स्ववियु निर्वाचन

सांसद राजन दाहाल पक्षीय नेताहरु अखिल(क्रान्तिकारी)बाट निष्कासित बागी उम्मेदवारको पक्षमा

शनिबार, ०९ चैत्र २०८१, १५ : ०९

सिन्धुली-  सिन्धुलीमा आज (शनिबार) भइरहेको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनको मतदानका क्रममा आफ्नै पार्टीको भातृ संगठन अखिल(क्रान्तिकारी)ले कारबाही गरेका उम्मेदवारको पक्षमा माओवादी नेताहरु लागेका छन् । 

सिन्धुली बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियू र क्रान्तिकारीले गठबन्धन गरी संयुक्तरुपमा उम्मेदवारी दिएका थिए । स्ववियु अध्यक्षका संयुक्त उम्मेदवार रहेका अनेरास्ववियुका तुलसीराम भुजेलविरुद्ध क्रान्तिकारीका विनोद कार्कीले बागी उम्मेदवारी दिएपछि उनलाई संगठनबाटै निष्कासित गरिएको थियो । 

उनै संगठनले साधारण सदस्यबाटै निष्कासन गरेका बागी उम्मेदवार कार्कीको पक्षमा सांसद राजन दाहाल पक्षीय नेताहरु खुलेर लागेका हुन् । शनिबार स्ववियु निर्वाचनको मतदान भइरहँदा दाहाल पक्षीय माओवादी नेताहरु अखिल(क्रान्तिकारी)को साधारण सदस्यबाटै हटाइएका कार्कीको पक्षमा क्याम्पस परिसरमै मत माग्दै हिँडेका छन् ।

यो पनि पढ्नुस्

सांसद राजन दाहालद्वारा स्ववियु निर्वाचनमा बागी उम्मेदवार खडा

माओवादी केन्द्र कमलामाई नगरपालिका अध्यक्ष रहेका सांसद दाहाल निकट नेता शेरबहादुर कार्कीले सिन्धुली बहुमुखी क्याम्पसमा विनोद कार्कीमाथि अन्याय भएको बताउँछन् । उनले स्वतन्त्र उम्मेदवारी दिएका कार्कीमाथि अन्याय गरिएकाले आफूहरुको समर्थन उनलाई नै रहेकाले कार्कीलाई नै जिताउन लागेको बताए ।

उनले आजको अर्थसँग कुरा गर्दै भने, ‘उनलाई अन्याय भएको छ । सक्रिय र प्रभावशाली नियमित विद्यार्थीलाई उम्मेदवार नबनाएर एमाले अखिललाई दिएपछि हामी उनको पक्षमा लागेका हौं।’

यस्तै पार्टी र विद्यार्थी संगठनको निर्णय विपरीत उम्मेदवारी दिएका कार्कीकै पक्षमा माओवादी निकट शिक्षक संगठन सिन्धुलीका अध्यक्ष सन्तोष श्रेष्ठ पनि लागेका छन् । सांसद दाहाल निकट रहेका उनी बागी उम्मेदवारी दिएका कार्की क्याम्पसको नियमित विद्यार्थी र प्रभावशाली नेता भएको बताउँछन् । उनले पनि आफू लगायत अन्य धेरैको सहानुभूति कार्की प्रति रहेको सहजै स्वीकार गरे ।

उनले भने, ‘नियमित र प्रभावशाली विद्यार्थी नेता भएकाले कार्कीलाई नै उम्मेदवार बनाउनुपथ्र्यो । उनीमाथि अन्याय भएकाले हाम्रो सहानुभूति रहनु स्वाभाविकै हो ।’

यो पनि पढ्नुस्

सिन्धुली बहुमुखी क्याम्पसका बागी उम्मेदवार कार्की अखिल(क्रान्तिकारी)बाट निष्कासित

अखिल (क्रान्तिकारी) सिन्धुलीका अध्यक्ष सुमन राना भने एक्लै जित्न नसकिने अवस्था रहेकाले बाध्य भएर गठबन्धन गनर्नुपरेको बताउँछन् । उनले सुरुमा एकल उम्मेदवारी दिने तयारी गरिए पनि सांगठनिक अवस्था जित्न नसकिने देखिएकाले समझदारी गरी गठबन्धन गरिएको बताए ।

‘सुरुमा सिन्धुली बहुमुखी क्याम्पसको हकमा अध्यक्ष नछाड्ने अडानमा थियौं । तर नेविसंघ र अखिलबीच गठबन्धन हुने देखिए पछि बाध्य भएर अध्यक्ष दिई अन्य पद लिएका हौं ।  भागबण्डामा जिल्लाका अन्य क्याम्पसको अध्यक्ष हाम्रो भागमा पर्यो ।’,अध्यक्ष रानाले भने । पटक पटक उम्मेदवारी फिर्ता लिएर संगठनको आधिकारिक उम्मेदवारलाई समर्थन गर्न आग्रह गर्दा नमानेपछि कार्कीलाई कारबाही गरिएको उनले बताए ।

यस अघि सिद्धज्योति शिक्षा  क्याम्पस फोस्रेटारमा क्रान्तिकारीले अध्यक्ष लिने र सिन्धुली बहुमुखी क्याम्पस र गौतमी बहुमुखी क्याम्पसमा अखिलले अध्यक्ष लिनेगरी चुनावी गठबन्धन भएको थियो । सोही बमोजिम सिन्धुली बहुमुखी क्याम्पसमा अनेरास्वयिुले अध्यक्ष पाएको हो । तर, यो निर्णय प्रक्रियामा आफूलाई सहभागी नगराइएको भन्दै रुष्ट बनेका सांसद दाहालले आफनै कार्यकर्ता रहेका कार्कीलाई स्वतन्त्र उम्मेदवारी दिन लगाएको बताइन्छ ।

पछिल्लो समय जिल्लामा पार्टी इन्चार्ज बसन्त माझी, संयोजक पानिराज बम्जन र सचिव विनोद विक आफ्नो पक्षमा नभएपछि उनले आफ्नो उपस्थिति जनाउन सिन्धुली बहुमुखी क्याम्पसमा स्वतन्त्र उम्मेदवारी दिन लगाएको कतिपय माओवादी नेताहरु बताउँछन् । जिल्लामा एक्लिएका सांसद दाहालले आफ्नो बर्चस्व देखाउन आफू पक्षीय नेताहरुलाई बागी उम्मेदवार जिताउन परिचालन गरेको चर्चा छ ।

 

शनिबार, ०९ चैत्र २०८१, १५ : ०९

प्रतिक्रिया