काठमाडौं - नेपाल एप्लाइड म्याथेमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्युट (NAAMII) ले बुधवार एनुअल नेपाल एआई स्कुल (ANAIS) को आयोजना गर्ने घोषणा गरेको छ ।
बुधवार राजधानीमा पत्रकार सम्मेलन गर्दै शैक्षिक कार्यक्रमको आयोजना गर्ने भएको हो । यो ११ दिने शैक्षिक कार्यक्रम यस वर्ष पौष १२ देखि २२ गतेसम्म आयोजना हुनेछ । यो प्रतिष्ठित कार्यक्रमको पाचौं संस्करण आर्टिफिसियल एन्टिलिजेन्स्को आधार र कार्यान्वयनहरूमा केन्द्रित छ ।
संसारभरबाट वैज्ञानिक, प्राध्यापक, र सहभागीहरूलाई एआईसम्बन्धी गहन व्याख्यान, प्रयोगशाला, र परियोजना कार्यका लागि एकै ठाउँमा ल्याउने (एनुअल नेपाल एआई स्कुल) ANAIS दक्षिण एसियाकै सबैभन्दा ठुलो र सबैभन्दा पृथक मञ्च हो । ANAIS का अनुसार यो NAAMII ले आधारभूतदेखि आधुनिक विचार र विधिहरूसम्मका विषयवस्तु तथा अनुप्रयोगहरूलाई समेट्नेछ ।
कार्यक्रम ललितपुरको खुमलटारस्थित प्रिमियर इन्टरनेशनल स्कूलमा आयोजना हुँदै छ । यस कार्यक्रममा कम्प्युटर विज्ञानका स्नातक, स्नातकोत्तर, र पीएचडी तहका २०० विद्यार्थी तथा एआई क्षेत्रमा काम गर्ने प्रोफेस्नलहरू सहभागी हुन सक्नेछन् । विगत चार संस्करणमा ४० भन्दा बढी देशका ५५० भन्दा बढी विद्यार्थीहरूले यस कार्यक्रममा भाग लिएका छन्।
“सानो ठाउँबाट ठुला परिवर्तन आउन सक्छ,” भन्ने मान्यतामा आधारित यस वर्षको एआई स्कुलले नेपाली र अन्तर्राष्ट्रिय विद्यार्थी तथा एआई अभ्यासकर्ताहरूलाई विश्व स्तरमा भइरहेको अत्याधुनिक विकाससँग परिचित गराउने लक्ष्य राखेको छ । विश्वभरका २५ जना वैज्ञानिक र प्राध्यापकहरूले तीन मुख्य क्षेत्र – Geometric Deep Learning, Foundational Models and Application, / Modern Practices मा भौतिक कक्षाहरू सञ्चालन गर्नेछन् ।
नामीका निर्देशक तथा अनुसन्धान वैज्ञानिक विशेष खनालका अनुसार यो कार्यक्रम दक्षिण एशियामा उत्कृष्ट अन्तर्राष्ट्रिय विशेषज्ञहरूबाट सिक्ने र अन्तरक्रिया गर्ने सुनौलो अवसर हो । उनले भने, “नेपालमा एआईको उपयोग गर्ने सरकारको योजना र एआई नीतिको तयारी भइरहेको अवस्थामा, यो कार्यक्रमले आवश्यक छलफल सिर्जना गर्न र नेपालमा एआई विशेषज्ञता निर्माण गर्न मद्दत पुर्याउनेछ ।”
नामीका एजुकेशन आउटरीच प्रमुख अलोक खत्री भन्छन्, “ ANAIS ले केवल शिक्षा मात्र प्रदान गर्दैन । ११ दिनसम्म विश्व स्तरीय विशेषज्ञहरूसँग सिक्ने, व्यावहारिक कार्यशालामा भाग लिने, र आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्ने अवसर पनि यहाँ प्राप्त हुन्छ।”
यस कार्यक्रमलाई सफल बनाउन एफवन सफ्ट, इसेवा, फोनेपे, यूके इन्टरनेशनल डेभलपमेन्ट, एशिया फाउन्डेसन, डाटा फर डेभलपमेन्ट इन नेपाललगायतका साझेदारहरूको साझेदारी प्राप्त भएको छ । साथै, यंग इनोभेसन्स, सेक्युरिटीपल, गुगल, र फ्युजमेसिन्स पनि मुख्य समर्थनकर्ता रहेका छन् ।
प्रतिक्रिया