काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा जारी गरेको शुभकामना सन्देशले नेपाली राजनीति तरंगित बनेको छ । उनका केही अभिव्यक्ति निकै अर्थपूर्ण देखिएको छ ।
७५ औं प्रजातन्त्र दिवसको अवसरमा पूर्व राजाले मंगलबार शुभकामना सन्देश दिँदै वर्तमान राजनीतिक व्यवस्था र दलहरुप्रति कटाक्ष गरेका छन् । उनले देशको व्यवस्था बदलिए पनि अवस्था झनै दयनीय बन्दै गरेको भन्दै आफूलाई साथ दिन आग्रह गरेका छन् ।
यसले मुलुकका गणतान्त्रिक व्यवस्थाका पक्षपातीहरुलाई सशंकित बनाएको छ । पूर्वराजाको पक्ष र विपक्षमा अहिले सामाजिक सञ्जालमा प्रतिक्रियात्मक टिप्पणी सुरु भएको छ ।
कतिपयले यसलाई उनमा फेरि सत्तारोहणको मनोकांक्षा कायमै रहेको अथ्र्याएका छन् भने उनका पक्षधरले राष्ट्रिय आवश्यकताका रुपमाऔंल्याएका छन् । अहिले सामाजिक सञ्जालमा प्रजातन्त्र दिवसको अवसरमा आएको पूर्वराजाको शुभकामना सन्देशको पक्ष-विपक्षमा समर्थन र विरोध भइरहेको छ ।
राजसंस्था पुनस्र्थापनाका पक्षधरहरुले यसलाई सकारात्मक रुपमा लिँदै हौसिएका छन् । वर्तमान व्यवस्थाका पक्षधरहरुले भने यसलाई पूर्वराजाको चलखेलका रुपमा आलोचना गरेका छन् ।
माओवादी युवा नेता रजमान तामाङ पूर्वराजा जेलेन्स्की पथमा अघि बढेको टिप्पणी गर्छन् । देशको समस्या देखाएर सत्ता आर्जन गरी मुलुकलाई द्वन्द्वमा फसाउने मनशायले यो अभिव्यक्ति आएको उनको बुझाइ छ ।
उनी भन्छन्, ‘देशका तत्कालीन समस्या देखाएर फेरि सत्तामा पुगी मुलुकलाई युक्रेन बनाउने दिशामा पूर्वराजाको अभिव्यक्ति आएको छ । यो कदापि स्वीकार्य छैन ’
उनले नेपालमा राजसंस्थको अब कुनै औचित्य र आवश्यकता नरहेको जिकिर गरे । मुलुक अद्योपतनको प्रमुख कारक राजतन्त्रात्मक शासन व्यवस्था रहेको र त्यसकै उपज देश आज पनि दुर्दशापूर्ण अवस्थामा रहेको उनको दाबी छ ।
गणतन्त्र स्थापना भएको करिब दुई दशक पुगनै लाग्दा पूर्वराजा ज्ञानेन्द्रको सक्रियता अझै पनि कायमै छ । उनी धार्मिक उद्देश्यले देशका मठ मन्दिर धाउँदै आएका थिए ।यद्यपि, केही समययता भने राजनीतिक रुपमा अर्थपूर्ण अभिव्यक्ति समेत उनले दिँदै आएका छन् ।
पूर्वराजाको पछिल्लो अभिव्यक्ति आफूप्रति नेपाली जनताको सदाशयता बढोस् भन्ने अपेक्षासहित आएको देखिन्छ । उनले सत्ता छोडेर त्याग गरेको भन्दै अझै पनि थप त्याग गर्न तयार रहेको अभिव्यक्ति दिएका छन् । र, त्यागले कद बढाउने बताएका छन् ।
जननिर्वाचित सांसद विघटन गरेर सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएका उनलाई माओवादी जनयुद्धको बलमा सञ्चालित ६२ /६३ को जनआन्दोलनले सत्ताच्यूत गरेको थियो ।
तत्कालीन अवस्थामा बाध्यात्मक रुपमा सत्ता त्याग गरेका उनले त्यसलाई त्यागको उपमा दिएर आफूप्रति नेपाली जनताको सद्भाव कायमै रहोस् भन्ने अभिप्रायले पछिल्लो अभिव्यक्ति आएको जानकारहरु बताउँछन् ।
प्रतिक्रिया