सुरौदी जलाधार क्षेत्रः पुल नहुँदा जोखिमयुक्त, खेतीयोग्य जमिन बगरमा परिणत

सोमबार, २२ बैशाख २०८२, १९ : २७

गण्डकी- कास्की, स्याङ्जा र तनहुँका भू–भाग समेटर बग्ने सुरौदी खोलाको जलाधार क्षेत्रका स्थानीयवासी पुल अभावसँगै वर्षामा खोलाको कटानले वर्षेनी समस्यामा पर्दै आएका छन् ।

खोला आसपासका उब्जाउ योग्य भू–भाग सिँचाइ अभावमा खेती गर्न समस्या छ भने खोलाको कटान नियन्त्रण हुन नसक्दा खेतीयोग्य जमिन वर्षेनी बगर बन्ने क्रम बढेको अगुवा कृषक रमेश आचार्यले जानकारी दिए ।

“कटान नियन्त्रण नहुँदा वर्षामा रोपेको धान मङ्सिरमा भित्र्याउन पाइन्छ कि पाइँदैन भन्ने सधैँ चिन्ता हुन्छ”, उनले भने, “सुरौदी खोलाको यत्रो जलसम्पदा उपयोगविहीन हुनुका साथै उल्टै वर्षेनी ठूलो क्षति व्यहोर्नु परेको छ ।”

जलाधारको संरक्षण र उपयोग गर्नसकेमा स्याङ्जाको प्युरीदोभानदेखि कास्कीको दोपहरे, छहरा, चवादी हुँदै तनहुँको घारी बगरसम्मका अधिकांश खेतीयोग्य भू–भाग सुरौदी खोलाको पानीले सिँचाइ गर्न र माछापालन गर्न सकिने देखिन्छ ।

यहाँका केही स्थानमा झोलुंगे पुल अत्यावश्यक रहेको उल्लेख गर्दै उनले पुल अभावमा वर्षातमा ज्यानको जोखिम मोलेर आवतजावत गर्नुुपर्ने बाध्यता रहेको बताए ।

सुरौदी खोला किनारका जमिन वर्षौँदेखि जलाधार संरक्षणको अभावमा उपयोगविहीन बनेको र तीनै जिल्लाको संयुक्त प्रयास अपरिहार्य रहेको पोखरा महानगरपालिका–३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी बताउँछन् ।

खोलाको सदुपयोग गर्न सकेमा खोला किनाराको उत्पादनले कास्की जिल्लालाई पूर्णरुपमा कृषिमा आत्मनिर्भर बनाउन सकिने स्थानीयवासी यामप्रसाद पौडेलले बताए । पछिल्ला समयमा अन्य पूर्वाधार विकासका कामले गति लिन थालेको बताउँदै उहाँले हालै सुरौदी जलाधार क्षेत्र अन्तर्गत कदमबोटेदेखि फेदीसम्म कालोपत्र गरिएको जानकारी दिए ।    

यस क्षेत्रको तिखेढुंगा क्षेत्रमा अगुवा कृषकद्वय रमेश आचार्य र ज्ञानबहादुर कार्कीले ३५ रोपनीभन्दा बढी क्षेत्रफल जमिनमा खरबुजा लगाएका छन् । 

जलाधार क्षेत्रमा झोलुंगे पुल निर्माणसँगै खोलाको कटान नियन्त्रणमा राज्यले चासो दिएमा कृषि उत्पादन र जल पर्यटनका माध्यमबाट आर्थिक समृद्धिका लागि महत्त्वपूर्ण उपलब्धि हुने स्थानीयको दाबी छ । 
 

सोमबार, २२ बैशाख २०८२, १९ : २७

प्रतिक्रिया