काठमाडौं– अमेरिकी अटो जाइन्ट फोर्ड मोटर्सको फोर्ड ब्रान्ड र चिनियाँ अटो मोबाइल कम्पनी चेरीको सब–ब्रान्डको काई ब्रान्डका सवारीहरूमा समस्या देखिएको तथ्यांकले बताएको छ।
गोल्छा अर्गनाईजेशनअन्तर्गतको जीओ अटोमोबाइल्स कम्पनी नेपालका लागि आधिकारिक रुपमा फोर्ड र काई ब्रान्डका सवारी साधनहरु बिक्री गर्दै आएको छ । जीओका नेपालमा फोर्ड कम्पनीका पाँच क्षेत्रीय डिलर शोरूमहरू र दुईवटा आफ्नै शोरूम र बिक्री केन्द्रहरू रहेका छन्।
पछिल्लो समय फोर्ड र काईका गाडीहरूमा गुणस्तरका समस्याहरू देखा परेका हुन् । गाडीका इन्जिन, निर्माणमा भएका कमजोरीहरु तथा सुरक्षामा पनि कमजोरी देखिन थालेको हो। गाडीका भनिएको जस्तो सुरक्षाको फिचरहरू नहुने, एबीएस, एयरबैग्स र ब्रेक प्रणालीमा अपेक्षा अनुरुपको सुरक्षा नहुँदा यी ब्रान्डमा प्रयोगबाट दुर्घटनाको जोखिम पनि बढाएको छ । ग्राहकहरूमा यी ब्रान्डहरूप्रति असन्तुष्टि बढ्ने र प्रयोग गर्दा असुरक्षाको चिन्ता बढ्न थालेको हो।
विविध कारणले गर्दा ग्राहकहरूले यी ब्रान्डको प्रयोग घटाउँदा फोर्ड र काईको गाडी किन्नेको संख्यामा नै कमी आएको छ। सन् २०२० मा करिब २ अर्ब रुपैयाँको व्यापार गरेको जिओ अटोमोबाइल्सले सन् २०२४ मा करिब ८३ करोड रुपैयाँको मात्र व्यापार गरेको छ । यसबाट कम्पनीको व्यापारबाट भएको आम्दानी घटेको देखिएको हो । कम्पनीले सबैभन्दा बढी २०२१ मा ३ अर्ब भन्दाबढी व्यापार गरेको थियो ।
फोर्डका सवारी साधनको बिक्रीमा कमी आउनुको कारणमध्ये एक गुणस्तरमा आएको समस्या हो। यसको साथै अर्को प्रमुख कारणमा फोर्डको ईभी नहुनु पनि देखिएको छ। अहिले बजारमा नयाँ तथा पुराना ब्रान्डका ईभीहरु आईरहेका छन्। ग्राहकहरु ईभीतर्फ आकर्षित हुँदा पनि फोर्डको सवारीको बिक्रीमा कमी आएको देखिन्छ ।
फोर्डका नयाँ तथा पुराना ब्रान्डहरुको मूल्य उच्च हुँदा पनि यसले ग्राहकलाई जोगाईराख्न सकेको छैन। यसो त भारतमा फोर्डको प्लान्ट बन्द भएको कारण पनि नेपाली बजारमा यसको अवस्था खस्कँदै गएको हो। अटो मोबाइल्स कम्पनीहरुले एकपछि अर्को गर्दै धेरै ब्रान्ड भित्र्याएकाले आफ्नै केही ब्रान्डहरू ओझेलमा पर्दै गएका छन्। एउटै कम्पनीले धेरै ब्रान्ड ल्याउँदा फोर्ड र काईजस्ता ब्रान्ड भने ओझेलमा पर्दै गएको देखिन्छ।
गोल्छा अर्गनाइजेसन अन्तर्गतको जीओ अटोमोबाइल्सले नेपाली बजारमा फोर्ड, सिट्रोन, काई, लिपमोट, र प्यूजो ब्रान्डका गाडी उपलब्ध बिक्री गर्दै आएको छ । साथै, दुई पांग्रेमा बजाज, केटीएम र ट्रायम्फजस्ता ब्राण्डको आधिकारिक बिक्रेता पनि जिओ अटोमोबाइल्स कम्पनी नै हो । यसरी धेरै ब्रान्ड भित्राएको पनि फोर्ड र काईका ब्रान्डहरुले बजार पाउन नसकेका हुन् । अटो व्यवसायीहरुले धेरै ब्रान्ड भित्राउने प्रतिस्पर्धामा लाग्दा आर्थिक रुपमा हानी व्यहोर्नु परेको छ । साथै नेपाली ग्राहकले रुचाएका ब्रान्डलाई ध्यान नदिदाँ ल्याईएका ब्रान्डहरू बिक्री गर्न नसक्ने अवस्थामा पुगेको छन् ।
प्रतिक्रिया