमा कुहिरो लाग्न सक्ने अनुमान गरिएको छ। यसले दैनिक जनजीवन, स्वास्थ्य, यातायात र हवाई उड्डयन क्षेत्रमा आंशिक प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि देशभर पुनः मौसम बदली हुने र केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ। मौसमविद्हरूका अनुसार यो प्रणाली शनिबारसम्म सक्रिय रहनेछ।
महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार हाल पश्चिमी वायु र न्यूनचापीय प्रणालीको प्रभावले देशभर बदली गराउनुका साथै कतिपय स्थानहरूमा वर्षा गराउनेछ। नयाँ मौसमी प्रणालीको प्रवेशले शुक्रबारदेखि बदली बढ्ने र वर्षा हुने संकेत छ।
पुसे झरीको कारण जाडो क्रमशः बढ्ने र तापक्रम घट्दै जानेछ। मौसमविद्का अनुसार अंग्रेजी जनवरी महिना वर्षकै सबैभन्दा चिसो समय मानिन्छ। माघको दोस्रो र तेस्रो सातापछि दिन लम्बिंदै तापक्रममा थोरै वृद्धि हुने अपेक्षा गरिएको छ। हालको स्थितिमा चिसोबाट बच्न सतर्क रहन मौसमविद्हरूले सुझाव दिएका छन्।
प्रतिक्रिया