बलात्कार आरोपी दुधौलीका मेयरलाई कारबाही गर्न माओवादीको आलटाल

सरल सहयात्री भन्छन्- आरोप पुष्टि भएपछि मात्रै कारबाही हुन्छ

आइतबार, २१ बैशाख २०८२, १४ : ४५

काठमाडौं– सिन्धुलीको दुधौली नगरपालिका प्रमुख दिनेश अधिकारी दनुवारमाथि बालिका बलात्कारको आरोप लागेपछि उनी फरार छन् । अधिकारीविरुद्ध जिल्ला अदालत सिन्धुलीले गत शुक्रबार नै पक्राउ पुर्जी जारी गरेको थियो । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जाहेरी दर्ता भएको सुइँको पाएपछि फरार रहेका अधिकारी अहिलेसम्म सम्पर्कमा आउन सकेका छैनन् । झन उदेक लाग्दो कुरा त के छ भने नेकपा माओवादी केन्द्रले अहिलेसम्म आरोपी अधिकारीमाथि कारबाही गर्ने बारे कुनै कदम चालेको छैन । अधिकारी माओवादी केन्द्रको बागमती प्रदेश कमिटी सदस्य हुन् ।
 
आफ्नो नेता यति ठूलो अपराधमा मुछिँदा पनि कारबाही गरेर निलम्बन गर्नुको साटो उनको कुकर्मलाई ढाकछोप गर्ने प्रयास गरेको छ । घटनालाई दबाउन माओवादीका शीर्ष नेतृत्वसम्मका व्यक्ति सक्रिय भएर लागेपनि अधिकारी विरुद्ध बलात्कारको उजुरी परेपछि उनको कुकर्म उदांगो भएको छ । माओवादी केन्द्र बागमती प्रदेशले यति ठूलो घटना हुँदा पनि मौनता साँधेर बसेको छ । 

अहिलेसम्म एउटा प्रेस विज्ञप्ति पनि जारी गर्न नसकेको माओवादी बागमती प्रदेश कमिटी अझै अधिकारीलाई काखी च्यापेर निर्दोष बनाउने प्रयत्नका साथ प्रस्तुत भइरहेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

यो पनि पढ्नुस्

अभियुक्तसँग अध्यक्ष दाहाल

आजको अर्थले यस विषयमा बुझ्न माओवादी केन्द्र बागमती प्रदेश कमिटीका अध्यक्ष सरल सहयात्रीलाई सम्पर्क गर्दा उनी आक्रामक शैलीमा आजको अर्थकर्मीमाथि नै खनिए । ‘प्रहरीले अनुसन्धान गरिरहेको छ । हामीले कुनै हस्तक्षेप गरेका छैन्, तपाई आफैं बताउनु त हामीले के गर्ने ।’ उनले भने । उनले आरोप पुष्टि भएपछि मात्रै कारबाही गरिने जानकारी दिए ।

घटना बाहिर आएपछि आज अर्थले विभिन्न धम्कीका बावजुद सत्य तथ्य नजिक पुग्ने प्रयास गरिरहेको छ । बालिका बलात्कारको शिकारी हुँदा पनि पैसा र पावर प्रयोग गरेर घटना लुकाउनुले कानूनी राज्यको उपहास भएको छ । शक्तिमा बसेका व्यक्तिले पैसाको आडमा कसरी अपराधको श्रृंखला मच्चाउछन् भन्ने तथ्य यस घटनाले उजागर गरेको छ । 

बालिका बलात्कारपछि गर्भवति भएको थाहा भएपछि गर्भपतन गराउने प्रयास भएको थियो । तर त्यो प्रयास सफल हुन नसकेपछि नगरप्रमुख अधिकारी पीडित परिवारसँग बार्गेनिङ गरेर घटना साम्य पार्ने रणनीतिका साथ अगाडि बढे । राजनीतिक भविष्य र प्रतिष्ठा जोगाउनका लागि अधिकारी पैसाको खोला बगाउन तयार भए । पीडित परिवारले १ करोड माग गरेपछि घटना सामसुम पार्ने प्रयास असफल भयो । 

यो पनि पढ्नुस्

बालिका बलात्कार आरोपी नगरप्रमुख दिनेश अधिकारीलाई जोगाउने प्रपञ्च, रकम दिनेदेखि रिपोर्ट फेर्नेसम्मको योजना सार्वजनिक

घटनालाई दबाउन माओवादी बागमती प्रदेश कमिटीले अहिलेसम्म मौनता साँधेर कारबाही गर्ने हिम्मत गर्न सकेको छैन । बलात्कार आरोपी अधिकारीलाई चोखो बनाउने रणनीतिका साथ माओवादी बागमति प्रदेश कमिटि अगाडि बढेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।यस घटना बारे माओवादीका बागमति प्रदेश इन्चार्ज हितमान शाक्य पनि खुलेर बोल्न चाहेनन् । 

उले आजको अर्थसँग कुराकानी गर्दै भने, ‘अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ, आरोप पुष्टि भएपछि पार्टीले आवश्यक निर्णय लिनेछ ।’ 

दुधौली नगरपालिकाकै भुजेल थरकी १८ बर्षिय बालिकालाई अधिकारीले बलात्कार गरेको जाहेरी जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा दर्ता भएकाृे छ । पीडित परिवारले न्यायको भिख माग्दा पनि सम्पूर्ण निकायमाथि दबाब सिर्जना गरी प्रहरीलाई जाहेरी नलिन चौतर्फी दबाब बढाइएको थियो । अहिले फेरि अधिकारीलाई जोगाउने गरी अनुसन्धानलाई प्रभावित पार्ने रणनीतिमा माओवादी केन्द्रका शीर्ष नेताहरु नै लागेका छन् ।

दुधौलीको स्थानीय होटलमा पीडित बालिकाले काम गर्दै आएकी थिइन् । त्यही होटलमा नगरप्रमुख अधिकारीको पनि आउजाउ हुने गरेको थियो । सोही क्रममा अधिकारीबाट बालिका बलात्कारको शिकार भएको जाहेरीमा उल्लेख छ। 

आइतबार, २१ बैशाख २०८२, १४ : ४५

प्रतिक्रिया