बैंकमा थुप्रियो तरलता, बजारमा लगानीको अभाव

आइतबार, २८ पुस २०८१, १४ : ०१

काठमाडौं - देशमै केही गर्न चाहनेहरुका लागि लगानी गर्ने आर्थिक हैसियत नभएर विदेश पलाएन हुने प्रवृत्ति बढीरहेको छ । ऋण लिने प्रक्रिया अति झण्झटिलो छ भने अर्कोतिर जायजेथा धितो राख्नपर्ने प्रावधानले न्युन आय भएकाहरुका लागि लगानी गर्ने अवस्था छैन । अर्कोतिर बैंकमा लगानीयोग्य रकम थुप्रिएको कारण तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई हम्मे हम्मे परेको छ । आजै मात्र बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता प्रशोचन गर्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आज आइतबार ४० अर्ब बराबर तरलता खिचेको छ ।

राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष सुरुवातबाट नै केन्द्रीय बैंकले निरन्तर तरलता खिच्दै आएको छ । बजारमा जहिले पनि पैंसाको अभाव भैरहने तर बैंकहरुमा पैंसा थुप्रिरहने अवस्थाको अन्त्य नभएसम्म अर्थतन्त्रमा कुनै सुधार आउने छैन । 

निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत पनि तरलता खिचिरहेको छ । आइतबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ–ब्याज २० माघमा भुक्तानी हुनेछ । वारम्बार तरलता व्यवस्थापन गर्न बैंकहरुबाट रकम खिच्नपर्ने अवस्था किन सिर्जना भैरहेको छ ? मुलुकमा लगानीको बातावरण बनाउने र आर्थिक गपितविधि बढाउन सरकारले किन ठोस पहलकदमी गर्न सकिरहेको छैन ?

सरकारका मन्त्रीहरु भने दिनहुँजसो अर्थतन्त्रमा सुधार आएको भनेर भाषण गरिरहन्छन् । प्रधानमन्त्रीले सुशासन र आर्थिक समृद्धीको कुरा नगरेको दिनै हुँदैन । तर जनताको हालत भने बेहाल हुँदै गएको छ । मानिसहरु दैनिक हजारौंको संख्यामा रोजगारी नपाएर देश छोडिरहेका छन् । नागरिकको दैनिक जीवनमा सकारात्मक प्रभाव नपरेसम्म समृद्धीको कुरा केवल फाल्तु गफ मात्र हुन्छ भन्ने सबैले बुझ्न जरुरी छ । 

आइतबार, २८ पुस २०८१, १४ : ०१

प्रतिक्रिया