काठमाडौं - राजनीतिक स्थायीत्वसँगै आर्थिक विकासको गतिलाई तीब्रता दिने घोषणाकासाथ बनेको सरकारको छ महिना बित्न पुरा हुँदा पनि सकारात्मक परिस्थिति बनेको छैन । सरकारले जति ठूला ठूला गफ दिए पनि आर्थिक सुधारका संकेतहरू भने नकारात्मकरूपमा प्रकट भइरहेका छन् ।
आर्थिक वर्षको प्रारम्भदेखि नै सरकार चलाउन पाएको अवस्था वास्तवमा सरकारका लागि एउटा मौका पनि थियो। तर के कारणले हो यसले खासगरी अर्थतन्त्रमा सोचे सरकारले बाचा गरेजसरी सुधार गर्न भने सकेको देखिएन । यो कुनै आरोप होइन । जुनजुन कुराले देशको आर्थिक अवस्था ठीक ढंगले चलेको छैन भन्ने सूचना दिन्छन् ती–ती कुरा बढीरूपमा प्रकट भइरहेका छन् । जस्तो आम्दानी बढ्न सकेको छैन । सामान्य खर्च चलाउन पनि ऋण काढ्नुपर्ने अवस्था छ । मुद्रास्फीति बढिरहेको छ । देशको बन्द व्यापार मन्द अवस्थामा नै छ । बैंकमा रकम थुप्रिएको छ तर लगानी भएको छैन । भएको लगानी पनि खराब कर्जामा परिणत हँुदैछन् । यसकै कारण वित्तीय संस्थाहरूको नोक्सानी बढिरहेको छ ।
आर्थिक विकासका लागि यी संंकेत राम्रा होइनन् । अर्थसँग सम्बन्धित बितेको छ महिनाको सूचनामा बैंकहरूको खराब कर्जामा अधिक वृद्धि हुँदै गएको कुरा आएको छ । हालै बैंकहरूले आफ्नो चालू आर्थिक वर्षको पहिलो छ महिनाको प्रतिवेदन प्रस्तुत गरेका छन् । त्यसमा प्रायः धेरै बैंकहरूको खराब कर्जा बढेको देखियो । त्यो पनि कतिसम्म भने अघिल्लो वर्षको तुलनामा ठूलो प्रतिशतकै हाराहारीमा रहेका देखिए । यद्यपि सबै त्यस्ता होइनन तर एक–दुईवटै भए पनि यसले समग्र बजारको प्रतिनिधित्व गर्छ । चालू आवको दोस्रो त्रैमासमा २० वटा वाणिज्य बैंकमध्ये १९ वटा वाणिज्य बैंकको खराब कर्जा बढेको देखिएको होे । कसैका मात्रा बढी छन् कसैका कम तर बीसमा उन्नाइस बैंंकहरूको खराब कर्जा बढेको देखिनु नकारात्मक सूचना नै हुनुपर्छ । यति ठूलो संख्याका वित्तीय संस्थाहरूको लगानी खराब कर्जामा परिणत हुनु भनेको आफैंमा कतै न कतै कैफियत रहेको मान्नुपर्छ । कुनै बैंक विशेषमा नलागी समग्रमा भन्ने हो भने अघिल्लो वर्षको तुलनामा घटनुपर्ने बैंकहरूको खराब कर्जा यो वर्ष बढेको देखियो । गत आर्थिक वर्षको यो समयमा बैंकहरूको खराब कर्जा औसतमा दुई दशमलव ९१ प्रतिशत रहेकोमा यो वर्ष चार दशममलव ४५ प्रतिशत कायम भएको देखिन्छ ।
बैंकमा तरलता थुप्रिनु तर लगानीगर्न चाहनेहरुको हातमा पैंसा नुहुनु अर्थतन्त्रको लगि अवश्य पनि शुभ संकेत होइन । अहिले अधिकांश बैंकहरु खराब कर्जाको कारण समस्याग्रस्त बनेका छन् । सामान्यरूपले हेर्दा खराब कर्जा बढ्नुमा बैंकहरूको आफ्नो समस्याजस्तो देखिन्छ । केही मानेमा यस्तो हुन पनि सक्छ । पछिल्ला दिन बैंकिङ कसुरका घटनाहरू बढिरहेका छन् । त्यसमा कर्जा दिने र लिनेबीचको अधिक मिलेमतो रहेको भन्ने निष्कर्ष आएको थियो ।
खराब कर्जा बढ्नुका पछाडि विभिन्न कारणहरु हुन्छन् । लगानीको वातावरण नहुनु, सरकारको अर्थनीति व्यहारिक नहुुनु, बजारमा मन्दी हुनु आदि कारणले बैंकहरुमा खराब कर्जा बढेको सरोकारवालाहरु बताउँछन् । खराब कर्जा झन् बढ्दो क्रममा देखिएको यो अवस्थाले अबका लगानीहरूमा पनि मन्दी ल्याउन सक्छन् । अहिले पनि व्याज घटेकोघट्यै छ तर लगानी बढिरहेको छैन । अर्थका लागि यस्ता सूचना राम्रा होइनन् ।अबको ध्यान यो ठाउँमा केन्द्रित हुन आवश्यक देखिन्छ । सरकारले लगानीमैत्री वातावरण बनाउन नसक्दा समस्या झन बिकराल बन्दै गएको छ । त्यसको लागि सरकारले आर्थिक क्षेत्रमा भएका अव्यवहारिक कानुनहरुको संशोधन गरेर भए पनि मुलुकमा लगानीको परिस्थिति निर्माण गर्न ढिला भैसकेको छ ।
प्रतिक्रिया