काठमाडौं– वालिका बलात्कार अभियोग दर्ता भएपछि फरार रहेका सिन्धुलीको दुधौली नगरपालिकाका नगरप्रमुख दिनेश अधिकारी दनुवारलाई जोगाउनका लागि रचिएको योजनाको पटाक्षेप भएको छ ।
जिल्ला सदरमुकामस्थित एक माओवादी कार्यकर्ताको घरमा भएको छलफलपछि बलात्कार आरोपी नगरप्रमुख दनुवारलाई जोगाउन निकै कठिन भए पनि सबैको सहयोग भए सहज हुने निश्कर्ष निकालिएको थाहा लागेको छ ।
बैशाख १६ गतेको प्रतिनिधिसभा बैठकमा सम्वोधन सकेर सिन्धुली फर्किएका माओवादी केन्द्रका सांसद राजन दाहालसँगै दुधौलीबाट आएका माओवादी केन्द्रका वागमती प्रदेश कमिटी सदस्य घनश्याम बस्नेत लगायतको छलफलमा विषय एकदमै गंभीर भएको, यसबाट प्रहरीबाट पक्राउ हुनबाट जोगिएर सेटिङ मिलाउन सक्दा नगरप्रमुख दनुवारलाई जोगाउन सकिने र त्यसका लागि दुईवटा प्रक्रिया अगाडि बढाउने निश्कर्ष निकालिएको हो ।
समाचार स्रोतका अनुसार पहिलो चरणमा दुई महिना अगाडि छोरा जन्माएर बसेकी वालिकालाई मागेजति रकम दिएर प्रहरीमा दर्ता भएको भनिएको जाहेरी झिक्न लगाउने वा फेर्न र दोस्रोमा सिन्धुली प्रहरीले भनेजस्तै वालकको डीएनए परिक्षण गराउने क्रममा स्याम्पल साट्नेसम्मको योजना बनेको छ ।
डीएनए परिक्षणका लागि प्रहरीले आवश्यक पक्रिया अगाडि बढाउने क्रममा डाक्टरसँगको सहकार्यमा डीएनएनको स्याम्पल नै फेर्नेसम्मको काम सम्पन्न गरेमात्रै नगरप्रमुख दनुवारको मेयर पद र राजनैतिक करियर जोगाउन सकिन्छ भन्ने कुरामा साझा सहमति बनेको बताइन्छ ।
दुधौलीबाट राति ९ बजेको समयमा आएका माओवादी केन्द्रका नेताहरु सांसद दाहालसँगको कुराकानीपछि नगरप्रमुख अधिकारीलाई जोगाउने सकिने निश्कर्षमा पुगेर फर्किएको एक माओवादी कार्यकर्ताले बताए । ‘ दुधौलीबाट हामी आएका थियौं तर सबैजना छलफलमा बसेनौं’, उनले छलफलमा भएको कुरा सबिस्तार सुनाएका थिए ।
एक महिनादेखि नै छलफल !
बालिका गर्भवती भएको विषय थाहा पाएपछि नै गर्भपतन गराउने प्रयत्न भएको थियो । तर ती वालिकाले मानिनन् । त्यसका लागि ३२ हजार रुपैयाँ दिन खोजिएको थियो । तर त्यो प्रयास सफल भएन । जब सो घटना विस्तारै सार्वजनिक हुन थाल्यो त्यसपछि भने बालिकाको परिवारजन मामा सँग मिलाउन र घटनालाई लुकाउने विषयमा निकै लामो समयसम्म छलफल भएको थियो ।
छलफलका क्रममा ४० लाखसम्म रुपैयाँ दिन नगरप्रमुख अधिकारी तयार भएका थिए । तर केटी पक्षले एक करोड रुपैयाँ नदिएसम्म केही गर्न नसकिने अडान लिएपछि भने माओवादी केन्द्रको दुधौली अधिवेशनपछि कुरा गरौंला भन्दै रोकिएको थियो । यहाँ उल्लेखनीय छ, दुधौलीको नगर अधिवेशनमा जिल्ला पार्टीसँग समन्वय नगरी अध्यक्ष प्रचण्ड उद्घाटन गर्न पुगेका थिए । उद्घाटन गरेको अधिवेशनले विवादका कारण लामो समयसम्म नेतृत्व चयन गर्न सकेन । '
निर्वाचन गरेर टुंग्याउन जिल्ला पार्टी नेतृत्वले पहल लिइरहँदा पालिका अध्यक्ष अधिकारीको समेत सक्रियतामा आफ्नै श्रीमतीलाई उपाध्यक्षसहितको टिम हठात भित्तामा टाँसियो । दुई सय ३४ प्रतिनिधिमध्ये डेढ सयले हस्ताक्षर गरेर यो निर्वाचन मानिदैंन भनेर बागमती प्रदेश कार्यालयमा उजुरी दिएका छन् । यसमा कुनै निर्णय भएको छैन । माओवादीभित्रका उनका असहमत अत्याधिक वहुमत पक्षलाई सत्ता, पैसा र माथिको पहुँचका आधारमा निषेध गरे । पार्टीभित्र नै अप्ठ्यारोमा परेका कारण मेयरसँग असहत राख्दै आएका विपक्षीहरू त्यतिबेलै आक्रामक भए ।
सत्ता र शक्तिको आडमा कसले के गर्न सक्छ र भन्दै हिंडेकाहरूले वालिका पक्षलाई चर्को दबाब दिन थालेपछि सो घटना सिन्धुली प्रहरीसम्म पुगेको समाचार स्रोतले बताएको छ ।
प्रहरीले दियो तत्कालै मिलाउन सुझाव !
नगरप्रमुखले वालिका बलात्कार गरेर गर्भवती बनाएको सूचना पहिले नै पाएको सिन्धुली प्रहरीले कार्यालयमै वोलाएर सो घटनालाई मागे जति रकम दिएरै भए पनि तत्कालै मिलाउन सुझाब दिएको थियो । स्रोतका अनुसार अधिकारीले जसरी पनि मिलाउँछु भनेर फर्किएका थिए । तर पछिल्लो समय सो प्रकरण उनीहरुको नियन्त्रण भन्दा वाहिर पुगेको थियो ।
माओवादीको दुधौली अधिवेशनमा आफ्नो गुटलाई पार्टी कमिटीमा बलियो बनाउन सक्रिय भएका नगरप्रमुख अधिकारीले पार्टी अध्यक्ष प्रचण्डसँग मेरो सम्बन्ध बलियो छ भन्दै सबैलाई त्रसित मात्रै बनाएनन्, आफ्नो खल्तीको व्यक्तिलाई नगरकमिटीको अध्यक्ष घोषणा गर्न साम, दाम, दण्ड, भेद सबै नीति लागू गरे । त्यही गुटगत काममा रमाएका अधिकारीले आफूमाथि आइलागेको गलपासोलाई सामान्य रुपमा सम्झिएका बेला वालिकाको आफन्तजनको सहयोगमा जिल्ला प्रहरी कार्यालयका किटानी जाहेरी गर्ने निश्चित भएपछि उनी राजधानी काठमाडौंतर्फ हानिए । सिन्धुलीका प्रहरी प्रमुख गोविन्द काफ्लेले अब दवाव खेप्न नसक्ने भएँ भनेपछि उनी काठमाडौं पुगेर राष्ट्रियसभा अध्यक्ष नारायण दाहाललाई भेटे । दाहालसँग कुरा गर्न संघीय सांसद राजन दाहाललाई समेत लगेर खिचेको सामूहिक तस्बिर सार्वजनिक गरेका थिए ।
नारायण दाहालसँग भेटेको र कुराकानी गरेको विषय बाहिर नल्याउने सहमति विपरीत मेयरले स्वकीय सचिवमार्फत ल्याएका थिए । सम्मानीय, प्रचण्डको भाइसँग फोटो खिचेपछि प्रहरीले मुद्दा दर्ता गराउन डराउने सोंचेर फोटो सार्वजनिक गरेको हुनसक्छ ।
नारायण दाहालका स्वकीय सचिव विष्णु सापकोटा जुगलले हामीसँगको कुराकानीमा दुई चार महिनादेखि उनीसँग नभेटेको भनेर ढाँटेका थिए ।
सिन्धुलीसहित बागमती प्रदेशको राजनीतिमा अहिले पनि नारायण दाहाल हाबी छन् । तत्कालीन इञ्चार्ज अग्नि सापकोटा र अध्यक्ष सरल सहयात्री पौडेल छायाँका रुपमा काम गर्थे । हितमान शाक्य इञ्चार्ज भएर आएपछि उनले पनि नारायण दाहाललाई क्रस गर्ने कुरामा धेरैले शंका गरेका छन् । नारायण दाहालले आफूलाई प्रचण्डको सहोदर भाइ भनेर बागमतीमा स्वार्थ समूह चलाउँछन् । आर्थिक रूपमा सम्पन्न वा आर्थिक चलखेल गर्ने व्यक्ति नारायण दाहालको रोजाइमा पर्छन ।
यति ठूलो विवादित काण्ड, फरार भइसकेपछि पनि वागमती प्रदेश सदस्य मेयर अधिकारी दनुवारका विरुद्ध वक्तव्य दिन प्रदेश अध्यक्ष सरल सहयात्रीले आनाकानी गरिरहेका छन् । उनी आफैं पनि दिनेश दनुवारलाई जोगाउन सक्रिय रहेको बागमती प्रदेशका एक सदस्यले बताए । उनले यस्ता विषयमा वक्तव्य दिने हो भने पार्टीले दिन बिराएर वक्तव्य दिनुपर्छ भनेर विषयलाई उडाउने गरेको उनी निकट कार्यकर्ता बताउँछन् । यसले एकथरि माओवादी साँस्कृतिक रूपमा कति स्खलित छ भन्ने देखाउँछ । उनलाई पटक पटक फोन गर्दा पनि रेस्पोन्स गरेनन् ।
जारी भयो पक्राउ पुर्जी !
जिल्ला अदालत सिन्धुलीले गत शुक्रवार नै मेयर अधिकारीलाई पक्राउका लागि सिन्धुली प्रहरीलाई अनुमति दिएको अदालत स्रोतले बताएको छ । अदालत स्रोतका अनुसार सिन्धुली प्रहरीको लिखित माग अनुसार नगरप्रमुख बिरुद्ध एक बालिकाले जवरजस्ती करणीको जाहेरी दिएपछि अदालतले सो अनुमति दिएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा बलात्कारको जाहेरी दर्ता हुने थाहा पाएपछि फरार भएका मेयर अहिलेसम्म नगरपालिकामा देखिएका छैनन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गत विहिबार दुधौली नगरपालिकाकी १८ वर्षीय (भुजेल) थरकी एक बालिकाले नगरप्रमुख अधिकारीले आफूलाई जवरजस्ती करणी गरेर बच्चा जन्मिएको र अहिले सो बच्चा स्वीकार नगरेको भन्दै दर्ता गरेको जाहेरीले सामाजिक सञ्जाल र अखवारहरुमा चर्चा बटुली रहेको छ ।
दुधौली नगरपालिकाकै वेलकम होटलमा काम गर्दै आएकी ती बालिकालाई नगरप्रमुख दनुवारले बलात्कार गरेपछि बच्चा जन्मिएको सिन्धुली प्रहरीमा दर्ता गरिएको जाहेरीमा उल्लेख गरिएको छ ।
जाहेरीमा बालिकाले गत फागुनमा छोरा जन्म दिइसकेको र सो छोरालाई नगरप्रमुख दनुवारले जवर्जस्ती करणी गरेपछि जन्मिएको लिखित बिबरणले नेकपा माओवादी केन्द्र वागमती प्रदेश कमिटी सदस्य समेत रहेका दनुवारको असलियत वाहिर ल्याइदिएको छ । नगरप्रमुख दनुवार २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का तर्फबाट निर्वाचित भएका थिए । उनलाई राजधानी काठमाडौंमा वोलाएर संरक्षण दिएका राष्ट्रियसभा अध्यक्ष दाहालले नै उनलाई दुधौली नगरपालिकाको मेयर पदमा उमेदवार बनाएका थिए ।
त्यस्तै दाहालले उमेदवार बनाएका माओवादी केन्द्र वागमती प्रदेश कमिटी सदस्य तथा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइवा पनि महिला प्रकरणमै जोडिएर बिवादास्पद मात्रै बनेनन्, परिवार नै बिचल्ली भएपनि सो उजुरी माओवादी केन्द्रको वागमती प्रदेश कमिटीसम्म पुगेको थियो । तर सो उजुरी उपर छानवीन समिति बनाएर सो अपराधलाई ढाकछोप गर्ने काम भएको आरोप माओवादी केन्द्रभित्रै लाग्ने गरेको छ ।
के हो दुधौली घटना !
भुजेल थरकी ती बालिका लामो समयदेखि वेलकम होटलमा काम गर्थिन् । उनको आमा मात्रै छिन्, उनकी आमासँगको अबैद्य सम्बन्धबाट जन्मिएकी उनलाई ती पुरुषले जिम्मा लिन अस्वीकार गरेपछि मावलीतर्फकै थर राखेर उनी हुर्किएकी थिइन् । वेलकम होटल दुधौली नगरपालकाको अधिकांश कार्यक्रम हुने होटल मात्रै होइन, नगरप्रमुख (विगतका पनि) खानपिन गर्ने र आराम गर्ने वा घर जान असहज भए बस्ने ठाउँ पनि हो । उनका लागि होटलले एउटा कोठानैं राखिदिने गरेको स्रोतको दाबी छ ।
नगरपालिका स्रोतका अनुसार कहिलेकहीँ स्वास्थ्यमा समस्या आयो वा टाउको दुख्यो भन्दै नगरप्रमुख दनुवार सोही होटलमा गएर आराम गर्ने गरेको बताइन्छ । ती वालिका भने पाहुनाहरुलाई आवश्यक खानेकुराहरु पुर्याउँदै आएकी थिइन् । जव ती वालिका गर्भवती बनिन्, त्यसपछि भने उनलाई होटल सञ्चालकले कामबाट निकालेको दुधौलीका जानकारहरु बताउने गर्छन् ।
विगत नै समस्या !
जानकारहरुका अनुसार दुधौली नगरपालिकाभित्र पनि यस्तै साँस्कृतिक समस्या आएपछि केही कर्मचारीहरुलाई जागिर छोडाइएको थियो । नेपाली कांग्रेस सम्बद्ध एक नेता भन्छन्, ‘ मेयरसापको पनि विगतमा अहिलेको जस्तै केस थियो, त्यो पनि मोटो रकम दिलाएर छोपछाप बनाइएको हो । त्यसपछि उहाँको चालचलनमा सुधार आयो होला भन्ने लागेको थियो, तर अहिलेको घटनाले हामी सबैलाई उहाँको विगत स्मरण गराएको छ ।’ विगतका घटना लुकाइँदा अहिलेको घटना भएको उनको दाबी थियो ।
सामाजिक सञ्जालमा रोइलो !
नगरप्रमुख दनुवार विरुद्ध परेको किटानी जाहेरीलाई आधार मान्दै अखवारहरुले समाचार प्रकाशन गरेपछि दनुवार निकटस्थहरुले उनको बचाउमा स्टाटसहरु लेखिरहेका छन् । ‘उजुरी पर्दैमा अपराधी प्रमाणित गरे झैं गरी समाचार’ प्रकाशन गरेर चरित्रहत्या गरिएको भन्दै दुधौली नगरपालिकाको स्रोत साधनमा लुट मच्चाएकाहरुले प्रतिवाद गरिरहेका छन् भने उनीहरुलाई एमाले र कांग्रेसका केही नेताहरुले स्टाटस र कमेण्ट गरेर सघाइरहेका छन् । यसरी सघाउनेमा एमालेका बागमती प्रदेशकमिटी सदस्यसमेत छन् ।
वलात्कार जस्तो गंभीर विषयमा दुधौलीका नागरिकहरु एक मत भएर सामाजिक सञ्जालमा लेख्न थालेपछि बाध्य भएर एमाले दुधौली नगर कमिटीका अध्यक्ष खेटराज अधिकारीले झारा टार्नेगरी विज्ञप्ती बनाए तर त्यहाँ लेखिएको भाषा हुँदैन म हस्ताक्षर गर्दिन भनेर पार्टी सचिव रमेश कार्कीले बताएपछि अध्यक्ष अधिकारीले अलिकति भाषा फेरेका थिए ।
सो घटनालाई लिएर नेकपा एमाले र नेपाली कांग्रेसका एकथरि नेताहरु नगरप्रमुख निर्दोष छन् भन्ने तहमा उभिएको देखिएको छ । एमाले अध्यक्ष अधिकारीले मध्यमार्गी विज्ञप्ती निकालेपछि अमेमसंघ दुधौलीले अर्को प्रेस विज्ञप्ती जारी गरेको थियो भने अनेमसंघ सिन्धुलीकी अध्यक्ष पार्वती भट्टराईले आफ्नै पार्टीका नेताहरु सामाजिक सञ्जालमा बचाउ र आलोचनामा उत्रिएको देखेपछि प्रेस विज्ञप्ती प्रकाशन गरेर तथ्य पत्तालगाउन र दोषीलाई कुनैपनि हालतमा छोड्न नहुने बताएकी थिइन् ।
स्मरणीय छ, स्थानीय स्तरमा एमाले र नेपाली कांग्रेस पार्टी नेतृत्वको हैसियतले अवैध साँठगाँठ गरेर स्वार्थ पूरा गरेकाहरुलाई अहिले नगरप्रमुख बिरुद्ध वोल्न निकै सकस भएको पछिल्ला दृश्यहरुले देखाइरहेको छ ।
यसरी अगाडि बढ्छ मुद्धा !
जिल्ला प्रहरी कार्यालयमा वालिकाले दिएको किटानी जाहेरी र प्राप्त प्रमाण तथा मुचुल्काहरुलाई आधार बनाउँदै तयार भएको प्रहरी प्रतिवेदन अनुसार जिल्ला न्यायाधिवक्ताको कार्यालय सिन्धुलीले (सरकारवादी) सो मुद्धालाई अगाडि बढाउने छ । जिल्ला बार एशोशिएशन सिन्धुलीका अनुसार प्रहरीले प्रतिवादी नगरप्रमुखलाई पक्राउ गर्न प्रयत्न गर्नेछ । यदि पक्राउ गर्न नसकिए वा उनी लुकेर बसिरहे फरार प्रतिवादीको सूचीमा राखेर मुद्धा अगाडि बढाउन सक्छ ।
तर, विगतमा यस्तो प्रयास यौन दुव्र्यवहारका मुद्धामा मात्रै भएका थिए । ‘बलियो राजनैतिक प्रभाव राख्ने व्यक्ति भएकाले यो प्रकरणमा पनि विगतकै अभ्यास दोहोरिन पनि सक्छ । यदि त्यस्तो भयो भने प्रतिवादी अदालतमा उपस्थित भएर आफ्नो कुरा राख्न सक्छन् तर उनी तारेख वा धरौटीमा भने छुट्ने अबस्था रहँदैन ।’ बार सिन्धुलीका एक नेताले भने ।
‘विगतका न्यायाधीस हुन्थे भने न्याय प्रभावित पनि हुनसक्थ्यो तर अहिले सिन्धुली जिल्ला अदालतमा त्यस्तो अबस्था छैन । ती कानून व्यवसायीले आजको अर्थसँग भने । यो विषय अन्य विषय जस्तो तत्कालै टुंगिने विषय पनि होइन, विगतमा यौन दुंव्र्यवहारका केसमा आरोपीहरु पुर्पक्षमा गएका छन्, अहिले नगरप्रमुख अर्थात ठूलो मान्छे, भएकै कारणले मुद्धाको प्रक्रिया छिटो हुने वा धरौटीमा छुट्ने भन्ने अबस्था रहँदैन ।’ उनले अगाडि भने ।
प्रतिक्रिया