टिप्पणी

संविधान संशोधन ऐजेण्डामा प्रतिगमनको गन्ध

मंगलबार, २२ माघ २०८१, १४ : ३९

काठमाडौं - नेपाली कांग्रेस नेपालको पुरानो राजनीतिक दल हो । वीपी कोइरालाले बनाएको र नेतृत्व गरेको पार्टी अहिले विभिन्न समूहहरुको विकेन्द्रित नेतृत्वमा रहेको छ । कांग्रेस आफैमा गतिशील र संगठित पनि छैन । तर यस पार्टीको जनमत भने निकै बलियो रहेको छ । इतिहासको महत्वपूर्ण मोडमा नेतृत्वदायी भूमिका निर्वाह गरेकोले पनि जनताको एउटा तप्कामा कांग्रेसप्रति सकारात्मक भावना रहिरहेको छ । 

नेपाली कांग्रेस कानुनी र वैधानिक रुपमा पार्टी भए पनि यो खासमा सभा वा मोर्चाको रुपमा रहेको छ । कांग्रेसको अर्थ पनि सभा नै हो । वीपी, गणेशमान, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले नेतृत्व गरेको ऐतिहासिक पार्टी हो नेपाली कांग्रेस । अहिले कांग्रेस इतिहासकै सबैभन्दा कमजोर र कठीन अवस्थामा रहेको यसका नेताहरु नै बताउँछन् । अरु बेला कांग्रेस खासै चलायमान हुदैन । जब सत्तामा जाने अवस्था बन्छ वा महाधिवेशनको समय आउँछ, कांग्रेस एकदम गतिशील बन्छ । अहिले काग्रेस मुलुकको सबैभन्दा ठूलो दल भएर पनि सत्ताको नेतृत्व गर्न सकेको छैन । कहिले माओवादी त कहिले एमालेलाई बोक्दै उसको सत्तायात्रा जारी रहेको छ । 
नेपाली कांग्रेस यतिबेला १५औं महाधिवेशनको तयारीमा लागिरहेको छ । विभिन्न गुटहरु बन्ने र परिवर्तन गर्ने खेल पनि पार्टीमा चरिरहेकै छ । संभवतः शेरबहादुर देउवा आउँदो महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने छैनन् । कांग्रेसको विधान अनुसार लगातार दुईपटक मात्र उम्मेदवार बन्न पाइन्छ । अब १४औं महाधिवेशनमा देउवालाई चुनौति दिने शेखर कोइराला कांग्रेसको भावि सभापतिको लागि प्रतिस्पर्धा गर्नेछन् । 

कांग्रेस अहिले एमाले नेतृत्वको सरकारमा सहभागी छ । देउवा र ओलीको एकल निर्णयको आधारमा दुई पार्टीबीच सत्ता सहकार्य चलिरहेको छ । यसका पछाडिका कारण र पृष्ठभूमिबारे अब व्याख्या र चर्चा गर्न खासै जरुरी छैन । यो सबैलाई ज्ञात भैसकेको छ । तर यी दुई दलले गरेको एउटा सहमतिको भने अहिले पनि चर्चा हुने गरेको छ । त्यो हो संविधान संशोधनको एजेण्डा । तत्कालीन प्रचण्ड नेतृत्वको एमाले सम्मिलित गठबन्धन तोड्नुपरेको कारण भित्री रुपमा जे भए पनि बाहिर देखाउने यही एजेण्डा थियो । तर अहिलेसम्म पनि यो विषयले औपचारिकता पाउन सकेको छैन । ओलीले त २०८७ सालमा मात्र संविधान संशोधन हुने बताएर यो ऐजेण्डालाई क्लोज गर्ने संकेत गरिसकेका छन् । नेपाली कांग्रेसमा शेखर कोइरालाले संविधान संशोधनको विषयलाई अलि जोडतोडले उठाइरहेका छन् । उनी सविधानको मोडेल नै परिवर्तन गर्नुपर्छ भन्दैछन् । 

कांग्रेसको १४औं महाधिवेशनमा देउवासित पराजित भएपछि उनी आगामी महाधिवेशनबाट जसरी पनि पार्टीको सभापति बन्ने दाउमा लागेका छन् । यस निम्ति उनले देश दौडाहा पनि सुरु गरेका छन् । उनी कोइराला परिवारकै सदस्यहरुको साथ पाउन नसकेर पराजित भएका थिए । अर्थात् उनलाई नेता मान्न सशांक र सुजाता नै तयार थिएनन् । कांग्रेस आफैमा पनि विचार र ऐजेण्डाको आधारमा चल्ने पार्टी होइन । त्यसैले शेखरसँग पनि त्यस्तो ऐजेण्डा छैन । अहिले पनि कांग्रेसका ठूलै नेताहरु गुट फेरबदल गरिरहेका छन् । सिन्धुपाल्चोकका मोहन बस्नेतले केही दिन अघि एउटा सार्वजनिक कार्यक्रममा भनेका थिए, 'शेरबहादुर दाई फेरि सभापति बन्ने हो भने म उहाँसितै हुन्छु । उहाँ नहुने हो भने अर्को निर्णय गर्छु ।' त्यस्तै कुरा अरु नेताहरुले पनि गरिरहेका छन् । यसले कांग्रेस राजनीतिको अवस्था के हुन्छ भन्ने प्रष्ट संकेत गर्दैन । 

शेखरले आगामी महाधिवेशनमा जित्लान् वा हार्लान् त्यो स्वभाविक प्रक्रिया हो । तर उनले संविधान संशोधनका बारेमा जे सोच बनाएका छन् त्यो चासोको विषय हो । संविधान कसरी बन्यो भन्ने पनि नेपाली जनतालाई राम्रो जानकारी छ । यो त्यति पुरानो कुरा पनि होइन । शेखर के त्यतिबेला राजनीतिमा थिएनन् ? संविधानको कुन विषय संशोधन गर्ने ? ऐतिहासिक जनआन्दोलनपछि स्थापित उपलब्धीहरु कमजोर बनाउने गरी संविधान संशोधन संभव छ ? उनले भने जस्तै संविधानको मूल स्प्रिट परिवर्तन गर्न किन आवश्यकता परेको हो ? के नेपाली राजनीतिलाई प्रतिगमनतिर फर्काउन खोजिएको हो ? त्यसैले संविधान संशोधनको मुद्धा दुई दलको मात्र हुन सक्तैन । यो संविधान बन्नको लागि नेपाली जनताको ठूलो मूल्य चुक्ता भएको छ । 

संविधान कुनै धर्मग्रन्थ वा जड वस्तु होइन । यो गतिशील दस्तावेज हो । जनताको चाहना र देशको आवश्यकता अनुसार संविधानका विषयवस्तुहरु परिमार्जन हुन सक्छन् । यो संविधान बनेको पनि दश वर्ष भैसकेको छ । संविधानको कार्यान्वयनमा आएका जटिलताहरु के हुन ? संविधानको कुन धारा वा व्यवस्थाले देश र जनताको समृद्धीमा बाधा पुर्याएको छ ? त्यसको समीक्षा गर्नेबेला भएकै हो । तर संविधानको मूल विषयमा हेरफेर गर्न जरुरी छैन ।     
 

 
मंगलबार, २२ माघ २०८१, १४ : ३९

प्रतिक्रिया