कसैको विश्वसनीय बनेनन् वामदेव : नेकपा विभाजनको प्रमुख कारक

सोमबार, २१ माघ २०८१, १२ : ३९

काठमाडौं - नेपाली राजनीतिमा वामदेव गौतमको बेग्लै परिचय छ । उनी कुनै खास राजनीतिक ट्रयाकमा हिंड्न सक्तैनन् । एमालेको उपाध्यक्षसम्म पुगेर मुलुकको उप प्रधानमन्त्रीसम्म भएका गौतम आफैं परिचालित हुन नसक्ने नेताको रुपमा पनि चिनिन्छन् । उनलाई एमालेका नेताहरु माधव नेपाल र केपी ओलीले विगतमा आफ्नो स्वार्थ अनुकूल प्रयाप्त प्रयोग गरेका हुन । 

कुनै बेला वामदेव एमालेमा निर्णायक हैसियत राख्थे । हक्की स्वभाव र कमाण्डिङ्ग शैलीले पार्टीमा उनलाई नेता मान्नेहरु प्रशस्तै थिए । २०५४ मा नेपालगञ्जमा भएको एमालेको छैंटौ महाधिवेशनमा महाकाली सन्धिको विवादले उग्र रुप लिएपछि पार्टी नै विभाजित भएको थियो । विभाजनको नेतृत्व उनै गौतमले गरेका थिए । महाकाली सन्धिको विरुद्ध देशभक्तिको झण्डा उठाएको बताउने गौतमको पक्षमा सहाना प्रधान, सीपी मैनाली, राधाकृष्ण मैनाली लगायत प्रभावशाली नेताहरुले उनलाई साथ दिएका थिए । उनले २०५४ मा भएको स्थानीय निर्वाचनमा एमालेलाई ठूलो जित दिलाएका थिए । त्यतिबेला लोकेन्द्र बहादुर चन्द प्रधानमँन्त्री र गौतम गृहमन्त्री थिए । त्यसपछि एमालेमा उनको हैसियत निकै बढेर गयो । त्यही शक्तिको कारण उनमा महत्वाकांक्षाको भूत सवार भयो । राजनीतिमा सुरा, सुन्दरीको प्रयोग पनि उनले नै भित्राएको भनिन्छ । 

राजनीतिमा उनको हक्की र निडर व्यक्तित्वलाई उनमा रहेको पदलोलुप प्रवृत्तिले कालान्तरमा भने ओझेल पार्दै लगेको देखिन्छ । बाघ र्झै उदाएका वामदेव मुर्झाउँदै जानुमा उनको यही कमजोरी प्रमुख रहेको उनी निकट कार्यकर्ताहरु बताउँछन् । 

२०७४ को आम निर्वाचनमा गठबन्धन गरेका एमाले र माओवादीले झण्डै दुई तिहाइ बहुमत प्राप्त गरे । मुलुकमा ठूलो राजनीतिक उभार पनि सिर्जना भयो । निर्वाचनपछि उनीहरुले पार्टी एकता नै गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्यो । वामदेव प्रम्ख नेतामध्येमै रहे । उनी नौ सदस्सीय सचिवालयमा एक सदस्य थिए । सचिवालयमा पनि उनको भूमिका निर्णायक थियो । उनी कहिले प्रचण्डलाई भेटेर पार्टी कब्जा गर्नुपर्छ, मेरो तपाईलाई पुरा सहयोग हुन्छ भन्थे । कहिले केपीलाई भेटेर म त तपाईसितै छु कमरेड भन्थे । वास्तवमा उनकै कारणले नेकपा विभाजन भएको एमाले–माओवादी दुवैतर्फका नेताहरुले बताउने गर्छन् । पार्टी विभाजनमा उनको जति सक्रियता कसैको थिएन । तर विभाजनपछि उनी कतैतिर लागेनन् । बरु पार्टी एकता राष्ट्रिय अभियान बनाए । जसको कुनै प्रभाव रहेन । 

वाम गठबन्धनको झण्डै दोब्बर भन्दा बढी मतान्तर भएको बर्दियामा उनले निर्वाचन हारे । त्यहाँ उनले आफू पछि छोरालाई उत्तराधिकारी बनाउन चाहन्थे । यो कुरा बाहिर आएकोले आफ्नै कार्यकर्ता पनि उनलाई हराउन लागे । चुनाव हारेपछि पनि उनी चुप लागेर बसेनन् । राष्ट्रियसभामा गए । प्रधानमन्त्री बन्न पनि निकै चलखेल गरे जबकी राष्ट्रियसभाको सदस्य प्रधानमन्ँत्री बन्ने प्रावधान अहिलेको संविधानमा छैन । तैपनि उनलाई फकाउन प्रधानमन्त्रीको कार्ड फालियो । उनले पत्याए । उनमा रहेको महत्वाकांक्षा यतिमै सिमित रहेन । उनी भूकम्प प्राधिकरणको नेतृत्व पनि गर्न चाहन्थे । राष्ट्र पुनर्निर्माण सम्बन्धी एउटा पुस्तिका पनि उनले लेखेका छन् । अहिले फेरि जिम्मा दिए समाजवाद निर्माण गर्ने बताइरहेका छन् । समाजवाद ल्याउन नसके मृत्युदण्ड भोग्न पनि तयार रहेको बताएर अर्को हावादारी भाषण पनि गरे ।  

उनलाई नजिकबाट चिन्नेहरु उनको कुनै वैचारिक र दार्शनिक पक्ष सबल नरहेको बताउँछन् । उनी विचारबाट भन्दा घटनाबाट बढी प्रभावित हुन्छन् । अहिले पनि एमाले वा समाजवादीमा जाने भनेर खुट्टा उचालेर बसेका छन् । कसैले सोध्यो भने भन्छन, जसले पहिले बोलाउँछ उतै जान्छु । तर उनलाई दुवै दलले उनको तौल अनुसारको भाउ दिइरहेका छैनन् । वामदेव गौतम आफ्नो नाच्ने कला छैन भन्ने जान्दाजान्दै पनि कार्यक्रमहरुमा नाच्ने गर्छन् । जहाँ अरुले भरपुर मजा लिइरहेका हुन्छन् । नाच्ने कला नभए पनि राजनीतिमा भने उनलाई अरुले ताल न बेतालसित नचाइरहेका हुन्छन् ।

वाम आन्दोलन खासगरी एमालेको बिस्तारमा उनले जीवन समर्पण गरे तर उनी आफै मूल नेतृत्वमा भने पुग्न सकेनन् । उनको आफ्नै कमजोरीका कारण होला उनी जहिले पनि मूल नेतृत्वको औजार मात्र बने । कस्तो बिडम्बना ! उनी ओली वा नेपाल जोसित पनि जान तयार भएर खुट्टा उचालेर बसेका छन् तर उनलाई भित्राउन दुवै जना तयार देखिदैनन् । राजनीतिमा उनको भूमिका सिर्जनात्मक भन्दा ध्वंशकारी र बहुलट्ठीपन देखिएकोले उनी अरुबाट प्रयोग भएको देखिन्छ ।     
 

सोमबार, २१ माघ २०८१, १२ : ३९

प्रतिक्रिया