काठमाडौं - आजका विकसित भनिएका देशहरु कसरी अघि बढे भन्ने सन्दर्भमा उनीहरुले समयलाई महत्व दिएको पाइन्छ । हेर्दा सामान्य लागे पनि समयको महत्व जति बयान गरे पनि कमै हुन्छ । जुनसुकै काम पनि निर्धारित समयमा गरियो भने मात्र त्यसले सफलता प्राप्त गर्न सक्छ । अर्थात् समयलाई पछ्याउन सके मात्र समृद्धीको ढोका खोल्न सहज हुन्छ ।
समयको महत्व राजनीतिक दलहरुको लागि पनि उत्तिकै छ , जति राज्यका अन्य निकायहरुको हुन्छ । मुलुक बनाउने जिम्मेवारी अन्तत : राजनीतिक दलहरुकै हुन्छ । त्यसैले राजनीतिक दलहरुले आफ्ना क्रियाकलापहरु तोकिएको समयमै सम्पन्न गर्नु सक्नुपर्दछ । अन्यथा दलहरुप्रति विश्वसनीयता कम हुँदै जान्छ । नेपालमा समयलाई त्यति महत्व दिइएको पाइँदैन । भैहाल्छ र चल्छ नि भन्ने मानसिकताले नेपालीहरुलाई गाँजेको पाइन्छ ।
नेपालका राजनीतिक दलहरुमा माओवादी केन्द्र समयको पालना नगर्ने दलहरुमा सम्भवतः पहिलो नम्बरमा पर्दछ । माओवादीका कुनै पनि बैठकहरु तोकिएको समयमा भएका छैनन् । पार्टी र उसका भातृसंस्थाका भेला बैठकहरु त तोकिएको तिथी मितिमा हुने गरेकै छैनन् । पार्टी कमिटीका बैठकहरु पनि निर्धारित समयमा हुने गरेका छैनन् । पदाधिकारी बैठक होस वा केन्द्रीय समितिको बैठक होस तोकिएको तिथी मितिमा हुने गरेका छैनन् ।
आइतबार बोलाएको बैठक कहिले मंगलवार हुन्छ त कहिले अनिश्चित कालका लागि स्थगित । बैठकमा सहभागी हुने भनेर तयारीसाथ गएकाहरु बैठक सरेको थाहै पाउँदैनन् । कसैलाई यो विषय सामान्य लाग्न सक्ला । तर व्यवस्थापकीय पक्षबाट हेर्दा यो किमार्थ सामान्य विषय होइन । यसले पार्टीको कार्यशैली कस्तो रहेछ भन्ने सन्देश प्रवाह गर्दछ ।
आफ्नै पार्टीको आन्तरिक जीवनमा समयको परिपालन गर्न नसक्ने राजनीतिक दलले मुलुकको व्यवस्थापन कसरी गर्न सक्ला भन्ने आम जिज्ञासा उत्पन्न हुनु स्वभाविक हो । यसले पार्टीमा कुनै थिति र स्पष्ट विधि नभएको जनाउँछ । नेतृत्वको एकाधिकारमा पार्टी चलिरहेको र त्यसले समग्र पार्टी संयन्त्र लथालिंग रुपमा रहेको देखाउँछ । यस्तो बेथितिमा चलेका दलहरुले कसरी देशलाई विकास र समृद्धीको बाटोमा अघि बढाउन सक्लान् ?
माओवादी जस्तो युद्धबाट आएको पार्टीले समयको महत्वलाई कम आँक्न नहुने हो । केही सेकेण्डको समयले पनि युद्धमा कति असर परेको थियो भन्ने माओवादी नेतृत्व आफै भुक्तभोगी छ । तर उसैले आफ्ना कुनै पनि बैठकहरु समयमा गर्दैन । जसको कारण माओवादी कार्यकर्तामा पनि आम जनता जस्तै यस्तो दलले कसरी मुलुकको नेतृत्व गर्ला भन्ने प्रश्न उठ्ने गरेको पाइन्छ ।
प्रतिक्रिया