त्रिभुवन विमानस्थलमा मौलायो ठगी धन्दा, भिजिट भिसामा विदेश जानेसँग रकम असुली

मंगलबार, २३ बैशाख २०८२, ११ : ५६

काठमाडौं- नेपालमा वैदेशिक रोजगारीका नाममा ठगी धन्दा हुनु कुनै नौलो रहेन । समय र प्रविधिको विकाससँगै दलाल र बिचौलियाहरुले वैदेशिक रोजगारीका नाममा जनतालाई लुट्दै आएका छन् । कतिले न्याय पाउँछन्, कतिको मुद्दामा कुनै सुनवाई नै हुँदैन । 

यस्तै अहिले त्रिभुवन विमानस्थलमा भिजिट भिसाका नामका सेटिङ मिलाएर ठगी भइरहेको तथ्य बाहिरिएको छ । भिजिट भिसाका आफ्नै प्रावधानहरु छन् । तर, ती निश्चित मापदण्डलाई नै लत्याउँदै कर्मचारीको मिलेमतोमा बिचौलियाहरुले भिजिट भिसाको दुरुपयोग गरिरहेका छन् । भिजिट भिसामा जानेहरु गन्तव्य मुलुकमा पुगेपछि फर्किएर नआएका तथा उतै अवैधानिक कामदारको रुपमा बस्ने गरेको खुलेको छ । 

बिचौलियाको साठँगाँठमा महिलाहरुलाई यूएई र त्यहाँबाट कुवेत पठाउने गरेका छन् । कुवेत पुगेका महिलाहरु त्यहाँ घरेलु कामदारको रुपमा बस्ने र थप पीडा भोगेर नेपाल फर्किने गरेको प्रहरी अनुसन्धानबाट नै खुलेको छ । बिचौलियासँग मिलेर अध्यागमनका कर्मचारीहरुले प्रत्येक महिलाबाट ४० हजार र पुरुषबाट २० हजार रकम असुलेर अध्यागमनबाट पठाएको खुलेको छ। 

यस विषयमा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पासँग बुझ्न खोज्दा उनले आफूलाई यस बारेमा जानकारी नभएको भन्दै अध्यागमन विभागसँग सम्पर्क गर्न आग्रह गरे । 

त्यसपछि अध्यागमन विभागका सूचना अधिकारी टीकाराम ढकालसँग सम्पर्क गर्दा उनले मिडियामा आएका सबै कुरा सत्य नभएको बताए ।

 ‘अध्यागमनमा १ सय २८ जना अधिकृतहरु छन् यी मध्ये कसैले बदमासी ग¥यो होला, त्यस्ता कर्मचारीलाई विभागीय कारवाही हुन्छ, हिजो पनि भएको हो, आज पनि हुन्छ ।’उनले आजको अर्थसँग भने । कोर्ड नम्बर प्रयोगको कुरा पनि मिडियामा आएको तर आफूलाई यसबारेमा कुनै जानकारी नभएको ढकालले बताए । 

भिजिट भिसाका नाममा फर्जी कागजपत्रलाई आधार मानेर ठगी हुँदा पनि वैदेशिक रोजगार विभाग र सम्बन्धीत निकाय मौन बसेका छन् । पछिल्लो समय भिजिट भिसामा विदेश गएका ४७ महिला फर्केका छैनन । यसरी जानेहरूको रेकर्ड राख्ने गरिएको तर, फर्किनेहरूको यकिन विवरण नराखिएको अध्यागमन विभागले जनाएको छ ।

अध्यागमन विभागसँग सन २०२४ मा विमानस्थलबाट विदेश गएकाहरूको एकीकृत तथ्यांक मात्र छ । २०२४ मा भ्रमण र तीर्थयात्रामा नेपालबाट पुरुष १ लाख ५९ हजार ४३ जना र महिला १ लाख १५ हजार ३५६ जना विदेश गएका थिए ।

२०८० मंसिरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा अध्यागमन अधिकृत नरबिर खड्कासहित ९ जना अध्यागमन अधिकृतलाई मुद्दा चलाएको थियो । उनीहरूले सफाइ पाएपछि विमानस्थलमा फेरि सेटिङ सुरु भएको हो । 

सफाइ पाउनेमा अधिकृतहरू विमल पौडेल, ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विष्णु अर्याल, विकाश डंगोल, पिताम्बर रिमाल र सुजन फागो छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा रहँदा उनीहरूले भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर आर्थिक लाभ लिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा १२८ जना अधिकृत कार्यरत छन ।

यसअघि गृहमन्त्रीस्तरीय निर्णय गरेर विभागले २०८० माघ १० बाट भिजिट तथा पर्यटक भिसामा विदेश जानेहरूका लागि ६ बुँदे निर्देशन लागु गरेको थियो । तर बिचौलियासँग मिलेर अध्यागमनका कर्मचारीहरूले सो निर्देशनलाई बेकामे बनाएको आरोप छ । 

भिजिट भिसामा जानेहरूका लागी दुईतर्फी हवाई टिकट र ५ सय डलर बराबरको नगद सटही गरेको छाप लगाउनुपर्ने नियम छ । तर कर्मचारीहरूले बिचौलियाहरूसँग मिलेर एकतर्फ टिकट र डलर साटेको फर्जी छाप लगाएर यात्रा अनुमति दिने गरेका विमानस्थमै कार्यरत कर्मचारीहरू बताउँछन ।

यसअघि मानव बेचबिखन ब्युरोबाट भिजिट भिसामा हुने बदमासी नियन्त्रण गर्न प्रहरी खटाउने गरिएको थियो । तर विमानस्थल अध्यागमन कार्यालयका प्रमुखको सक्रियतामा ब्युरोका प्रहरी फिर्ता भएका छन । 

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका कर्मचारीले पनि भिजिट भिसामा हुने चलखेल निगरानी गर्न नपाएपछि सेटिङ मौलाउन थालेको त्यहीँका कर्मचारीहरू बताउँछन् । भिजिट भिसाका नाममा खुलेयाम ठगी हुँदा पनि सरकारले सेटिङ मिलाउने कर्मचारीलाई कानूनी दायरा भित्र ल्याउन सकेको छैन् । 

जसका कारण बिचौलिया र सेटिङ मिलाउने कर्मचारीको मनोबल उच्च भएको छ । भिजिट भिसाका नाममा हजारौं सर्वधारण ठगीको शिकार हुँदा पनि सरकार निरीह हुनु झनै लज्जाको विषय हो ।

 
 
 
 
 
 
मंगलबार, २३ बैशाख २०८२, ११ : ५६

प्रतिक्रिया