काठमाडौं- भारतको राजधानी दिल्लीमा जारी भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ (बीएमजीई)ले यसपटक प्रविधिमा नयाँ क्रान्ति ल्याएको छ। बेंगलुरुस्थित एयरोस्पेस स्टार्टअप सरला एभिएसनले एक्सपोमा आफ्नो प्रोटोटाइप एयर ट्याक्सी ‘शून्य’ प्रदर्शन गर्दै सहरी हवाई यातायातको नयाँ आयाम प्रस्तुत गरेको छ।
शून्य एक ई–भीटीओएल (इलेक्ट्रिक भर्टिकल टेक–अफ एन्ड ल्यान्डिङ) प्रविधिमा आधारित एयर ट्याक्सी हो, जसले केही मिनेटमै सयौं किलोमिटर दूरी तय गर्न सक्छ। यो गाडी विशेष गरी ट्राफिक जामले भरिएका महानगरहरूका लागि उपयोगी हुनेछ। सरला एभिएसनले सन् २०२८ सम्म बेंगलुरुबाट पहिलो फ्लाइङ ट्याक्सी सेवा सुरु गर्ने योजना बनाएको छ।
सरला एभिएसनका अनुसार यो एयर ट्याक्सीले २५० किलोमिटर प्रतिघन्टाको गतिमा उड्न सक्नेछ र १६० किलोमिटर दूरी तय गर्न सक्षम हुनेछ। ६ जना यात्रु र एक चालकसहित ६८० किलोग्राम भार बोक्न सक्ने यो गाडी ई–भीटीओएल सवारीसाधन भएकाले ठूलो धावनमार्गको आवश्यकता पर्दैन। यसले आफ्नो स्थानबाट सिधै हावामा उडान भर्न सक्नेछ।
यो एयर ट्याक्सी अत्याधुनिक क्याबिन सुविधा र प्रविधिले सुसज्जित छ। ६–सिटर र ४–सिटर कन्फिगरेसनका साथै यसलाई कार्गोका रूपमा पनि प्रयोग गर्न सकिन्छ। सहरी हवाई यातायातमा क्रान्ति ल्याउने यो परियोजनामा सरला एभिएसनले हालै सिरिज ए कोषमार्फत १० मिलियन अमेरिकी डलर जुटाएको छ।
कम्पनीको नाम भारतकै पहिलो महिला पाइलट सरला ठकरालको नाममा राखिएको हो, जसले सन् १९३६ मा पाइलटको लाइसेन्स प्राप्त गरेर इतिहास रचेकी थिइन्। सरला एभिएसनका सहसंस्थापक र सीईओ एड्रियन श्मिटका अनुसार यो परियोजना ट्राफिक जाम र प्रदूषणजस्ता चुनौती समाधान गर्दै भारतको आर्थिक सम्भावना अनलक गर्न लक्ष्यित छ।
यस एयर ट्याक्सीले सहरी यात्रामा लाग्ने समयलाई उल्लेखनीय रूपमा घटाउने विश्वास गरिएको छ। बेंगलुरुबाट सेवा सुरु गरेपछि मुम्बई, दिल्ली, र पुणे जस्ता सहरमा यसको विस्तार गरिनेछ। सरला एभिएसनको प्रयासले भारतमा सहरी हवाई यातायातको नयाँ युग सुरु गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया