काठमाडौं- नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले लोडसेडिङको अन्त्य हुनुमा भारतको भूमिका रहेको संसदमा बताए पछि अनेकौं टिप्पणी हुन थालेको छ । पछिल्लो समय विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग टसल गर्दै आएका मन्त्री खड्काले बिहीबारको संसद बैठकमा लोडसेडिङको अन्त्य हुनुमा भारतको प्रमुख भूमिका रहेको बताएका हुन् ।
नेपालमा लाडसेडिङ अन्त्यको सूत्रधारका रुपमा विद्युत पधिकरणका कार्यकारी निर्देशक घिसिङलाई नै लिइन्छ । जादुमयी तरिकाले दैनिक १८ घण्टको लोडसेडि अन्त्य गरेको श्रेय उनलाई नै दिइएको छ । तर, उर्जा मन्त्रीको अभिव्यक्तिले त्यसमा घिसिङको भूमिकालाई नजरअन्दाज गरेका हुन् या वास्तविकता नै त्यही हो ? उनको अभिव्यक्तिले यस्तै अनेकौं प्रश्न उठाएको छ ।
नेपाली समाजमा लोडसेडिङ अन्त्यको पगरी घिसिलाई नै गुथाइएकाले आम मानिस उनी बाहेक अरु कारणले यसको अन्त्य भएको स्वीकार्न तयार छैनन् । विद्युत प्राधिकरणका एक कर्मचारीको हैसियतमा रहेका घिसिङ समाजमा भने सेलिब्रेटी बनिसकेका छन् । उनको कार्यकालमा प्राधिकरणमा भएका कतिपय सकारात्मक काम विभिन्न सूचकहरुले देखाएकै छ, त्यसलाई नजरअन्दाज गर्न मिल्दैन ।
तर, सर्वेसर्वा उनै घिसिङ नै हुन् भन्ने गलत भाष्यले नेपाली समाज अहिले विभाजित बनेको छ । राम्रो कामको सराहना र गलत कामको खबरदारी गर्ने संस्कार नै नेपाली समाजमा हराएका छ । बाह्य आवरणका आधारमा निर्माण गरिने भाष्य र धारणा अनुरुप व्यक्तिको आलोचना र समर्थन गर्ने परिपाटी अहिले व्याप्त छ । त्यसकै उपज घिसिङप्रति लोडसेडिङ अन्त्य गर्ने उज्यालो नेपालका नायक बनाइएको छ । यद्यपि, यसलाई तथ्यका आधारमा सत्य उजागर गर्दै उनका कतिपय सकारात्मक कामको श्रेय भने दिन जरुरी छ ।
उर्जा मन्त्री खड्काले भनेजस्तै भारतबाट विद्युत खरिद गरी ल्याएर नेपालको लोडसेडिङ अन्त्य गरिएको हो भने त्यसमा घिसिङको जादुमयी काम कसरी भयो ? नेपालकै आन्तरिक उत्पादन र विद्युत आपूर्तिमा आत्म निर्भर नबनाएर भारतबाटै आयात गरी लोडसेडिङ हटाइएको भए उनी कसरी उज्यालो नेपालका सूत्रधार भए ? यसको जवाफ आग्रह-पूर्वाग्रहका आधारमा होइन तथ्यका आधारमा खोजिनुपर्छ ।
अर्कोतिर मन्त्री खड्काले आफ्नो टसल र कटुताले घिसिङविरुद्ध अनेकौं आक्षेप लगाउन थालेका छन् । खड्काले उर्जा मन्त्रालयको कार्यभार सम्हाले यता घिसिङसँग कटुतापूर्ण सम्बन्ध रहँदै आएको छ । त्यसकै कारण उनले संसदमा लोडसेडिङको जस घिसिङलाई नदिएर भारतलाई दिन पुगेको बताइन्छ । मन्त्री खड्काको पटक पटकको स्पष्टीकरण र प्राधिकरणमै कार्यकक्ष खडा गरी घिसिङविरुद्ध उत्रिनु अस्वाभाविक जस्तो देखिन्छ । तर, विभागीय मन्त्रीले प्रत्यायोजित अधिकार प्रयोग गरेको मन्त्री खड्काले बताइरहेका छन् ।
पटक पटक पदबाट हटाउने उद्देश्यले स्पष्टीकरण सोध्दै कार्यसम्पादनमा शून्य अंक समेत दिइनुलाई भने मन्त्री खड्काको पूर्वाग्रहप्रेरित कमदका रुपमा लिइएको छ ।
मन्त्री खड्काले बिहीबार प्रतिनिधि सभाको सम्बोधनमा उल्लेख गरे जसरी लोडसेडिङ अन्त्यमा उनको भूमिका नभए पनि घिसिङ अन्य कामहर निकै सकारात्मक छन् ।
कार्यभार सम्हालेयताप्राधिकरणलाई नाफामा पुर्याएको सार्वजनिक तथ्यांकले समेत प्रष्ट्याएको छ । उनैलाई कार्यसम्पादनमा शून्य अंक दिइनु सरासर प्रतिशोध नै हो ।
एक आपसमा तिक्तता बढाएर मन्त्री खड्का र घिसिङबीच निकै टसल बढेको छ । पदबाट हटाउने आशयले सोधिएका स्पष्टीकरण र सफाई पेस गर्न पठाइएको पत्र हुँदै कार्यसम्पादनमा शून्य अंक दिइनुले उर्जामन्त्री घिसिङविरुद्ध लागेको स्पष्टै देखिन्छ । लोडसेडिङ अन्त्यमा घिसिङको कुनै भूमिका नरहेको दाबी गरेका मन्त्री खड्काले उनीभन्दा उल्लेख्य काम गरेर देखाएमात्रै प्रश्न उठाउने नैतिक साहस रहन्छ । अन्यथा पदबाट हटाउन नसकेको तुषका रुपमा आएका खड्काका घिसिङ विरोधी अभिव्यक्तिको कुनै तुक छैन ।
प्रतिक्रिया