काठमाडाैं- सोलुखुम्बुको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ। आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत पूरा भइसकेको छ भने अब केही समयमै सोलुको बहाव बिजुलीको उज्यालोमा बदलिनेछ।
तल्लो सोलु हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवद्र्धित आयोजनाका जेनेरेटर, टर्वाइन जडान, हेडबक्स, पावर हाउस जस्ता प्रमुख संरचनाहरू निर्माण भइसकेका छन्। आयोजनाको पेनस्टक टनेलको ‘बेक थ्रु’ को काम तीव्र रूपमा अघि बढिरहेको छ। कम्पनीका प्रबन्धक धर्मेन्द्र गोतामे भन्छन्, "अब पेनस्टक पाइप जडानको मात्र काम बाँकी छ। सबै योजना सफलतापूर्वक सम्पन्न भए आगामी भदौबाट व्यावसायिक उत्पादन थाल्ने लक्ष्य राखिएको छ।"
आयोजनाको प्रसारण लाइन निर्माण कार्य पनि ८० प्रतिशतभन्दा बढी पूरा भइसकेको छ। एफएमओलगायतका युरोपियन बैंक तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू (इन्टरनेसनल फन्डिङ एजेन्सी) बाट १६ अर्ब रुपैयाँ ऋण लगानीमा सन् २०१६ को अगस्टदेखि निर्माण कार्य सुरु भएको हो। यदि सबै काम योजना अनुसार अघि बढेमा सन् २०२५ सेप्टेम्बरसम्म आयोजना पूरा हुनेछ।
सोलुदूधकुण्ड नगरपालिका–७ र ११ को सिमानामा पर्ने साल्मे क्षेत्रको सोलु खोलामा बाँध निर्माण गरी पानी संकलन गरिएको छ। उक्त पानी छ किलोमिटर टाढाको तिङ्लाको भदौरेस्थित पावर हाउसमा पठाइनेछ। त्यसका लागि पाँच किलोमिटर लामो सुरुङमार्ग बनाइएको छ।
यो आयोजना पहाडी भौगोलिक बनावट, दुर्गम स्थान तथा लामो सुरुङमार्गका कारण लागतमा केही वृद्धि हुने अनुमान गरिएको छ। हाल आयोजनामा ७०० भन्दा बढी कामदार खटिएका छन्, जसमा १०० जना स्थानीयले प्रत्यक्ष रोजगारी पाएका छन्।
परियोजना सम्पन्न भएपछि हिउँदमा न्यूनतम २३ मेगावाट र वर्षायाममा ८२ मेगावाट विद्युत् उत्पादन हुनेछ। उत्पादित विद्युत् तिङ्ला सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ, जसले देशको ऊर्जासंकट हटाउने मात्र होइन, औद्योगिक र व्यावसायिक क्षेत्रमा समेत आर्थिक प्रवाह बढाउनेछ।
नेपालका पहाडी भेगमा सञ्चालित ठूला जलविद्युत् आयोजनामध्ये तल्लो सोलुखोला जलविद्युत् आयोजना अब छिट्टै राष्ट्रिय गर्व बन्नेछ। जब यसबाट पहिलो प्रवाहको बिजुली राष्ट्रिय ग्रिडमा मिसिनेछ, तब नेपाल ऊर्जाको स्वाधीनता तर्फ एक महत्वपूर्ण फड्को मार्नेछ।
प्रतिक्रिया